आगामी शुक्रबारदेखि अमेरिकाको उक्त निर्णय कार्यान्वयनमा आउन लागेकोले सो समय अगावै अर्थमन्त्रीहरुको यो भनाई आएको हो । त्यसअघि जि ७ समूहका अर्थमन्त्रीहरुले अमेरिकालाई दिएको यो चेतावनीलाई अर्थपूर्ण रुपमा लिइएको छ ।
अमेरिकी विदेशमन्त्री स्टिभ मनुसीनको पनि औद्योगिक राष्ट्रहरूको समूह ‘जी ७’ का अर्थमन्त्रीहरूले आलोचना गरेका छन् । अमेरिकाको उक्त नयाँ कानुनको विषयलाई लिएर उनले दिएको अभिव्यक्तिको उनीहरुले विरोध गरेका हुन् ।
ती सात देशका अर्थमन्त्रीहरूको क्यानाडामा बसेको बैठकपछि शनिबार उनीहरुले सो धारणा राखेका हुन् । बैठकमा उनीहरुले संयुक्त राज्य अमेरिकासँग व्यापार युद्ध नै हुन सक्ने आरोप पनि लगाएका थिए ।
क्यानडाको विस्ट्लरमा भएको उक्त बैठकमा युरोपेली युनियन आवद्ध देशका साथै क्यानाडाले पनि यस्तो चेतावनी दिएको बताइएको छ ।
उनीहरुले अमेरिकाको उक्त नियमको प्रतिकार गर्ने चेतावनी दिएका छन् । उता फ्रान्सका अर्थमन्त्रीले त अमेरिकासँग आगामी केही दिनमै व्यापार युद्ध शुरू हुनसक्ने अवस्था रहेको बताएका थिए ।
अमेरिकामाथि शोषण भएको छ– राष्ट्रपति ट्रम्प
उता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने विगतका कैयौँ वषहरुदेखि नै अरू देशहरूले व्यापारका क्षेत्रमा अमेरिकामाथि नै शोषण गरिरहेको उल्लेख गरेका छन ।
राष्ट्रपति ट्रम्पले शनिबार आफ्नो ट्वीट अकाउन्टमा उक्त करले अमेरिकी स्टील उत्पादकहरूको पक्षमा काममात्र गर्न खोजेको बताए । यस कानुनले उनीहरुलाई संरक्षण गर्नमात्र खोजेको उनको तर्क थियो ।
उक्त ट्वीटमा उनले भनेका छन– त्यो कानुनले ती वस्तुहरुमा अमेरिकी राष्ट्रिय सुरक्षा गर्ने र उनीहरुको संरक्षण र सहयोगमात्र गर्नेछ, अन्यथा अमेरिका यस क्षेत्रमा विगतको जस्तै शोषित नै भइरहने छ ।
राष्ट्रपति ट्रम्पले अमेरिकी उत्पादकहरुले आगामी दिनमा युरोप र अन्यत्र पनि अवरोधहरुको सामना गर्नुपर्ने अवस्था रहेको भन्दै यस क्षेत्रमा अब अमेरिका पहिलेको तुलनामा चनाखो हुनुपर्ने अवस्था आएको पनि बताए ।
विश्वका अरु देशहरुको विरोध आइ नै रहेको भए पनि यस नियमको विषयलाई लिएर युरोपेली युनियन आवद्ध अर्थमन्त्रीहरुको यो पछिल्लो र कडा चेतावनी आएको बताइएको छ ।
यस चेतावनीपछि अमेरिकाका तर्फबाट भने कुनै प्रतिक्रिया आएको छैन । अमेरिकी राष्ट्रपति ट्रम्प र विदेशमन्त्रीका अभिव्यक्तिहरु हेर्दा यस निर्णयबाट अमेरिका पछि हट्नसक्ने अवस्था पनि देखिएको छैन ।