फेसबुके बिश्लेषककाे पछि नलागौं, आफैं बिश्लेषण गर्न थालाैं

May 03, 2018 Parmeshwor Adhikari

सेयर बजारमा पछिल्ला दिनमा देखिएका उतार चढावले अधिकांश लगानीकर्ताको ध्यान नेप्से सूचकको बढोत्तरी र गिरावटको हिसावमा केन्द्रीत भएको छ । बिना कुनै ठोस कारण बजारमा चलाइने हल्लाको प्रत्यक्ष असर पर्दा बजारका जानकारहरु पनि अब बजार के हुन्छ भन्ने प्रश्न तेर्स्याउन थालेका छन् । यसले आम लगानीकर्ता आफैं लगानीको निर्णय गर्न नसक्ने अवस्थामा पुगेका छन् ।

बजारको नियम नै घट्नु अनि बढ्नु हो । तर कति घट्छ अनि कति बढ्छ भन्ने कुरा कसैले आँकलन गर्न सक्दैन । यदि कसैले त्यस्तो गर्न सक्थ्यो भने ऊ आज विश्वको सबैभन्दा धनी व्यक्तिको सूचीमा परिसकेको हुने थियो ।

पछिल्लो महिनाको बजारको उतारचढावले लगानीकर्ता केही आशावादी बनेका छन् । यद्यपि आफुसँग रहेको सेयर महँगोमा बिक्री गर्न अनेक हल्ला फैलाउने अनि सेयर नभएकाले सस्तोमा सेयर किन्न त्यस्तै फण्डा निकाल्ने परिपाटीले सामान्य लगानीकर्ता त्राहिमाम बनेका छन् ।

पछिल्ला दिनमा सेयर बिक्री चापमा केही सुस्तता आएपछि भने यस्ता हल्लाबाट लगानीकर्ता त्रसित हुन छोडेको भान हुन थालेको छ । यद्यपि सम्पत्ती आफ्नो हो, घटेर स्वाहा होइएला कि भन्ने डर सबैलाई हुन्छ । यस्तो अवस्थामा बजार घटाउन खाज्ने समुहले चलाएको हल्लाले डर उत्पन्न गराएर बिक्री चाप देखिनु स्वभाविक हो । तर पछिल्ला दिनमा यो श्रृंखला केही घटेको छ । जसले आगामी दिनमा लगानीकर्तालाई अझै आशावादी हुने अवस्था उत्पन्न गराएको छ ।

बजारमा सामान्य कारोबार गरिरहेका लगानीकर्ता तथा कारोबारीहरुले अरुको हल्लाको पछि लागेर सेयर किनबेच गर्नु नै अहिलेको बजारको दुर्भाग्य हो । .

सेयर विष्लेषकको बिल्ला लगाइएकाहरुले त्यस्तो जमातलाई सेयर किन्ने र बेच्ने सल्लाह दिँदै आएको छ । जहाँ सल्लाह दिनेले आफुसँग भएको सेयर भाउ बढाएर सल्लाह लिनेहरुको जमातलाई बिक्री गरिरहेको छ ।

तेस्रो तहमा त्यो हल्ला पुगेर सेयर किन्नेहरुले महँगोमा सेयर किन्दा दोस्रो तहकाहरुले  केही आम्दानी गरिरहेका छन् । तर तेस्रो तहमा सेयर किन्नेले कहिल्यै पनि आफुले किनेको मूल्यभन्दा माथिल्लो मूल्यमा सेयर बिक्री गर्न सकिरहेका छैनन् । यसको प्रमुख कारण भनेको पहिलो तहमा बसेर सल्लाहकाे रूपमा दास्रो तहका सीमित व्यक्तिबाट अनावश्यक हल्ला फैलाउनु हो ।

पछिल्ला दिनमा बजार सुचक नेप्से अनलाइन कारोबार सुरु भएपछि २४०० अंकसम्म पुग्छ भन्दै हल्ला फैलाउने र सुनौलाे अवसर भन्दै सेयर किन्न उक्साउने गिरोह सक्रिय बनेको भेटिएको छ । यसैगरी बजार ८०० मा झर्छ भन्नेहरू पनि उत्तिकै सल्बलाइरहेका छन् ।

यसका अलावा बजारमा सूचीकृत कम्पनीको अवस्थाको अध्ययन नगरी नेप्से कति बढ्छ अनि कति घट्छ भन्दै हिसाव गर्दै हिड्ने, आफु समानका वा त्यसभन्दा तल्लो तहका लगानीकर्तालाई बजार यति पुग्छ, उति पुग्छ भन्दै उनीहरुले आफ्नो दुनो सोझ्याउने क्रमलाई तिब्र बनाएका छन् । त्यसता कारोबारी वा लगानीकर्ताहरु आफुभन्दा धेरै कारोबार गर्ने व्यक्तिहरुसँग भने सल्लाह र परामर्शका नाममा ठूला कारोबारीहरुको एजेण्डा बजारका आम लगानीकर्तामा हल्लाका रुपमा फैलाउन सक्रिय छन् ।

जसका कारण कम्पनीको अवस्था, समग्र आर्थिक अवस्था लगायतको अध्ययन गर्दै आएको जमात पनि अहिले बजार कति बढ्छ वा कति घट्छ भन्ने बहसमा होमिन थालेका छन् । अहिलेको अवस्थामा भन्नु पर्दा बजार सूचक नेप्से २००० अंकको हाराहारीमा पुग्दा पनि यस अघि डुबेकाहरु सावाँ उठाउने अवस्थामा पुग्न मुस्किल पर्ने देखिन्छ । सेयरको संख्यामा आएको अधिक वृद्धि र त्यस्ता कम्पनीको सेयर मूल्यमा आएको गिरावटले यो कुरालाई पुष्टि गर्छ ।

अब के गर्ने त ?

बजार २००० पुग्दा पनि १७ सय हाराहारीमा सेयर किनेकाहरु नाफामा जान नसक्ने अवस्थाबाट निराश हुनु हुँदैन । सबैभन्दा पहिले माथि उल्लेखित पात्रहरुबाट बच्न सक्ने हो भने बजारमा अहिले देखिएको तिब्र उतार चढावको क्रम बन्द हुन पुग्छ । सामान्य लगानीकर्ताले बुझ्नु पर्ने महत्वपूर्ण कुरा के हो भने कृतिम रुपमा चलाइएकाे हल्लाको आडमा बजारमा उतार चढाव आउँदा सीमित लगानीकर्ताले १८०० अंकमा किनेको सेयरबाट पनि धेरै फाइदा उठाइ सकेका छन् ।

तसर्थ आफु पनि चालु आर्थिक वर्षको चौथो त्रैमास नजिकिँदै गर्दा कम्पनीहरुको वित्तीय अवस्था, कम्पनीका सञ्चालकहरुको पृष्ठभूमि, कम्पनीको अवस्थाका आधारमा कायम हुनुपर्ने सेयर मूल्य लगायतका विषयमा अध्ययन गर्न जरुरी छ । अहिले बजारका जानकारहरु पनि अब बजार घट्छ कि बढ्छ ? भनेर सामान्य लगानीकर्ताको मानसिकता भुट्ने काम गरिरहेका छन् । जसले सेयर भएकालाई बेच्न उक्साईरहेको छ भने नभएकालाई किन्न ।

तर वास्तविकता यो हो कि बजार आफ्नो गतिमा दौडिन्छ, अनि लगानीकर्ताले त्यसलाई सही समयमा सदुपयोग गर्न सकेको खण्डमा बजारबाट राम्रो आम्दानी भईरहन्छ । तर पछिल्ला दिनमा मौलाएका कारोबारीको बाटो अङ्गालियो भने सेयरपतिबाट सडकपतिमा रुपान्तरण हुन कति पनि समय लाग्ने छैन ।

सबै सूचीकृत कम्पनीहरुले चालु आर्थिक वर्षको तस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । नेप्से घटबढको हिसाव गर्न छाडेर कम्पनीहरुको ब्यवसाय बिस्तार, कमाईमा देखिएको प्रगति वा सुस्तता लगायतका कुरा अध्ययन गरी केही कम्पनी छनौट गरी लगानीको योजना बनाउनु सबैभन्दा उत्तम विकल्प हो । यसो गरेको खण्डमा बजारमा आउने तिब्र उतार-चढावले पनि तपाईको लगानी जोखिममा पर्दैन ।

साना विश्लेषक, ठूला विश्लेषक, साधारण विश्लेषक, वरिष्ठ विश्लेषक भनेर कम्पनी समेत सुझाउँदै आउने सल्लाहमा लगानीकर्ता सँधै चनाखो हुनुपर्छ । बरु आफुले गरेको अध्ययनबाट निस्किएको आफ्नो योजना कार्यान्वयनमा केन्द्रीत हुँदै सीमित साथीहरुसँग कम्पनीको अवस्थाका सम्बन्धमा छलफल गर्नुहोस् । जसले तपाईको निर्णय क्षमतालाई अझै परिष्कृत गर्न सकोस् ।

अहिले नेप्से साढे १३०० भन्दा माथिल्लो विन्दुमा भएपनि कम्पनीको सेयरमूल्य निकै सस्तो छ । उक्त सेयर मूल्यको अनुपातमा थोरै भए पनि कमाईमा सन्तुष्टि हुने किसिमको निर्णय लिन सकेको खण्डमा बजारमा हल्ला फैलाएर आफु मालामाल हुँदै ठुलो संख्यामा रहेका सामान्य लगानीकर्ता फसाउने खेलको अन्त्य हुनेछ । हैन भने अहिले भईरहेको जस्तै आज बजार घट्यो सेयर बेच्न पाइएन वा बजार बढ्यो सेयर किन्न पाइएन भन्दै टाउकोमा हात राखेर बस्नु बाहेक अरु केही हुने छैन ।

comments powered by Disqus

सुनचाँदीको मूल्यमा भारि गिरावट, कति घट्यो?

Apr 14, 2024 10:44 AM

२०८१ सालको पहिलो कारोबार दिन सुनचाँदीको मूल्यमा भारि गिरावट भएको छ । यसदिन सुनको मूल्यमा प्रतितोला दुई हजार दुई सय रुपैयाँ र चाँदी को मूल्य प्रतितोला ५० रुपैयाँले घटेको हो ।