बिहीबार वाणिज्य बैंकका प्रमुख कार्यकारीहरुको भेलाले बैंकहरुका बीचमा व्याजदर बढाउन अस्वस्थ प्रतिष्पर्धा सुरु भएको र यसले वित्तीय प्रणालीलाई नै समस्यामा पार्ने भन्दै संघले व्याजदरका सम्बन्धमा नयाँ सहमति गरेको हो ।
बैकर्स संघको बैठकले साधारण बचतमा ७ प्रतिशत तथा मुद्धती निक्षेपमा ११ प्रतिशतभन्दा धेरै ब्याज नदिने सहमति गरेको हो । यसअघिको सहमति खारेज भएपछि बैंकहरुले साधारण बचतमा ८ प्रतिशत बढी र मुद्धती निक्षेपमा साढे बाह्र प्रतिशतसम्म ब्याजदरमा निक्षेप उठाएका थिए ।
निक्षेपको ब्याजदर नबढ्ने भएपछि कर्जाको ब्याज पनि नबढ्ने आशमा लगानकर्ता देखिएका छन् । ब्याजदरको नयाँ सहमतिले विहिबारको बजार सकारात्मक रहेपनि कारोबार भने बढ्न सकेन । मौद्रिक नीति जारी गर्ने मिति नजिकिदै जाँदा समग्र शेयरबजार र ब्याजदरको बिषयमा राष्ट्र बैंकको नीति के हुने भन्ने दुविधा लगानीकर्तामा कायमै देखिन्छ ।
लगानीकर्ताले मार्जिन लेन्डिङ्गको सीमा बढाउन माग गर्दे आएका छन् । साथै उनीहरुले बैंकहरुको बढ्दो ब्याजदर नियन्त्रण, अनलाइन कारोबार प्रणालीको सहजीकरण लगायतमा राष्ट्र बैंकको भुमिका खोजेका छन् । राष्ट्र बैंकले अर्को साता मौद्रिक नीति सार्वजनिक गर्ने तयारी थालेको छ ।
साताको अन्तिम दिनको नेप्से ०.६२ अंकले बढेर १२१८.४६ अंकमा पुगेको छ । १६३ कम्पनीको कारोबार भएको बजारमा १९ करोड ६६ लाख बराबरको कारोबार भयो । कारोबार रकम अघिल्लो दिनको तुलनामा भन्दा झण्डै ८ करोड कम हो ।
यसदिन नबिल बैंकको संस्थापक शेयर सबैभन्दा धेरै ९३ लाख बराबरको कारोबार भयो । आरम्भ माइक्रोफाइनान्सको सबैभन्दा धेरै ७ प्रतिशतले शेयरमूल्य बढेको बजारमा नेपाल हाइड्रोको सबैभन्दा धेरै झण्डै दश प्रतिशतले घटेको छ ।