अब सेयर किन्न ब्रोकर कार्यालयबाटै कर्जा पाइने, मार्जिन ट्रेडिङ कार्यविधि पारित

May 18, 2018 Merolagani

नेपाल धितोपत्र बोर्डले मार्जिन ट्रेडिङ कार्यविधि पारित गरेको छ । बोर्डको बिहीबार बसेको सञ्चालक समितिको बैठकले धितोपत्र लगानीकर्तालाई मार्जिन कारोबार सुविधा उपलब्ध गराउने उदेश्य अनुरुप उक्त कार्यविधि पारित गरेको जनाएको छ ।

यसअघि बोर्डले धितोपत्र कारोबार व्यवसायीको कार्यक्षेत्र विस्तार गर्ने उदेश्यले गत कात्तिक २० गते मार्जिन कारोबार सुविधा सम्बन्धी निर्देशीका २०७४ जारी गर्दे कार्यविधि तयार गर्न सरोकारवालाई निर्देशन दिएको थियो । कार्यविधि पारित भएसँगै अब सेयर लगानीकर्ताहरुले आफ्नो ब्रोकर अफिसबाटै सेयर धितो कर्जा लिन पाउनेछन् । 

धितोपत्र बोर्डका अध्यक्ष रेवत बहादुर कार्कीले मार्जिन ट्रेडिङ कार्यविधि पारित गरेको र नेप्सेलाई कार्यान्वयनमा ल्याउन निर्देशन दिइएको जानकारी दिए ।

कार्यविधि पारित भएसँगै लगानीकर्ताले अब सेयर किन्दा ब्रोकर मार्फत मार्जिन कर्जा लिने सुविधा पाउनेछन् ।लगानीकर्तालाई मार्जिन कारोबार सुविधा प्रदान गर्न नेप्सेले विधि तथा प्रक्रिया निर्धारण गर्नेछ ।

नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले बोर्डको निर्देशन अनुसार मार्जिन ट्रेडिङ कार्यविधि तुरुन्तै कार्यान्वयनमा ल्याइने बताए ।

 

कार्यविधिमा एउटा ब्रोकरले आफ्नो खुद सम्पत्तिको दुई गुणा अर्थात १० करोड रुपैयाँसम्म मार्जिन ल्याण्डिङ्ग सुविधा (सेयर धितो कर्जा) उपलब्ध गराउन सक्ने व्यवस्था छ । हाल ५० वटा स्टक ब्रोकर कम्पनीहरु सक्रिय रहेकाले प्रत्येकले १० करोड रुपैयाँका दरले कुल पाँच अर्ब रुपैयाँसम्मको सेयर धितो कारोबार गर्न पाउनेछन् ।

बैंक मार्फत मार्जिन लेण्डिङ सुविधा लिदै आएका सेयर बजारका लगानीकर्तामा सेयर ब्रोकर कार्यालयबाटै यस्तो कर्जा उपलब्ध हुने ब्यवस्था हुँदा सहज हुने अनुमान गरिएको छ । तर ब्रोकरहरुले लगानीकर्तालाई मार्जिन लेन्डिङ सुविधा दिँदा बोर्डले राखेका विभिन्न शर्तहरु पूरा गर्नुपर्नेछ ।

यस्ता छन् मुख्य मुख्य व्यवस्थाहरु

मार्जिन ट्रेडिङ सुविधा लिन कम्तिमा १० हजार सेयरधनी रहेका कम्पनी हुनुपर्ने र सेयर कर्जा सुविधा प्रदान गर्ने सेयर दलालको नेटवर्थ पाँच करोड रुपैयाँ भन्दा बढी हुनुपर्ने जस्ता २३ बुँदा कार्यविधिमा समेटिएको छ ।

नेप्सेमा सूचीकृत कम्पनीको १८० दिनको औसत मूल्य वा बजार मूल्यमध्ये जुन कम हुन्छ, त्यसको ५० प्रतिशत रकम सेयर किन्नेले प्रारम्भिक मार्जिनका रुपमा बुझाउनुपर्छ । यसआधारमा राष्ट्र बैंकले राखेको प्रावधान नै बोर्डले पनि राखेको हो । राष्ट्र बैंकले पनि सेयर मार्जिन कर्जा ५० प्रतिशतसम्म मात्र दिन पाउने व्यवस्था गरेको छ । ब्रोकरहरुले आफ्नो नेटवर्थको २ गुणासम्म मात्र मार्जिन कारोबार सुविधा उपलब्ध गराउन पाउनेछन् ।

ब्रोकरहरुले आफ्नो नेटवर्थको २ गुणासम्म लगानीकर्ताले किनेको सेयरको ५० प्रतिशत रकम उपलब्ध गराउन पाउने प्रावधान कार्यविधमा छ । तर ब्रोकरले एक जना ग्राहक वा निजको एकाघरका सदस्यलाई आफ्नो नेटवर्थको बढीमा १० प्रतिशत सम्म कर्जा सुविधा उपलब्ध गराउन सक्नेछ ।

यस्तो कर्जा नेटवर्थ सकारात्मक रही पछिल्लो २ आर्थिक वर्षमा कम्तिमा १० प्रतिशत लाभांश वितरण गरेका सूचीकृत कम्पनीको सेयर किन्न मात्र मार्जिन ऋण दिन पाउनेछन् ।

बोर्डको अनुसार कम्तिमा १० हजार सेयरधनी भएको संस्था, खुद सम्पत्ति सकरात्मक अवस्थामा रहेर पछिल्ला २ वर्षमा कम्तीमा १० प्रतिशत लाभांश बितरण गरेको कम्पनीको सेयरमा मात्र यस्तो कर्जा उपलब्ध हुनेछ ।

अहिले सूचीकृत अधिकांश कम्पनीहरु यस्तो अवस्थामा नरहेका कारण केही वाणिज्य बैंक तथा बीमा कम्पनीका सेयर वाहकले मात्र यस्तो कर्जा पाउने देखिएको हो । बैंक तथा वित्तीय संस्थाबाट सेयर धितो कर्जा लिँदा उल्लेखित शर्त लागू हुँदैन ।

दलाल व्यवसायीबाट प्रदान हुने यस्तो कर्जा सीमित कम्पनीका सेयरधनीले मात्र पाउने देखिएको छ । जसले सबै कम्पनीको सेयर धितो राखेर कर्जा नपाउने अवस्थालाई बुझाउँछ ।

साथै यस सुविधा अर्न्तगत खरिद गरिएको शेयरसहितको मार्जिन रकम विवरण ग्राहकको छुट्टाछुट्टै अभिलेख बनाई राख्नुपर्ने, लेखापरिक्षण गरिएको कारोवार भएको शेयरको हिसाव किताव तथा लेखा बोर्ड र धितोपत्र बजारलाई पेश गर्नुपर्ने तथा ग्राहकको परिस्कृत पहिचान गर्नुपर्ने व्यवस्था गरिएको छ ।

अन्तराष्टिय मूल्य र मान्यता अनुरुपको मार्जिन कारोवार शुरु गर्न तथा धितोपत्र दलाल व्यवसायीको कार्यक्षेत्र विस्तार गर्ने उद्देश्यले बोर्डले मार्जिन कारोवार सम्बन्धी नीतिगत व्यवस्थाहरु गरेको हो ।

मार्जिन सुविधाले दोस्रो बजारको तरलतामा अभिबृद्धि हुने, लगानीकर्ताहरुलाई शेयर खरिद विक्री गर्न थप सहज हुने तथा धितोपत्र व्यवसायको दायरा समेत फराकिलो हुनगई धितोपत्र कारोवार बढी गतिशिल हुन मद्दत पुग्ने बोर्डको अपेक्षा रहेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।