भाषण,भेटघाट र मिडिया कै भरमा चल्छ सेयरबजार,अर्थमन्त्रीले किन नभनुन् सतही !

Apr 06, 2018 Merolagani

सुरेन्द्र थापा 

निरन्तर ओरालो लागेको सेयरबजारमा चैत्र १२ गते सोमबार नकारात्मक सर्किट लाग्यो । जुन दिन नेप्से सूचक ५१ अंकले ओरालो लागेको थियो । त्यसको एक दिन अगाडि चैत्र ११ गते आइतबार अर्थमन्त्री डा. युवराज खतिवडाले विराटनगरमा आयोजित एक कार्यक्रममा लहडमा सेयर बजारमा लगानी गर्न नहुने बताएका थिए ।

अर्थमन्त्री खतिवडाले मोरङ व्यापार संघ र उद्योग संगठन मोरङद्वारा आयोजित कार्यक्रममा अहिलेको बजारको गिरावट अर्थशास्त्रको माग र आपूर्तिको सिद्धान्त अनुसार नै सेयरको उच्च आपूर्तीले घटेको बताउँदै लहडवाजीमा सेयरमा लगानी नगर्न आग्रह गरेका थिए। साथै उनले सेयरबजारलाई आफ्नै बाटोमा हिड्न दिने र अर्थमन्त्रालयले कुनै हस्तक्षेप नगर्ने बताएका थिए ।

शेयर बजारलाई आफ्नै बाटोमा हिँड्न दिएका छौं, हस्तक्षेप गरेका छैनौँः अर्थमन्त्री

अर्थमन्त्रीले अघिल्लो दिन सेयरबजारलाई आफ्नै बाटोमा हिड्न दिनुपर्छ, हस्तक्षेप गरेका छैनौं, भन्दै लहडमा लगानी नगर्न के आग्रह गरेका थिए, भोलिपल्टको सेयरबजारमा नकारात्मक सर्किट नै लाग्यो ।

त्यसदिन नेप्से ५१.८९ अंकले घटेर ११६८.५५ अंकमा झर्यो । ५१ अंकले घटेकाे दिन ४७ करोड ३३ लाख रुपैयाँको सेयर खरिदविक्री भएको थियो ।

 

एकैदिन चार प्रतिशत भन्दा बढीले सेयरबजार घटेपछि सेयरबजारमा हल्लीखल्ली नै मच्चियो । बजार ध्वस्त नै हुन्छ भन्ने सम्मका तर्कहरु गर्न थाले । त्यसै दिन साँझ ५ बजे नेपाल इन्भेष्टर्स फोरमले हतार हतार पत्रकार सम्मेलन गर्यो र सरकारलाई १९ बुँदे मागपत्र प्रस्तुत गर्दे आन्दोलनमा जाने चेतावनी समेत दियो ।

फोरमले पूर्ण अनलाईन कारोबार प्रणाली सम्झौता गरिएको अवधि भित्रै लागू गर्न, ब्रोकर मार्फत सेयर धितो कर्जाको ब्यवस्था, बाणिज्य बैंकलाई ब्रोकर लाईसेन्स, सेयर धितो कर्जाको सीमा धितो मूल्यांकनको ७० प्रतिशत कायम गनुपर्ने, सेयर कर्जामा लगाइएको पूँजीगत जोखिमको भार १०० प्रतिशतमा झार्नुपर्ने, ब्रोकर कमिशन घटाउनुपर्ने, गैह्र -आवासीय नेपालीलाई पूँजी बजारमा भित्र्याउने कानुन तत्काल ल्याउनुपर्ने लगायतका १९ बुँदै मागपत्र प्रस्तुत गरेको थियो ।

सात दिनभित्र १९ बुँदे माग सम्बोधन नभए इन्भेष्टर्स फोरम आन्दोलनमा जाने

लगानीकर्ताको चेतावनीपछि मंगलबार खुलेको सेयरबजार कारोबारकाे दुई घण्टाको अवधिसम्म ३३ अंक बढीले घटिसकेको थियो । तर अकस्मात बजारमा चमत्कारिक सुधार आयो र बजार बन्द हुँदासम्म ७४ अंकले रिकभरी हुँदै अघिल्लो दिनको विन्दु भन्दा ३९ अंक माथि उक्लियो ।

अघिल्लो दिन मात्रै इन्भेष्टर्स फोरमले बजार सुधारका १९ बुँदे माग राख्दै सात दिने अल्टिमेटम दिएको थियो । फोरमको अल्टीमेटम पाएपछि सरकारले श्वेतपत्र मार्फत सेयर बजारको समस्या समाधान गर्ने आश्वासन दिएको थियो ।

अर्थमन्त्रालयका एक उपसचिवको लेख पनि त्यसै दिन दुई  अनलाइन सञ्चार माध्यममा प्रकाशित भएकाे थियो । सो लेखमा समग्र सेयरबजारको अवस्था, बजारबारे फैलाइएको नकारात्मक भ्रम र सुधार गर्न सकिने बिषयहरु समेटिएको थियो ।

त्यसै दिन बजार चलिरहेका बेला संघीय संसदको राष्ट्रियसभामा नेपाली कांग्रेसका सांसद राधेश्याम अधिकारीले शेयर बजार सरकारी अर्थमन्त्रीका कारण घटेको भन्दै त्यस बारेमा सरकारको धारणा माग गरे । सोही दिन अर्थमन्त्री भेट्न पुगेको नेपाल उद्योग परिसंघको टोलीलाई अर्थमन्त्री खतिवडाले तरलता समस्या समाधान र ब्याजदर वृद्धिलाई रोक्न आवश्यक पहल गर्ने अाश्वासन दिए ।

अर्थमन्त्रालयको आश्वासन, व्यवसायी र अर्थमन्त्रीको भेटघाट र संसदमा सेयरबजारको चर्चा बजार चलिरहेकै बेला भएको थियो । यी खबरहरु सार्वजनिक भएपछि चैत्र १३ गते मंगलबारको नेप्से ३९ अंकले बढ्यो र ५० करोड बराबरको कारोबार हुन पुग्याे ।

सडक देखि सदनसम्म कुरा उठेपछि सेयरबजारमा चमत्कारिक सुधार

 

चैत्र १४ गते बुधबारको सेयरबजार भने सामान्य रह्यो त्यसदिन २.९ अंकले मात्र बजार घट्यो भने ५१ करोड बराबरको कारोबार भयो । त्यसदिन प्रत्यक्ष रुपमा बजार प्रभावित हुने खालका कुनै खबरहरु  सञ्चार माध्यममा आएनन् भने सराेकारवालाहरूले कुनै व्यक्त्तिसँग भेटघाट पनि गरेनन् ।

चैत्र १५ गते विहीबारको सेयरबजार १५.४८ अंकले बढ्यो भने कारोबार रकम खुम्चिएर ३८ करोडमा सीमित भयो । विहीबार कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ’तुलनात्मक रुपले सहज राजनैतिक वातावरण मुलुकमा विकसित भएका बेला शेयर मार्केट ओरालो लाग्नु दु:खद विषय हो,’ भन्दै टुईट गरे । प्रतिपक्षले दिएको दबाब र शुक्रबार जारी हुने श्वेतपत्रको चर्चाले विहीबारको बजार सकारात्मक रहन पुग्यो ।

चैत्र १६ गते शुक्रबार सरकारले श्वतेपत्र जारी गर्यो । अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसदको बैठकमा श्वेतपत्र जारी गर्दे सेयरबजार सतही रहेको बताएका थिए । उनले पूँजी बजार कारोबारमा यर्थाथ सूचना सम्प्रेषणको अभाव,पारदर्शिताको कमी, लगानीकर्ता तथा साना लगानीकर्ताहरुमा सेयर लगानी सम्वन्धी ज्ञानको कमीले सेयर मूल्य मापन गर्ने नेप्से सूचाकाङ्कमा उच्च  उतार-चढाब आउने गरेको बताएका थिए ।

अर्थमन्त्रीको नजरमा नेप्से सूचाङ्क अस्थिर रहनुकाे यस्ता छन् मुख्य कारण

सरकारले श्वेतपत्र जारी गरेपछि खुलेको चैत्र १८ गते आइतबारको सेयरबजार  २४.०५ अंकले घट्यो । बजार घट्नुको प्रमुख कारण श्वेतपत्रलार्इ  देखाइयाे । किनकी अर्थमन्त्रीले सेयरबजार सतही रहेको बताएका थिए ।

बजारमा श्वेतपत्रको बारेमा सकारात्मक तथा नकारात्मक चर्चाहरु चले । श्वेतपत्रमा सेयर बजारका समस्याका बारेमा मात्रै उल्लेख भएपछि बजार नकारात्मक बन्यो । तर सरकारले श्वेतेपत्रमा पूँजीबजारमा ठुलो लगानी परिचालन गर्न संस्थागत र नीतिगत सुधार आवश्यक भएको औल्याएको थियो ।

संस्थागत र नीतिगत सुधार गर्ने श्वेतेपत्रको मर्मलाई बजारले अङ्गिकार गरेको देखिएन । श्वेतपत्रले प्रत्यक्ष पूँजीबजारलाई सम्बोधन नगरेको भन्दै बजार घट्न पुग्यो ।

त्यसपछिका दुई दिन चैत्र १९ र २० गते बजार सामान्य रह्यो । सोमबार ३.२८ अंकले घट्यो भने मंगलबार ६.०४ अंकले बढ्यो । चैत्र १९ गते सोमबार २० करोड तथा चैत्र २० मंगलबार २१ करोड बराबरको सेयर खरिद बिक्री भयो । यसबिचमा बजारसँग जोडिएका कुनै ठूला खबरहरु सार्वजनिक न त मिडियामा सार्वजनिक  भए न कुनै पदाधिकारीसँगकाे भेटघाटले बजार प्रभावित बनायाे । श्वेतपत्रको पक्षमा र विपक्षमा बहसहरु भने निरन्तर चलिरहे ।

चैत्र २१ गते बुधबार सेयरबार फेरि २७ अंकले बढ्यो । अघिल्लो दिन अर्थात मंगलबार साँझ मात्र राष्ट्र बैंकले वाणिज्य बैंकहरुले परिवर्त्य मुद्रामा विदेशी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिनसक्ने व्यवस्था गरिएको खबर सार्वजनिक भएको थियो । तरलता समस्या खेपिरहेका बैंकहरुले विदेशबाट ऋण ल्याउन पाउने खबरले सेयरबजारमा केही  भएपनि फेरी उत्साह जगायो ।

वाणिज्य बैंकहरुले विदेशी मुद्रामा ऋण लिन पाउने, यस्तो छ व्यवस्था

अर्कातर्फ त्यसैदिन राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवि नेपालले  मार्जिन कलबाट लगानीकर्ताले भोगेको समस्या समाधानका लागि परिणाममुखी छलफल थाल्ने बताएका थिए । बुधबार नोबल ईनिसियशन नेपाल र पूँजीबजार लगानीकर्ता संघको प्रतिनिधिमण्डलसँगेको भेटमा गभर्नर नेपालले सेयर बजारप्रति राष्ट्र बैंक चिन्तित रहेको बताउँदै बैंकहरुमा निक्षेप धमाधम बढिरहेको र तरलताको अवस्था सहज हुँदै गएकाले लगानीकर्ता आत्तिनुपर्ने अवस्था नरहेको बताएका थिए ।

यो खबर सार्वजनिक भर्इरहँदा बजार सामान्य अवस्थामा थियो । तर पछि बन्द हुनेसमयसम्म २७.४५ अंकले बढेर १२२६.४५ अंकमा बन्द हुन पुग्यो । यसदिन ३३ करोड ६४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएकाे थियाे।

लगानीकर्ताहरुले सेयर धितोकर्जाको सीमा बजार मूल्यको ८० प्रतिशत बनाउनुपर्ने, सेयर धितो कर्जामा लगाइएको पूँजीगत जोखिमको भार १५० प्रतिशतबाट घटाएर सय प्रतिशतमा झार्नुपर्ने, प्रत्येक स्थानीय तहमा पहुँच पुग्नेगरी वाणिज्य बैंकलाई ब्रोकर लाइसेन्स दिनुपर्ने, सेयर धितोकर्जा प्रवाह गर्दाका बखतमा आएको हकप्रद सेयर तथा बोनस सेयरलाई समेत धितोमा समावेश गर्ने व्यवस्था गर्न गभर्नर समक्ष माग गरेका थिए । लगानीकर्ताको मागमा गभर्नर सकारात्मक भएको खबरले सेयरबजार बढ्न पुगेकाे देखियाे । 

 

चैत्र २२ गते विहीबारको सेयरबजार २३.९४ अंकले बढेर १२५०.३९ अंकमा पुग्यो भने कारोबार रकम समेत बढेर ६१ करोड ९३ लाख रुपैयाँ  बराबरकाे सेयर खरिद बिक्री भयाे । अघिल्लो दिन साँझ मात्र केही सेयर ब्रोकर र लगानीकर्ताले अर्थमन्त्री डा. युवराज खतिवडालाई भेटेका थिए । छलफलमा अर्थमन्त्री खतिवडाले पूँजी बजारको पुर्वाधार तथा नीतिगत ब्यवस्था बलियो बनाउन आफु प्रतिबद्ध रहेको बताएका थिए । साथै उनले बजार घटाई तथा बढाई स्वभाविक कुरा भएकाले आफुहरुको चासो नभएको स्पष्ट पार्दै नीतिगत सुधार र पुर्वाधारमा मात्र ध्यान केन्द्रीत गर्ने उल्लेख गरेका थिए ।

सेयर दलाल र लगानीकर्ताहरुसँग अर्थमन्त्री डा. खतिवडाले गरे छलफल

केही ब्रोकर र लगानीकर्ताले अर्थमन्त्री भेटेको भोलिपल्ट कै बजारमा २३ अंकको सुधार  अाउनु र एकाएक उच्च कारोबार हुनुलाई अर्थपूर्ण रुपमा हेर्न सकिन्छ । सरकारले आगामी नीति तथा कार्यक्रम र बजेट मार्फत सेयर बजारको नीतिगत, पुर्वाधार र प्रविधिजन्य सुधारका कार्यक्रम ल्याउने सन्देश दिएपछि सेयरबजारको रुप फेरिन पुग्यो र बजारमा हरियाली छायो ।

माथिको विवरणमा पछिल्लो दुई साता अर्थात् ९ कार्यदिनको सेयरबजारको चर्चा गरिएको छ । यस ९ दिन अवधिकाे सेयरबजारमा देखिएको उतारचढाब भेटघाट,भाषण र मिडिया कै वरपर घुमेको देखिन्छ ।

जुन दिन भेटघाट,भाषण र प्रचारबाजी बढी भएका छन् । त्यसदिन सेयरबजारमा उच्च अंकको घटबढ देखिएको छ । जुन दिन भेटघाट, भाषणबाजीहरु भएका छैनन् त्यसदिन बजारमा सामान्य घटबढ मात्र भएको पाइएको छ ।

यो कुराहरुले के पुष्टि गर्छ भने सेयरबजार साच्चिकै अर्थमन्त्री भने जस्तै सतही छ । पछिल्ला दुई साताको घटनाक्रमले पनि जताजता हल्ला उतै उतै बजार दगुरेको देखाउँछ । यसबाट के भन्न सकिन्छ भने सेयरबजारका लगानीकर्ता पटक्कै गम्भिर छैनन् । या अनेक हल्ला मच्चाएर बजार आफु अनुकुल चलाउने गिरोहहरु सफल र सक्रिय छन् । नत्र एउटा लेख, एउटा भाषण र एउटा भेटघाटले सेयरबजारमा किन तिब्र उतार-चढाब आउँछ ? यसबाट नेपालको सेयरबजारका अधिकांश लगानीकर्ता अपरिपक्क रहेको बुझ्न गाह्राे पर्देन ।

यसअघि पनि निर्वाचनको समयमा, सरकार गठन हुने क्रममा, सरकार गठन भएपछि विशेष गरी अर्थमन्त्रीको नियुक्ति लगायतका समयमा पनि बजार बढाउने र घटाउने चलखेलहरु नभएका होईनन् ।

सरकारले यसबीचमा सेयरबजारमा तिब्र उतार-चढाब नै आउने खालका कुनै कार्यक्रम ल्याएको पनि छैन। विगतमा थालिएका बजार सुधार र विस्तारका कामहरु पनि पुरा भएका छैनन्, त्यस्तै लामो समयदेखि विद्यमान तरलताको समस्या, बैंकको ब्याजदर लगायतका समस्या यथावत नै छन् । बजारलाई प्रत्यक्ष प्रभाव पार्ने खालका कुनै कार्यक्रम नहुँदा पनि सेयरबजारमा तिब्र उतार-चढाब आएकाले नै होला अर्थमन्त्रीले सेयर बजार सतही छ भनेकाे । 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।