युनाईटेडको बैशाख २ गते सम्पन्न सञ्चालक समिति बैठकले बीमा समितिले तोकेको न्यूनतम चुक्ता पूँजी एक अर्ब पुर्याउन एक बराबर २.४ अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव गरेको थियो । तर बीमा समितिले सिजी इलाेक्ट्राेनिक्सलार्इ कम्पनीले अग्नी बीमा वापत भुक्त्तानी गरेकाे झण्डै २५ करोड रुपैयाँ फिर्ता नगरेसम्म लाभांश वितरण र हकप्रद जारी गर्न राेक लागाएपछि विशेष प्रस्ताव नराखि साधारण सभा आह्वान गरेको हो ।
के भन्छन् सरोकारवाला ?
युनाईटेडको हकप्रद रोकिनुपर्ने अन्य कुनै कारण नभई सिजी आगलागी काण्ड नै प्रमुख रुपमा अगाडि आएको छ । बीमा समिति उच्च अदालत पाटनले दिएको फैसला कार्यान्वयन गरे उसका योजना रोक्नुपर्ने अन्य कुनै कारण नभएको बताउँछ ।
यता युनाईटेड इन्स्योरेन्सका कम्पनी सचिव विदुर भुजेल बीमा समतिले दुई महिनाभित्र साधारण सभा गर्न दिएको निर्देशन र बीमा समितिबाट हकप्रद पारित भइनसकेकाले हकप्रद प्रस्ताव समावेश गर्न नसकिएको बताउँछन् ।
बीमा समितिले युनाईटेडलाई चैत २८ गते दुई महिनाभित्र साधारण सभा सम्पन्न गर्न पत्राचार गरेको थियो ।
बीमा समितिले युनाइटेडलार्इ हकप्रद निश्काशन गर्न स्वीकृति नदिएपछि चुक्ता पूँजी बढाउने योजना अलपत्र परेको छ ।
२४० प्रतिशत हकप्रद घोषणा गरेको समयमा हकप्रद पाउने लोभमा तीन दिनसम्म कम्पनीको सेयरमूल्यमा उछाल आएकाे थियाे । सो समयमा कम्पनीको सेयर उचालिएर महङ्गो मूल्यमा किन्ने लगानीकर्ता अहिले नराम्ररी फसेका छन् । हकप्रद अाउने भन्दै लगानीकर्ता युनाईटेडको प्रतिकित्ता एक हजार ६०० रुपैयाँसम्म सेयर किनेका थिए । साेमबार कम्पनीको मुल्य १०५० रुपैयाँसम्म झरिसकेकाे छ । कम्पनीको समग्र अवस्था नबुझी हकप्रदमा उचालिनेलाई कम्पनीले फेरि पाठ पढाएको छ ।
बीमा समितिले अघिल्लो पटक पनि कम्पनीले प्रस्ताव गरेको १० प्रतिशत बोनस र शतप्रतिशत हकप्रद जारी गर्ने रोक लगाएको थियो ।
पछिल्लो समय कम्पनी सञ्चालक समितिको निर्णय अस्वीकृत हुने क्रम बढ्न थालेपछि बीमा समितिका अध्यक्ष डा. चिरञ्जीवी चापागाईले सार्वजनिक कार्यक्रमै कम्पनीबाट हुने निर्णय नियामकले बदर गर्न सक्ने भन्दै नियामकको निर्णय पश्चात मात्र व्यवहारमा जान सुझाउन गरेका छन् ।
उनले प्रथम पूँजीबजार प्रदर्शनी र बीमा समितिको स्वर्ण जयान्ती कार्यक्रममा बीमा समितिले जारी गरेका निर्देशिकाहरुका साथै कम्पनीका सञ्चालक तथा वित्तीय अवस्थाका बारेमा अध्ययन गरेर मात्र लगानीको निर्णय लिन अाग्रह गरेका थिए ।
के हो सिजी इलोक्ट्रोनिक्स् आगलागी काण्ड ?
अर्बपति विनोद चौधरीको चौधरी ग्रुप अन्र्तगत सञ्चालित सतुङगलमा रहेको सीजी इलेक्ट्रोनिक्सको ४ वटा गोदाममा ५ वर्ष पहिले आगलागी भएको थियो । अग्नी बीमा बापत सीजी इलेक्ट्रोनिक्सलाई युनाइटेड इन्स्योरेन्सले आंशिक रुपमा झण्डै २५ करोड रुपैयाँ दाबी भुक्तानी गरेको थियो ।
घटनामा नक्कली दाबी भुक्तानी गरेपश्चात बीमा समितिले युनाईटेडलाई अग्नि बीमा योजना सञ्चालन गर्न यसअघि नै रोक लगाईसकेको छ ।
यो मुद्धा बीमा समिति हुँदै उच्च अदालत पाटन पुगेको थियो । सिजी इलोट्रोनिक्सलाई अदालतले गोदामको आगलागीको दाबी वापत लगेको झण्डै २५ करोड रुपैयाँ बीमा कम्पनीलाई फिर्ता गर्न आदेश दिएको थियो ।
आगलागी काण्डमा भुक्तानी गरिएको झण्डै २५ करोड रकम असुल गर्न बीमा समिति र पाटन उच्च अदालतले आदेशपछि युनाईटेड इन्स्योरेन्स सो निर्णयको फैसला बिरुद्ध सर्बाेच्च अदालत गएपछि यो मुद्धा फेरी कमजोर बनेको छ ।
भूकम्पका बेला अपार्टमेण्ट काण्डमा पुनरबीमा कम्पनीबाट पनि युनाइटेडले रकम पाउन सकेको छैन । अपार्टमेण्टको बीमा प्रकृया फरक शैलीको भएका कारण त्यसलाई पुनरबीमा कम्पनीले स्वीकृत नगरेका कारण युनाइटेड अहिले समस्याबाट समेत गुज्रिरहेको छ ।
३० करोड २४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनी अझै पनि ३० लाख सञ्चित जगेडा नोक्सानीमा रहेकाले बोनस बाँड्ने अवस्था छैन ।
साधारण सभाका लागि कम्पनीले जेठ १३ गतेदेखि सेयरधनी किताब बन्द गर्दैछ ।