ब्रोकर अफिसबाटै मार्जिन कारोबार सुविधा निर्देशनमै सीमित

Mar 23, 2018 Merolagani

नेपाल धितोपत्र बोर्डले गत कात्तिक २१ गते ‘मार्जिन कारोबार सुविधा सम्बन्धी निर्देशन, २०७४’ जारी गरेको थियो । जसमा एउटा ब्रोकरले आफ्नो खुद सम्पत्तिको दुई गुणा अर्थात १० करोड रुपैयाँसम्म मार्जिन ल्याण्डिङ्ग सुविधा (सेयर धितो कर्जा) उपलब्ध गराउन सक्ने व्यवस्था छ ।

धितोपत्र बोर्डले निर्देशन जारी गर्दा एक महिनाभित्रै ब्रोकर कम्पनीहरु मार्फत निश्चित मात्रामा मार्जिन ल्याण्डिङ्ग सेवा सञ्चालन गर्ने तयारी भइरेहको उल्लेख गरेको थियो । तर निर्देशन आएको  साढे ४ महिना पुग्दा समेत सो व्यवस्था कार्यान्वयनमा आउन सकेको छैन ।

बोर्डले मार्जिन कारोबार सुविधा सम्बन्धी निर्देशन, २०७४ कार्यान्वयनका लागि नेपाल स्टक एक्सचेञ्जलाई कार्यविधी बनाउन निर्देशन दिएको थियो ।

नेप्सेबाट कार्यविधी प्राप्त भइसकेको र सो कार्यविधी अध्ययनकै क्रममा रहेको बोर्डका निर्देशक मुक्तिनाथ श्रेष्ठले मेरो लगानीलाई बताए । कार्यविधीका बिषयमा सरोकारवालसँग छलफलको क्रममा रहेको छ, कहिलेदेखि कार्यान्वयनमा आउँछ एकिन छैन, उनले भने ।

नेप्सेले झण्डै एक महिना अगाडि नै कार्यविधि धितोपत्र बोर्डमा पठाईसकेको नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले बताए । हामीले बोर्डमा कार्यविधी पठाई सकेका छौं, बोर्डबाट स्वीकृत भएपछि कार्यान्वयनमा जान्छ, वास्तवमा मार्जिन कारोबार निर्देशन पालना गर्ने ब्रोकर र लगानीकर्ताहरुले नै हो । हामीले त्यसको दैनिक अनुगमन गर्छाैं र बोर्डमा साप्ताहिक रुपमा रिर्पोट पठाउने काम गर्छौ।, उनले भने ।

निरन्तर बजार घटिरहेको अवस्थामा सेयर कारोबारमा पछिल्लो समय सुस्तता आएको छ । यो कार्यविधी कार्यान्वयनमा आए केही राहात मिल्न सक्ने लगानीकर्ताहरु बताउँछन् । तर अहिले जुन कार्यविधी प्रस्ताव गरिएको छ त्यसमा मार्जिनको सीमा कसिलो छ । यसकारण लगानीकर्ताले ठूलो राहात पाउने अपेक्षा भने गर्न सकिँदैन, लगानीकर्ता तारा प्रसाद फुल्लेलले भने । मार्जिन कारोबारको सीमा केही फराकिलो बनाउन सके मात्र लगानीकर्ताले लाभ लिन सक्छन् , उनले भने ।

बोर्डले जारी गरेको मार्जिन कारोबार सुविधा सम्बन्धी निर्देशनमा यस्तो छ :-

मार्जिन कारोबार गर्ने ब्रोकर कम्पनीको खुद सम्पती पाँच करोड रुपियाँ हुनुपर्ने, एउटा ब्रोकरले आफ्नो खुद सम्पत्तिको दुई गुणा अर्थात १० करोड रुपैयाँसम्म मार्जिन ल्याण्डिङ्ग सुविधा पाउनेछन् ।

हाल ५० वटा स्टक ब्रोकर कम्पनीहरु सक्रिय रहेकाले प्रत्येकले १० करोड रुपैयाँका दरले कुल पाँच अर्ब रुपैयाँसम्मको सेयर धितो कारोबार गर्न पाउनेछन् ।

निर्देशिका अनुसार सूचीकृत कम्पनीहरूमध्ये कम्तिमा १० हजार सेयरधनी रहेको तथा नेटवर्थ सकारात्मक रही पछिल्लो दुई आर्थिक बर्षमा कम्तिमा वार्षिक १० प्रतिशत लाभांश वितरण गरेको सूचीकृत संस्थाको मात्र मार्जिन कारोबार गराउन सकिने व्यवस्था छ ।

ब्रोकरले मार्जिन ल्याण्डिङ्ग दिँदा १८० दिनको औसत मूल्य वा बजार मूल्यमध्ये जुन कम हुन्छ सो को ५० प्रतिशतले हुन आउने रकम मात्र ग्राहकसँग प्रारम्भिक मार्जिनको रुपमा लिन पाउनेछन् । साथै ब्रोकरले मार्जिन कारोबार सुविधा अवधीभर बजारको अवस्था तथा जोखिम हेरी ग्राहकसँग न्यूनतम ४० प्रतिशत मेन्टिनेन्स मार्जिन लिनसक्ने निर्देशिकामा उल्लेख छ । 

यस्ता खालका मार्जिनका लागि ब्रोकरले आफ्नै स्रोत वा वाणिज्य बैंकसँग कर्जा लिएर कारोबार गर्न सक्नेछन् । तर कुनै एक ग्राहक तथा निजको एकाघरकाे सदस्यलाई आफ्नो नेटवर्थको बढीमा १० प्रतिशतभन्दा बढी लगानी गर्न पाइनेछैन ।

धितोपत्र दलाल व्यवसायीको कार्यक्षेत्र विस्तार तथा अन्तर्राष्ट्रिय मूल्य र मान्यता अनुरुपको मार्जिन कारोवार शुरु गर्न ‘मार्जिन कारोबार सुविधा सम्बन्धी निर्देशिका, २०७४’ जारी गरिएको बोर्डको भनाई छ । तर अहिलेसम्म कार्यान्वयनमा नआउँदा निर्देशनमै सीमित होला की भन्ने डर लगानीकर्तामा उत्तिकै छ ।

मार्जिन कारोबारको कार्यान्वयनले बजारमा सकारात्मक प्रभाव पार्ने देखिन्छ। कर्जा लिन बैंक तथा वित्तीय संस्थामा मात्र निर्भर लगानीकर्ताहरुलाई यसबाट राहत पुग्नेछ । लगानीकर्ताहरु ब्रोकरसँग प्रत्यक्ष सम्पर्कमा रहने हुँदा ब्रोकरले लगानीकर्ताको आवश्यकता अनुसार मार्जिन ल्याण्डिङ्गको सुविधा उपलब्ध गराउन सक्ने लगानीकर्ता नविन शर्माको बुझाई छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।