बजार खुलेदेखि नै ओरालो लागेको नेप्से ४.३१ अंकले घटेको छ । इन्भेष्टमेन्ट बैंकको २२ करोडको संस्थापक सेयरको कारोबारले रकम भने उच्च देखिएको छ ।
नीति तथा कार्यक्रमले पूँजी बजारलाई गतिशिल बनाइने भने पनि यस बिषयमा प्रष्ट कुरा नआएपछि लगानीकर्ता बजारप्रति सकारात्मक देखिएनन् । जसले अन्य दिनको जस्तै सामान्य कारोबार भयो ।
नीति तथा कार्यक्रममा पूँजीबजारलाई समेटेकाले लगानीकर्ताहरु बजेटप्रति भने केही आशावादी रहेका छन् । बजेट घोषणाको मिति नजिकिएकाले पनि लगानीकर्ता पर्ख र हेरकै अवस्थामा रहँदा कारोबारमा खास तिब्रता आउन सकेको छैन ।
नेप्से सूचक मंगलबार ४.३१ अंकले घटेर १३३२.८२ विन्दुमा आइपुगेको छ । मंगलबार नेप्से परिसुचक ओरालो लागेपनि कारोबार रकम ५३ करोड रुपैयाँ भन्दा माथी पुगेको छ । जसमा १ सय ६० कम्पनीको १० लाख ४७ हजार कित्ता सेयर खरिदबिक्री भए ।
नेपाल इन्भेष्टमेन्ट बैंकको संस्थापक सेयर नै २२ करोड बराबरको किनबेच भएपछि कारोबार रकम उकासिएको हो। सोमबार सेयरबजारमा ३५ करोड बराबरको सेयर किनबेच भएको थियो ।
कारोबारमा आएका होटल उत्पादन र माइक्रोफाइनान्स बाहेक सबै समूहका सूचक ओरालो लागेका छन् । सबैभन्दा बढि बीमा समुहको परिसुचक २४ अंकले घटेको छ ।
कमाउने कम्पनीहरुको सूचीमा माइक्रोफाइनान्स कम्पनीहरुको दबदबा देखिएको छ । सबैभन्दा धेरै कमाउनेमा सुर्योदय लघुवित्तका लगानीकर्ता रहेका छन् । सुर्योदयको सेयरमूल्य ९.९७ प्रतिशतले बढेको छ ।
यस्तै किसान माइक्रोफाइनान्स, नागबेली लघुवित्त, उन्नती माइक्रोफाइनान्स , ग्लोवल आइएमई लघुवित्त, स्वदेशी लघुवित्त पनि धेरै कमाउने कम्पनीको सूचीमा दरिएका छन् ।
यसदिन सेन्ट्रल फाइनान्सका शेयरधनीले सबैभन्दा बढी करिब सात प्रतिशत गुमाए।