एनएमबि बैंकको एफपिओ बिक्री नभएपछि धितोपत्र बोर्डले गर्यो यस्तो निर्णय

Jun 19, 2018 Merolagani

नेपाल बैंकले पनि राहत पाउने
एक करोड १४ लाख भन्दा बढी एफपिओ निष्काशन गरेको एनएमबि बैंकलाई एफपिओ बिक्री गर्न मुस्किल परेको बेला नेपाल धितोपत्र बोर्डले धितोपत्र निष्काशन सम्बन्धि नियममा संशोधन गरेर राहत दिएको छ । बोर्डको यो निर्णयबाट नेपाल बैंकले समेत लाभ पाउने भएको छ ।

निष्काशन भएका प्राथमिक शेयर बिक्री हुन छाडेपछि धितोपत्र बोर्डले धितोपत्र निष्काशनसम्बन्धि नियममा संशोधन गर्ने निर्णय गरेको हो।

बोर्डले सार्वजनिक निष्काशनमा आवेदन गर्न पाउने अधिकतम कित्ताको सीमा हटाउने निर्णय गरेको हो । यसअघि कुल निष्काशनको शुन्य दशमलव पाँच प्रतिशतसम्म मात्र अधिकतम आवेदन दिन पाउने व्यवस्था थियो ।

बोर्डको निर्णयले ठूलो परिमाणमा प्राथमिक निष्काशन गरेका कम्पनीहरुलाई शेयर बिक्री गर्न केही सहज हुने देखिएको छ । जसको प्रत्यक्ष लाभ एनएमबि बैंक र नेपाल बैंकले पाउने भएका छन् । एनएमबि बैंकले जेठ ३० गतेदेखि निष्काशन गरेको एफपिओ बिक्री हुन सकेको छैन भने नेपाल बैंकको पनि ठूलो परिमाणमा एफपिओ आउँदै छ ।

एनएमबि बैंकको एक करोड १४ लाख १५ हजार १६३ कित्ता एफपिओ निष्काशन गरिरहेको छ । जसमा अधिकतम ५७ हजार ७० कित्ता मात्र आवेदन गर्न सकिने व्यवस्था थियो । 

सोमबारसम्म एनएमबि बैंकको एफपिओ ५० प्रतिशत पनि बिक्री हुन सकेको छैन । नयाँ व्यवस्थाले अब संस्थागत लगानीकर्ताले ५७ हजार ७० कित्ता भन्दा बढी जतिपनि आवेदन गर्न पाउने भएपछि एनएमबिलाई एफपिओ बिक्री गर्न केही सहज  हुने देखिन्छ । 

एनएमबि बैंकको एफपिओमा आवेदन गर्न रुचि देखाएका संस्थागत लगानीकर्ताले अधिकतमको सीमा हटाउन निष्काशनकर्तालाई सुझाब दिएका थिए । नागरिक लगानीकोष लगायतले यो बिषय धितोपत्र बोर्डमा पुर्यापछि बोर्डले नयाँ व्यवस्था गरेको हो । 

...[एनएमबि बैंकको एफपिओमा संस्थागत लगानीकर्ताले रुचि देखाए तर गरेनन् आवेदन]...

यो निर्णय प्रिमियम मूल्यमा प्राथमिक निष्काशन गर्ने कम्पनीहरुको हकमा लागू गरिएको धितोपत्र बोर्डका अध्यक्ष डा. रेवत बहादुर कार्कीले मेरो लगानीलाई बताए । 'प्रिमियम मूल्यमा प्राथमिक निष्काशनको अधिकतम शुन्य दशमलव पाँच प्रतिशत मात्र आवेदन गर्न पाइने व्यवस्था खारेज गरिएको छ ।यो सोमबार बाटै लागू भईसकेको छ ।' कार्कीले भने ।

निष्काशन भईरहेका र आगामी दिनमा हुने प्राथमिक निष्काशनलाई ध्यानमा राखेर यो निर्णय गरिएको कार्कीले बताए । प्राथमिक निष्कासनमा आवेदनको सीमा हटाइएपनि धितोपत्रको बाँडफाँड भने अनिवार्य दश कित्ताको मोडलबाटै हुने कार्कीले प्रष्ट पारे ।

बोर्डको यो निर्णयसँगै अब प्राथमिक निष्काशनमा कति कित्तासम्म आवेदन गर्ने भन्ने निर्णय निष्काशन कर्ता कम्पनी वा स्वयम लगानीकर्ताले नै गर्न पाउने छन् ।

यसैगरी प्रिमियमसहित निष्काशन भएका धितोपत्र र एफपिओमा निष्काशन भएकै दिनदेखि संस्थागत लगानीकर्तालाई पनि आवेदन खुला गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष कार्कीले जानकारी दिए।

एक बर्ष अगाडि मात्रै बोर्डले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका २०७४ मा तोकिएको अवधिभित्र शेयर बिक्री नभएमा मात्रै संगठित संस्थाले खरिद गर्न सक्ने व्यवस्था गरेको थियो।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।