लगानीकर्तालाई सहज किसिमले केवाईसी अद्यावधिक गराउने सम्बन्धमा कुनै पहल नहुँदाको नतिजा मंगलबारको कारोबारले देखाएको हो । यसरी नियामकले गरेको निर्णयका कारण बजारमा परेको नकरात्मक असरलाई कुन शैलीमा व्याख्या गर्ने भन्ने बहस सुरु भएको छ ।
धितोपत्र बोर्डले केही समय अघिदेखि केवाईसी अद्यावधिक गर्न तथा गराउन लगानीकर्ता तथा सेयर दलालहरुलाई ताकेता गर्दै आएको थियो । तर बोर्डको अपेक्षा अनुसार लगानीकर्ताको केवाईसी अद्यावधिक हुन सकेन । एकाएक सोमबार साँझ बोर्डको निर्देशन अनुसार लगानीकर्ताको कारोबार संकेत चिन्ह निस्क्रिय हुन पुग्यो । जसको असर मंगलबारको सेयर बजारमा देखियो ।
औसतमा दैनिक २५ करोडभन्दा तल नझरेको कारोबार रकम अरु कुनै कारणले सुस्ताएको हैन । लगानीकर्ताले अनेक हल्लाको पछि लागेर यस्तो समयमा हतारिएर निर्णय लिनु गलत हुन सक्छ । लगानीकर्ताले केवाईसी अद्यावधिक गराउने क्रम मंगलबारदेखि नै तिब्र भएको छ । यो क्रम केही दिनमा सकिए लगत्तै यस अघिको जस्तै नियमित सेयर कारोबार हुनेछ । तर धितोपत्र बोर्डले लगानीकर्ताको सहजता अनुसार केवाईसी अद्यावधिक गराउने व्यस्थामा किन ध्यान दिन सकेन ? जसको नकरात्मक असर बजारमा देखियो भन्ने प्रश्न मुख्य विषय हो ।
यहाँ लगानीकर्ताको पनि गल्ती छैन भन्न खोजिएको हैन । बोर्डले पटक पटक केवाईसी अद्यावधिक नगराए जेठ १ गतेदेखि सेयर कारोबारमा बन्देज लाग्ने बताउँदै आएको थियो । तर सोमबार साँझ केवाईसी अद्यावधिक गरेका तथा नगरेका सबैको संकेत नम्बर स्थगन हुन पुग्यो । केवाईसी अद्यावधिक गराएकाहरुको कारोबार सुचारु हुने गरी सेयर दलाल व्यवसायीले बन्दोवस्त मिलाए । तर केवाईसी अद्यावधिक नभएकाहरु भ्ने अझै कारोबार गर्नबाट बञ्चित अवस्थामा छन् ।
बजार सुधार तथा गलत किसिमका कारोबार नियन्त्रका लागि बोर्डले चालेको कदम सही हो । तर यसले तत्काल बजारमा कस्तो असर पर्न सक्छ ? अनि त्यसलाई न्युनिकरण गर्ने सम्बन्धमा किन चासो देखाइएन भन्नेमा नियामकले पनि समीक्षा गर्नु पर्ने देखिन्छ । किनकी नियामकले चाल्ने कुनै पनि कदमले बजारमा प्रत्यक्ष असर पर्नु लगानीकर्ताका लागि जोखिमयुक्त हुन्छ । यस सम्बन्धमा बोर्डले लगानीकर्तालाई सचेत गराउन नसकेको प्रष्ट हुन्छ ।
लगानीकर्ताका विभिन्न संघ संगठनहरुले पनि नियामकको यो निर्णयबाट पर्ने असरलाई बिचार पुर्याउन नसकेको देखिन्छ । यदि यस्ता संघहरुले लगानीकर्तामा केवाईसी अद्यावधिक नगरे बजारमा नकरात्मक असर पर्छ, त्यसैले तोकिएको समयमा केवाईसी अद्यावधिक गराई बजारलाई एकनासको बनाउनु पर्छ भन्ने सन्देश प्रवाह गर्न सकेन । यसमा सेयर दलाल, नेपाल स्टक एक्स्चेञ्ज लगायत सम्बद्ध पक्षको पनि केही कमी कमजोरी रहेका छन् ।
अब सामान्य लगानीकर्ताको कुरा गर्ने हो भने उनीहरु प्रविधिमा आधारित सेवाको अपेक्षा गर्न थालेका छन् । अझ सोझो भाषमा भन्नु पर्दा उनीहरु अल्छी बनेका छन् । घरमा बसी बसी केवाईसी अद्यावधिक गराउन पाए हुन्थ्यो भन्ने उनीहरुको चाहना छ । जसको नतिजा मंगलबारको सेयर बजारमा देखिएको हो । अनि सबैजना नियामकले चालेको कदमप्रति धारेहात लगाउन थालेका छन् । जबकी उनीहरुको केवाईसी अझै अद्यावधिक भएको छैन । बजार घटेको मौका छोप्न पनि उनीहरुले सक्ने अवस्था छैन । जबसम्म लगानीकर्ताहरुले सेयर दलालकोमा गएर केवाईसी अद्यावधिक गराउँदैनन्, उनीहरुका लागि घटेको बजार आकाशको फल, आँखा तरी मर भने सरह हुनेछ ।
नेपाल धितोपत्र बोर्डले यस अघि लगानीकर्ता पहिचान कार्ड बनाउने भनी गरेको उद्घोष त्यत्तिमै सिमित भएको छ । यदि आजको दिनमा इन्भेष्टर्स आईडी कार्यान्वायनमा आएको हुन्थ्यो वा त्यसको प्रारुप तयार भएको हुन्थ्यो भने कम्तीमा सेयर बजारका लगानीकर्ताले यस किसिमको सास्ती खेप्नु पर्ने थिएन । इन्भेष्टर्स आईडीमा अद्यावधिक हुने विबरणलाई सिधै सेयर बजार सम्बद्ध सबै निकायमा इन्टीग्रेट गर्न सक्ने हो भने कम्तीमा लगानीकर्ताले केही राहत महसुस गर्ने छन् । तसर्थ लगानीकर्ताले अब इन्भेष्टर्स आईडीको मुद्धालाई व्यताउनु सान्दर्भिक देखिन्छ ।
समस्या प्रणालीको नै हो । हामीकहाँ प्रत्येक बैंक तथा वित्तीय संस्थाका साथै वित्तीय कारोबार हुने स्थानमा प्रत्येक सेवाग्राहीले अलग अलग रुपमा पटक पटक केवाईसी अद्यावधिक गराउनु पर्ने बाध्यता छ । अन्य मुलुकहरुमा भएको अभ्यासलाई हेर्ने हो भने सेवाग्राहीको यस किसिमको तथ्यांक एकद्धार प्रणालीबाट अद्यावधिक गराउन विभिन्न निकाय तथा संस्थाहरुलाई जिम्मेवारी दिइएको हुन्छ । त्यो पनि अनलाइनमा आधारित । कागजी रुपमा नै पनि यसरी एकद्धार प्रणालीबाट केवाईसी अद्यावधिक गराउने संयन्त्रका कारण सेवाग्राहीलाई सहजता हुने गरेको छ । बैंक खाता होस् वा सेयर कारोबार वा पानी बत्तीको बिल वा अन्य कुनै सेवा, सबै स्थानमा सेवाग्राहीको व्यक्तिगत विबरण एक स्थानबाट अद्यावधिक हुन्छ । तर हामीकहाँ भने यसतो प्रणालीको विकास हुन सकेको छैन । जसको नतिजा नै मंगलबारको सेयर कारोबार हो ।
अब हामीकहाँ यस किसिमको संयन्त्रको विकास नहुने हो भने सयौं अनि हजारौंको संख्यामा रहेका वित्तीय संस्थाहरुमा आबद्ध भएका सेवाग्रहीले पटक पटक यस्तै सास्ती खेप्नु पर्नेछ । त्यसले समग्र क्षेत्रलाई पनि कुनै न कुनै रुपमा नकरात्मक असर पार्ने कुरामा दुईमत छैन । भारतको मात्र कुरा गर्ने हो भने बिजुली, पानी, बैंक, सेयर बजार लगायत केही क्षेत्रका सेवाग्राहीको व्यक्तिगत विबरण तोकिएको कुनै एउटा निकायमा अद्यावधिक गर्दा सबै स्थानमा स्वतहः अद्यावधिक हुने संयन्त्रको विकास भैसकेको छ । प्रविधिको तिब्र विकास अनि हामीकहाँ हुने अधिक प्रयोगलाई आत्मसाथ गर्दै अब पनि यसतर्फ ध्यान नपुर्याउने हो भने विकासको नारा लगाउने हामी नारामा नै सिमित हुने अवस्था आउन सक्छ ।