डिम्याट अनिवार्य कार्यान्वायनमा आएदेखि नै मर्चेण्ट बैंकहरुको व्यवसाय संकुचित बन्दै गएको छ । कागजी प्रकृयाबाट हुने कामको अन्त्येष्टिका कारण विगतमा हुने कामहरु सहज बनेका छन् । यसले मर्चेण्ट बैंकहरुको काम फराकिलो अन्तरले घटेको छ । यो अवस्थामा सानो बजारमा रहेका सिमित काम बाँड्नु पर्ने अवस्था रहँदै गर्दा थप ३ बैंकले धितोपत्र बोर्डमा मर्चेण्ट बैंक सञ्चालनको अनुमति माग गरेका हुन् ।
धितोपत्र बोर्डका अनुसार कुमारी बैंक, नेपाल बंगलादेश बैंक र जनता बैंकले पछिल्लो पटक सहायक कम्पनीमार्फत मर्चेण्ट बैंक सञ्चालनका लागि अनुमति माग गरेका हुन् । केही समय अघि धितोपत्र बोर्डले नयाँ मर्चेण्ट बैंक सञ्चालन अनुमति दिन स्थगित गरेको थियो । पछि आएर फेरी अनुमति दिन थाले पछि सहायक कम्पनी तथा मूख्य कम्पनीका रुपमा मर्चेण्ट बैंक सञ्चालन गर्न अनुमति माग्नेको संख्या बढेको हो ।
धितोपत्र बोर्डका अनुसार यस अघि नै सहायक कम्पनी मार्फत मर्चेण्ट बैंक खोल्न अनुमति मागेको सेञ्चुरी बैंक लगायतका आधा दर्जन बढी मर्चेण्ट बैंकहरु अनुमतिको पर्खाइमा छन् । अनुमति दिन बन्द गर्नु पहिले नै अनुमति माग गरेका मर्चेण्ट बैंक सहित केहीले सञ्चालनका लागि पुर्वाधार तथा जनशक्ति तयारीका लागि बोर्डको सहमति पाई सकेका छन् । वेल्थ म्यानेजमेण्ट क्यापिटल र आस्क म्यानेजमेण्ट क्यापिटलले यस किसिमको सहमति प्राप्त गरेको धितोपत्र बोर्डले जनाएको छ । पछिल्लो पटक अनुमति माग्दै बोर्ड पुगेका कम्पनीहरु अनुमतिको प्रकृयामा प्रवेश गरेका छन् ।
सधैंजसो भिडभाड हुने मर्चेण्ट बैंकहरु अहिले प्रविधिमा आधारित सेवा बढे पछि सुनसान हुन थालेका छन् । यसले उनीहरुको विगतको आम्दानी पनि संकुचित बन्दै गएको छ । यो अवस्थामा सञ्चालन अनुमति माग्दै गएका मर्चेण्ट बैंकले अनुमति पाए पछि प्रतिष्पर्धा तिब्र हुने देखिन्छ ।