बुधबार सूचना प्रकाशित गर्दे दुबै कम्पनीले बाणिज्य बैंकसँग आफूले लिन चाहेको रकम र कति व्याजदरमा लिन चाहेको हो सो उललेख गरेर बाेलपत्र पेश गर्न भनेका छन् । बाणिज्य बैंकहरूले पुनरबीमाकाे मुद्धती निक्षेपका लागि बैशाख ४ गतेसम्म तथा नागरिक लगानी कोषले ५ गतेसम्म पेश गर्न सक्नेछन्।
लगानी कोषले न्युनतम त्रैमासिक ब्याज भुक्तानी हुने गरी १ वर्षका लागि निक्षेपको रुपमा बैंकमा राख्ने जानकारी दिएको छ । कोषले बैंकहरुले मुदती निक्षेप संकलन गर्नसक्ने अधिकतम ब्याजदरको १० प्रतिशत न्यून ब्यादरलाई निर्णय गर्नसक्ने बताइएको छ ।
पुनरबीमा कम्पनीले वेभसाइटमा रहेको ढाँचामा विभिन्न १६ बुँदामा बैंकको विवरणहरु उल्लेख गरि गोप्य शिलबन्दी बोलपत्र फारम बुझाउन आह्वान गरेको हो ।
साथै कम्पनीले मुद्धतीमा लगानी गरेको रकम समय अगावै फिर्ता वा मुद्धती निक्षेप धरौटी राखी ऋण लिनुपर्ने अवस्थाको शर्त तथा सुविधा समेत उल्लेख गर्न भनिएको छ । यसरी प्रस्ताव गरिएको मुद्धती निक्षेपमा प्रदान गरिने व्याजदरको मान्य अवधि न्यूनतम १५ दिन हुनुपर्ने कम्पनीले जनाएको छ ।
दुबै कम्पनीको कति रकम राख्दैछन् मुद्धती निक्षेप ?
नागरिक लगानी कोषका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण पोखरेलले रकम संकलन हुने क्रम जारी रहेको हुँदा अहिले यति नै रकम हुन्छ भनेर भन्न नसकिने बताए । उनले यस्तो रकम एक अर्ब रुपैयाँ बढी हुनसक्ने अनुमान रहेको मेरोलगानीसँग बताए ।
उता पुनरबीमा कम्पनीले दुई बर्षका लागि मुद्धती निक्षेपमा रकम जम्मा गर्न लागिएको जनाएको छ । कम्पनीका नायब महाप्रबन्धक दामोदर भण्डारीले कम्पनीसँग उपलब्ध हुने सबै रकम जम्मा गर्नका लागि बोलपत्र आह्वान गर्न लागेको बताए । तर उनले कति रकम जम्मा गर्न लागिएको हो भन्ने कुरा संस्थाको आचार संहिताका कारण खुलाउन चाहेनन् ।
भण्डारीले भने हामीले 'क' वर्गका बाणिज्य बैंकलाई आफुलाई लिन चाहेको रकम कति प्रतिशत ब्याजदरमा लिने हो सो उल्लेख गरेर प्रतिस्पर्धात्मक रुपमा शिलबन्दी बोलपत्र पेश गर्न अाह्वान गरेका छौं । कति रकम जम्मा गर्न लागिएको हो भन्ने उल्लेख गर्दा बैंकले उल्लेख गर्ने ब्याजदरमा असर पर्नसक्ने उनको भनाई छ ।
राष्ट्र बैंककाे अनुसार बैंकिङ प्रणालीमा अहिले २६ अर्ब रुपैयाँ अधिक तरलता छ । बैंकिङ्ग प्रणालीमा लगानी योग्य पुँजीको अभाव हुँदा यसअघि बैंकहरुले संस्थागत निक्षेपकर्ताबाट १३ प्रतिशतसम्म ब्याजदरमा निक्षेप उठाएका थिए ।
बैंकहरुले संस्थागत निक्षेपकर्ताबाट बढी ब्याजदरमा निक्षेप उठाउन थालेपछि बैंकर्स संघको सहमतिमा बाणिज्य बैंकहरूले संस्थागत मुद्धतीमा अहिले ९ देखि अधिकतम ११ प्रतिशतसम्म ब्याजदर प्रदान गरिरहेका छन् ।