‘अहिले सरकार दुई तिहाई बहुमतको छ । ‘देशमा भएको स्रोत साधन र जनशक्तिको सहि परिचालनबाट आउने एक दशकभित्र आर्थिक क्षेत्रमा ठूलो क्रान्तिकारी परिवर्तन सम्भव छ,’ सरकार र सबै राजनीतिक दलहरुले देशको स्थिरता, सुशासन र आर्थिक विकास यतिबेलाको मूल एजेण्डाका रुपमा मानेका छन् ।’ उनले भने ।
उनले देशको आर्थिक विकासका लागि सकारात्मक वातावरण बनाउन छिमेकीहरुसँग सरकार र पार्टी दुबैको तर्फबाट राम्रो सम्बन्ध रहेको बताए । ‘अहिले भारत र चीन दुबैसँग सन्तुलित सम्बन्धको विकास भएको छ । हामीलाई दुबै देशको आर्थिक विकासबाट लाभान्वित हुने अवसर छ ।
केही समयअघि हाम्रा प्रधानमन्त्रीको भारत भ्रमण, भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमण र केही दिनभित्र नेपालका प्रधानमन्त्रीको चीन भ्रमण र छिट्टै फेरि चीनबाट पनि उच्चस्तरीय नेपाल भ्रमण हुनेछ । यी भ्रमणहरुले पनि आर्थिक विकासलाई नै मुख्य एजेण्डा बनाउने छन् ।’ अध्यक्ष प्रचण्डले भने ।
देशको आर्थिक विकास गरी ठूलो मात्रामा रोजगारी सृष्टिगर्न अन्तर्राष्ट्रियरुपमा पनि आफूहरुले गरेको पहलकदमीबाट सुधारात्मक ढंगले मात्र नभई नयाँ र क्रान्तिकारी तरीकाले आर्थिक विकास गर्ने सम्भावना रहेको अध्यक्ष प्रचण्डको धारणा थियो ।
रेमिट्यान्सबाट देशको अर्थतन्त्र चलेको बताउदै अध्यक्षले भने, ‘तर त्यसबाट नेपाली समाजमा जे जति पीडा, दुःख, विकृति र विसंगति भित्रिए त्यसको मूल्यमा रेमिट्यान्सबाट आएको भन्दा धेरै ठूलो क्षति नेपाल राष्ट्रले ब्योहोर्नु परेको छ । विदेशबाट आउने विभिन्न खालका सांस्कृतिक विचलनका परिस्थितिलाई मूल्यमा हिसाब गर्यो भने त्यो अमूल्य हुन जान्छ । यो क्षति हामीले भन्दा आउने पुस्ताले बढी देख्नेछ ।’
विदेशीएका लाखौं नेपालीलाई स्वदेश फर्काउन देशभित्र उद्योग, व्यवसाय, रोजगारी, शान्ति, स्थिरता र सुशासनको वातावरण बनाएपछि मात्र सम्भव हुने उनको भनाई थियो ।
उनले अहिले स्थायी सरकार आर्थिक समृद्धिका लागि अवसर भएको भन्दै तर अवसर आफैं परिणाममा परिणत नहुने प्रस्ट्ए । त्यसको निम्ति सबैले मेहेनत गरी सृजनात्मक ढंगले कामहरुलाई अगाडि बढाउने संकल्प गरेमात्र यो अवसरलाई ठीक ढंगले सदुपयोग गर्न सक्ने उनको धारणा थियो ।
अध्यक्ष प्रचण्डले साना तथा मझौला उद्योगले आर्थिक विकास, समृद्धि र रोजगारी सृष्टि गर्न आधारको काम गर्ने बताए ।