मेरोलगानीसँगको कुराकानीमा नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले सेयर दलालहरुलाई अनलाइन कारोबार प्रणाली संचालनको लागि आवश्यक पूर्वाधार तयार पार्न निर्देशन दिइ सकिएको बताए । 'हाम्रो आइटि विभागले आवश्यक न्यूनतम सामानहरुको लिस्ट पठाएको छ । के कति लगानी पर्छ हामीलाई थाहा छैन । ५० वटै ब्रोकरले एकसाथ हार्डवेयर खरिद गर्दा केही कम खर्च होला' उनले भने ।
साउदले सेयर दलालहरुलाई समय समयमा पूर्वाधार निमार्णका लागि तयार रहन निर्देशन दिएको बताउदै नेप्सेले सफ्टवेयरको पैसा नलिने प्रष्ट पारे । तर हार्डवेयरमा लाख्ने खर्च दलाल व्यवसायी आफैंले लगानी गर्नु पर्ने उनको भनाई छ ।
'व्यापार गर्नेले लगानी पनि त गर्नु पर्यो नि, उहाँहरुको व्यापार गर्ने अनि भाँडो पनि हामीले नै किनीदिनु पर्ने ? लगानी गर्न सक्नेले गर्छन, नसक्नेले विस्तारै गर्छन ।' साउदले भने ।