गत वर्ष धितोपत्र बोर्डले वास्तविक लगायत अन्य क्षेत्रले न्युनतम १० प्रतिशत सेयर सर्वसाधारणलाई निष्कासन गर्न पाउने व्यवस्था गरेपछि शिवमले पनि आईपीओ निष्कासनको प्रक्रिया अगाडि बढाएको हो ।
आईपिओ जारी गर्न शिवम् सिमेन्टले चैत ६ गते निवेदन दर्ता गराएकोधितोपत्र बोर्डले जनाएको छ । आईपिओ निष्काशनमा विक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गर्नेछ ।
शिवम् सिमेन्टले ४ अर्ब ४० करोड रुपैयाँ जारी पूँजीको १२ प्रतिशत हुन आउने ५२ करोड ८० लाख रुपैयाँ बराबरको ५२ लाख ८० हजार कित्ता सेयर सर्वसाधारण र उद्योग प्रभावित स्थानीय बासिन्दाका लागि समेत निष्कासन गर्न लागेको हो । जसमध्ये अाठ लाख ८० हजार कित्ता उद्योग प्रभावित स्थानीय बासिन्दाका लागि तथा ४४ लाख कित्ता सर्वसाधारणमा जारी हुनेछ ।
शिवम् सिमेन्टले प्रिमियम मुल्यमा सेयर निष्कासन गर्न लागेको हो । कति प्रिमियम थपेर साधारण सेयर निष्काशन गर्ने भन्ने अहिले निर्धारण भैनसकेको शिवम् सिमेन्टले जनाएको छ । कम्पनीको माघ २१ गते सम्पन्न विशेष साधारणसभाले सर्वसाधारणहरूलाई प्रिमियम मूल्यमा आईपिओ जारी गर्ने प्रस्ताव पारित गरेको थियो ।
चीनको होङसी सिमेन्ट ग्रुपसँग साझेदारी रहेको शिवम् सिमेन्टको उद्योग मकवानपुरको हेटौँडामा रहेको छ । सो उद्योगबाट दैनिक ६ हजार टन सिमेन्ट उत्पादन गर्दै आएको छ ।
आईपिओ निष्कासन गर्ने शिवम् नेपालको पहिलो सिमेन्ट उद्योग हो । अर्घाखाँची सिमेन्ट लगायतका अन्य केही सिमेन्ट उद्योग पनि आईपीओ निष्कासनको तयारीमा रहेका छन् ।