यस अघि साधारण बचतमा ८ प्रतिशत र मुद्धतीमा ११ प्रतिशतभन्दा माथिको व्याजदर कार्यान्वयन नगर्ने भद्र सहमति संघले खारेज गरेको थियो । त्यस लगत्तै बैंकहरुले संस्थागत निक्षेपमा १४ प्रतिशतसम्मको व्याजदरमा निक्षेप तान्ने होड सुरु गरेका थिए । यसले समस्या निम्त्याउन सक्ने भन्दै राष्ट्र बैंक तथा अर्थमन्त्रालयले चासो देखाएपछि संघले फेरी व्याजदरको थ्रेसहोल्ड निर्धारण गरेको हो ।
मेरोलगानीसँग कुरा गर्दै बिहीबारको संघको बैठकमा सहभागि एक बैंकका प्रमुख कार्यकारी अधिकृतले भने, यस अघि साधारण बचतमा ८ प्रतिशतको थ्रेसहोल्ड रहेकोमा अब त्यसलाई ७ प्रतिशतमा झारिएको छ । मुद्धतीमा भने पहिलेको अनुसार ११ प्रतिशतभन्दा माथि नजाने सहमति भएको छ ।
उनका अनुसार संस्थागत निक्षेपकर्तालाई बैंकहरुले अब साढे १० प्रतिशत मात्र ब्याज बितरण गर्ने छन् । यस अघि संस्थागत निक्षेपलाई ११.१५ प्रतिशतसम्म व्याज दिने सम्झौता भएको थियो । अहिले त्यसलाई घटाइएको हो ।
व्यक्तिगत निक्षेपमा बैंकहरुले बढिमा ११ प्रतिशत मात्र व्याज दिने सहमति भएको उनले जानकारी दिए । उनका अनुसार बैंकहरुका बीचमा व्याजको भुक्तानी त्रैमासिक रुपमा मात्र भुक्तान गर्ने सम्झौता भएको छ ।
उनका अनुसार २८ वटै बैंकका प्रमुख कार्यकारी अधिकृत सहभागि रहेको बैठकमा केही दिन अघि बैंकहरुले निकालेको नयाँ व्याजदर संघको सहमति अनुसार तत्काल परिमार्जन गर्ने प्रतिबद्धता पनि बैंकहरुले जनाएका छन् ।