नेपाल इन्स्यारेन्सको गत फागुन ३० गते सम्पन्न भएको ६७ र ६८ औं बार्षिक साधारण सभाले हकप्रद निष्काशन गर्ने विशेष प्रस्ताव पारित गरेको थियो । हकप्रद जारी गर्न कम्पनीले पुस पहिलो साता निवेदन दिएकोमा फागुन २९ गते धितोपत्र बोर्डबाट स्वीकृत भएको थियो ।
३० करोड १९ लाख ८९ हजार रुपैयाँ चुक्ता पूँजी रहेको नेपाल इन्स्योरेन्सको हकप्रद जारी गर्दा कम्पनीको पूँजी ६० करोड ३९ लाख ७७ हजार रूपैयाँ पुग्नेछ । इन्स्योरेन्सको शतप्रतिशत हकप्रद समेत पाउने गरि २.२६२ प्रतिशत बोनस प्रस्ताव गरेको छ । बोनसपछि कम्पनीको पूँजी ६१ करोड ७६ लाख ३८ हजार ७०५ रुपैयाँ पुग्नेछ ।
बीमा समितिले निर्देशन बमोजिम निर्जीवन बीमा कम्पनीहरुले आगामी असार मसान्तभित्र एक अर्ब चुक्ता पूँजी पुर्याउनु पर्नेछ । समितिको निर्देशन अनुसार चुक्ता पूँजी कायम गर्न कम्पनीलाई अझ ३८ करोड रुपैयाँ बढी पूँजी विस्तार गर्नुपर्ने देखिन्छ ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा चार करोड २७ लाख ७६ हजार रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी १३ रुपैयाँ ५२ पैसा कायम गरेको छ । बुधबार कम्पनीको प्रतिकित्ता सेयरमूल्य ८५२ रुपैयाँ हाराहारी रहेको छ ।