केन्द्रीय बैंकले ब्याजादर करिडोर नीति अन्तर्गत दुइ साताका लागि निक्षेप संकलन उपकरणमार्फत बजारबाट पैसा प्रशोचन गर्न लागेको हो । बैंकिङ प्रणालीमा करिब ४० अर्ब रुपैयाँ अधिक तरलता रहेको केन्द्रीय बैंकले जनाएको छ । सरकारी खर्च बढेपछि बैंकिङ प्रणालीमा तरलता बढेको केन्द्रीय बैंकको भनाई छ । चालु आर्थिक बर्षको अन्तिम महिना चलिरहेकाले तरलता प्रवाह बढेको हो ।
राष्ट्र बैंकले अन्तर बैंक ब्याजदर ३ प्रतिशत तल झरेपछि वित्तीय प्रणालीबाट रकम उठाउने र ५ प्रतिशत नाघेपछि बजारमा पैसा पठाउने गर्छ । ब्याजदर करिडोर नीतिअनुसार राष्ट्र बैंकले बैंकिङ प्रणालीमा तरलता अधिक भए विभिन्न वित्तीय उपकरणमार्फत प्रशोचन र कम भएमा रिपोमार्फत बजारमा पठाउने गरेको छ ।
राष्ट्र बैंकले मंगलबार बजारबाट उठाउने दश अर्ब रुपैयाँ असार १९ गते परिपक्व हुनेछ ।
तर बैंकहरुले भने रकम अभाव भएको भन्दै उच्च ब्याजदर कबुलेर निक्षेप संकलन गर्ने प्रतिस्पर्धामा लागेका छन् । बैंकहरुले आफुसँग भएको निक्षेप बाहिरिन नदिन धमाधम मुद्धती बचतको ब्याजदर समेत बढाउन थालेका छन् । केही बैंकहरुले यस्तो ब्याजदर साढे १२ प्रतिशत पुर्याएका छन भने अधिकांस बैंकले १२ प्रतिशत भन्दा बढी ब्याजदरमा निक्षेप उठाईरहेका छन् ।