अहिले शिखर इन्स्योरेन्सले १० प्रतिशतले सर्वसाधारणको हिस्सा बढाउन प्रकृयामा लगेको एफपिओ बराबरको सेयर सामान्य प्रकृयाबाट रुपान्तरण गर्ने भएको छ । कम्पनीको साधारण सभामा कम्पनीको एफपिओले लगानीकर्ता मालामाल हुने भन्दै उक्साईरहेका वक्ताहरु भने अहिले मुख लुकाउनु पर्ने अवस्थामा पुगेका छन् ।
इन्स्योरेन्सले धितोपत्र बोर्डले गरेको व्यवस्था अनुसार अहिले तत्काल नै एफपिओ जारी गर्न नपाउने भए पछि संस्थापक सेयरलाई साधारण सेयरमा रुपान्तरण गर्ने भएको हो । अहिले इन्स्योरेन्समा संस्थापकको ७० र सर्वसाधारणको ३० प्रतिशत हिस्सा छ । १० प्रतिशत संस्थापक सेयर साधारणमा रुपान्तरण भएपछि संस्थापकको ६० तथा सर्वसाधारणको सेयर हिस्सा ४० प्रतिशत कायम हुनेछ ।
अर्कातिर दोस्रो बजारमा इन्स्योरेन्सको थप १० प्रतिशत सेयर कारोबारमा आउने छ । यसको मतलव यो हो कि, अहिलेको कारोबार योग्य सेयरको संख्यामा बढोत्तरी आएसँगै सेयर बिक्री चाप पनि त्यसरी नै बढ्नेछ । अझ संस्थापक सेयर साधारणमा रुपान्तरण हुने समाचारले मात्र पनि कम्पनीको सेयर मूल्यमा नकरात्मक असर पार्नेछ ।
कुनै बेला एफपिओका नाममा कम्पनीको सेयरमा उचालिएकाहरु केही वर्षपछि भए पनि एफपिओ आउँछ भन्ने आशमा रहेका हुन सक्छन् । अब भने शिखरले दिएको यो झट्काबाट त्यस्ता व्यक्तिहरु धमाधम सेयर बेच्ने ध्याउन्नमा लाग्नेछन् । जसले शिखरको सेयर मूल्यमा कस्तो असर पार्छ भनेर जो कोहीले पनि सहजै अनुमान लगाउन सक्छ ।
हामी यत्ति मात्र भन्छौं, कुनै पनि समाचारको तत्काल प्रतिकृया स्वरुप व्यवहारमा उतार्ने काम नगर्नु सबैभन्दा उत्तम हुन्छ । कुनै कम्पनी वा निकायले गरेको निर्णय कार्यान्वायन कहिले हुन्छ भन्ने यकिन गरेर मात्र दोस्रो बजारमा त्यसै अनुसारको रणनीति अख्तियार गर्ने हो लगानी फस्ने खतराबाट बच्न सकिन्छ । किनकी कुनै पनि निर्णय आजको भोलि नै कार्यान्वायनमा आउँदैनन् । निश्चित प्रकृया पुरा भएपछि मात्र त्यसले मूर्त रुप लिन्छ । यस अघि राप्ती भेरी विकास बैंक, रिलायबल डेभलपमेण्ट बैंक लगायतका कम्पनीहरुले प्रस्ताव गरेको हकप्रदले पनि यो पाठ पढाउने जमर्को गरिसकेको छ ।