बीमा समितिले तोकेको चुक्ता पूँजी पुर्याउन कम्पनीहरूलाई गाह्रो, पाँचले पुर्याए

Jun 23, 2018 merolagani

बीमा समितिले तोकेको पूँजी योजनाको समय अवधि सकिन लाग्दा बीमा कम्पनीहरूले निर्देशन पूरा गर्न नसक्ने देखिएको छ । कुन बीमा कम्पनीहरू चुक्ता पूँजी कति रहेको छ ? बीमा समितिले निर्धारण गरेको चुक्ता पूँजी पुर्याउन बीमा कम्पनीहरूको के कस्तो तयारी गर्दैछन् त ?

बीमा समितिले चालु आर्थिक वर्षको अन्त्यसम्ममा जीवन बीमा कम्पनीको २ अर्व र निर्जीवन बीमा कम्पनीहरूको एक अर्ब चुक्ता पूँजी पुर्याउन निर्देशन दिएको थियो ।

जीवन बीमा कम्पनी

बीमा समितिले तोकेको चुक्तापुँजी पुर्याउने जीवन बीमा कम्पनीमा नेपाल लाइफ इन्स्योरेन्स मात्र रहेको छ । नेप्सेमा सुचिकृत ८ जीवन बीमा कम्पनीहरू मध्ये नेपाल लाइफ इन्स्योरेन्सले मात्रै चुक्तापुँजी पुर्याएकाे छ ।

नेपाल लाइफ इन्स्योरेन्स
नेपाल लाइफको चुक्ता पूँजी ४ अर्ब ४० करोड रूपैयाँ रहेको छ । बीमा समितिले निर्धारण गरेको २ अर्ब चुक्तापूँजी भन्दा नेपाल लाइफकाे २ अर्ब ४० करोड रूपैयाँ अर्थात १२० प्रतिशत बढि चुक्ता पूँजी हो ।

राष्ट्रिय बीमा संस्थान
राष्ट्रिय बीमा संस्थानको चुक्तापूँजी १८ करोड रूपैयाँ मात्रै छ । दूई अर्ब चुक्ता पूँजी पुर्याउन संस्थानलाई ९०.९५ प्रतिशत अर्थात एक अर्ब ८२ करोड पुँजी नपुग्ने देखिन्छ । पूँजी बृद्धिका लागि संस्थानले कुनै तयारी गरेको छैन ।

गुराँस लाइफ इन्स्योरेन्स
५९ करोड चुक्तापूँजी रहेको गुराँस लाइफको दुई अर्ब पूँजी पुर्याउन ७०.३० प्रतिशत अर्थात एक अर्ब ४१ करोड रूपैयाँ पूँजी नपुग्ने देखिन्छ । कम्पनीले पूँजी बृद्धिका लागि यस अघिका हकप्रद बाहेक अरु योजना बनाएको छैन ।

सूर्या लाइफ इन्स्योरेन्स

सूर्या लाइफको एक अर्ब एक करोड रूपैयाँ चुक्तापूँजी छ । दुई अर्ब चुक्तापूँजी पुर्याउन ४९.४७ प्रतिशत अर्थात ९९ करोड रूपैयाँ अपुग देखिन्छ । पूँजी बृद्धिको लागि सूर्याले पनि कुनै योजना सार्वजनिक गरेको छैन ।

एशियन लाइफ इन्स्योरेन्स
एक अर्ब २६ करोड चुक्तापूँजी रहेको एशियन लाइफको दुई अर्ब चुक्तापूँजी पुर्याउन ३७.१६ प्रतिशत अर्थात ७४ करोड नपुग्ने देखिन्छ । कम्पनीले पूँजी बृद्धिको लागि हाल कायम चुक्ता पूँजीको ६० प्रतिशत अर्थात ७५ करोड ४० लाख ३५ हजार रूपैयाँको हकप्रद बिक्री गर्ने योजना बनाएको छ । हकप्रद बिक्री पश्चात कम्पनीको चुक्ता पूँजी दुई अर्ब एक करोड ७ लाख ६० हजार पुग्ने छ ।

एलआइसी नेपाल

एलआइसी नेपालको चुक्ता पूँजी एक अर्ब ३३ करोड रूपैयाँ छ । बीमा समितिले निर्धारण गरेको न्यूनतम २ अर्ब चुक्ता पूँजी पुर्याउन एलआइसीको ३३.२७ प्रतिशत अर्थात ६७ करोड रूपैयाँ नपुग्ने देखिन्छ । एलआइसीले पूँजी बृद्धिको लागि कुनै ठोस योजना बनाएको छैन ।

नेशनल लाइफ इन्स्योरेन्स
नेशनल लाइफ इन्स्योरेन्सको हाल चुक्ता पूँजी एक अर्ब ६६ करोड रूपैयाँ रहेको छ । कम्पनीले दुई अर्ब चुक्ता पूँजी पुर्याउन ६० प्रतिशत हकप्रद ल्याउन तयारी गरेको छ । कम्पनीले ६० प्रतिशत अर्थात १० बराबर ६ कित्ता अनुपातमा ९९ लाख ३६ हजार ४७८ कित्ता हकप्रद शेयर निष्कासन पश्चात पुँजी २ अर्ब ६४ करोड रूपैयाँ नाघ्नेछ । 

प्राइम लाइफ इन्स्योरेन्स 
बीमा समितिले निर्धरण गरेको २ अर्ब चुक्तापूँजी पु¥याउन प्राइम लाइफको १०.७६ प्रतिशत अर्थात २२ करोड नपुग्ने देखिन्छ । हाल कम्पनीको चुक्तापूँजी एक अर्ब ७८ करोड रूपैयाँ रहेको छ । थप पूँजी विस्तारको लागि कम्पनीले कुनै तयारी गरेको छैन ।

 

निर्जीवन बीमा कम्पनी 

नेप्सेमा सुचिकृत १५ निर्जीवन बीमा कम्पनीहरू मध्ये नेको, शिखर, हिमालयन जनरल र प्रभु इन्स्योरेन्सले समितिले तोकेको चुक्त पूँजी पुर्याउने बीमा समितिले तोकेको पूँजी पुर्याएका छन् । नेकोको एक अर्ब १८ करोड, शिखरको एक अर्ब ६ करोड, हिमालयन जनरलको एक अर्ब ३ करोड रूपैयाँ र प्रभु लाइफको एक अर्ब एक करोड चुक्ता पूँजी पुगेको छ । प्रभु इन्स्योरेन्सको ६४ प्रतिशत हकप्रदको शेयर मूल्य समायोजन भएपछि समितिले तोकेको चुक्ता पूँजी पुगेको हो । बीमा समितिले निर्धारण गरेको चुक्तापुँजी भन्दा नेको इन्स्योरेन्सको १७.६३ प्रतिशत, शिखर इन्स्योरेन्सको ५.७३ प्रतिशत, हिमालयन जनरलको २.७२ प्रतिशत र प्रभु इन्स्योरेन्सको ०.५१ प्रतिशतले बढि छ । 

बीमा समितिले तोकेको चुक्तापूँजी पुर्याउन कतिपय बीमा कम्पनीहरूको लाभांस तथा हकप्रद शेयर निष्कासनको बाटो रोजेका छन् । 

एभरेष्ट इन्स्योसेन्स 

सबै भन्दा कम चुक्तापूँजी रहेको एभरेष्ट इन्स्योरेन्सले दुई चरणका हकप्रद सेयर बिक्री गर्दै छ । कम्पनीकोे गत बैंशाख १० गते बसेको २३ औं बार्षिक साधारण सभाले दश प्रतिशत बोनसपछि १०५ प्रतिशत संस्थापक हकप्रद बिक्री गर्ने प्रस्ताव पारित गरेको छ । संस्थापक हकप्रदपछि कम्पनीले फेरि ३०० प्रतिशत हकप्रद शेयर बिक्री गर्ने निर्णय समेत पारित गरेको छ । बोनस र दुई चरणको हकप्रद पश्चात कम्पनीमा संस्थापक सेयरधनीको ५१ प्रतिशत र साधारणको ४९ प्रतिशत सेयर स्वामित्व रहने छ ।कम्पनीको दुई चरणको हकप्रद पश्चात चुक्ता पूँजी एक अर्ब ९ करोड ५९ लाख ३०० रूपैयाँ कायम हुनेछ । 

राष्ट्रिय बीमा कम्पनी
बीमा समितिको निर्देशन अनुसार राष्ट्रिय बीमा कम्पनीले झण्डै ३ गूणा पूँजी बढाउनु पर्ने हुन्छ । हाल २७ करोड चुक्ता पूँजी रहेको कम्पनीले ५ आर्थिक वर्षको साधारण सभाबाट १२० प्रतिशत बोनस बितरण गर्ने योजना अघि सारेको छ । तर लेखापरीक्षण नमिलेका कारण बीमा समितिले उसको बोनस प्रस्ताव स्वीकृत गरेको छैन । जसका कारण कम्पनीको पूँजी योजना अलपत्र परेको छ । उल्लेखित बोनस बितरण पश्चात पनि कम्पनीको चुक्ता पूँजी ५९ करोड ४ लाख रुपैंया पुग्नेछ । बक्यौता वर्षको साधारण सभा हुन नसकिरहेका बेला अरु पूँजीको विकल्प कम्पनीले अघि सारेको छैन ।

युनाइटेड इन्स्योरेन्स
दाबी भुक्तानीको विवादमा फसेको युनाइटेड इस्योरेन्सले पनि चुक्तापूँजी बृद्धि गर्न नसकिने देखिन्छ । ३० करोड मात्रै चुक्तापूँजी रहेको कम्पनीले ७० करोड रुपैंया पूँजी थप गर्नु पर्ने हुन्छ । कम्पनीले पूँजी बृद्धिको लागि गत बैशाख २ गते सम्पन्न संचालक समितिको बैठकले २ः४ को अनुपात अर्थात २४० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव गरेको थियो । तर बीमा कम्पनीले सिजी इलोक्ट्रोनिक्सलाई अग्नि बीमा वापत भुक्त्तानी गरेको झण्डै २५ करोड रूपैयाँ फिर्ता नगरेसम्म लाभांश वितरण र हकप्रद जारी गर्न रोक लगाएपछि विशेष प्रस्ताव पारित भएको छैन ।

सगरमाथा इन्स्योरेन्स 
५४ करोड चुक्तापूँजी रहेको सगरमाथा इन्स्योरेन्सले पूँजी बृद्धिका लागि कुनै तयारी गरेको पाइदैन् । कम्पनीको एक अर्ब चुक्ता पूँजी पुग्न ४६ करोड रूपैयाँ पूँजी विस्तार गर्नुपर्नेछ । साधारण सभाबाट नै एफपिओ निष्काशनको हल्ला सुरु गरे पनि कम्पनीले त्यसलाई प्रकृयामा लगेको छैन ।

आइएमई जनरल इन्स्योरेन्स
पूँजी बृद्धिका लागि आइएमई जनरल इन्स्योरेन्सले १०ः८ अनुपातमा ४३ लाख २० हजार कित्ता हकप्रद सेयर बिक्री गर्न तयारी गरेको छ । ५४ करोड रूपैयाँ चुक्ता पूँजी रहेको इन्स्योरेन्सको उल्लेखित हकप्रद निष्काशन पश्चात चुक्ता पूँजी ९७ करोड २० लाख रूपैंया पुग्नेछ । बीमा समितिले तोकेको निर्जीवन बीमा कम्पनीको एक अर्ब चुक्ता पूँजी पुर्याउन इन्स्योरेन्सले थप २ करोड ८० लाख रूपैंया बराबरको बोनस बितरण गर्नुपर्ने हुन्छ ।

प्रिमियर इस्योरेन्स
प्रिमियर इन्स्योरेन्सले गत पुसमा ७९९ रूपैयाँमा ६ लाख ५९ हजार ५६५ कित्ता एफपीओ बिक्री गरेको थियो । त्यस पश्चात ५१ करोड ४४ लाख ६० हजार चुक्ता पूँजी पुगेको कम्पनीको बोनसपछि ५८ करोड ४० लाख रूपैयाँ पूँजी कायम भएको छ । तत्काल पूँजी बृद्धिको लागि कम्पनीले कुनै योजना सार्वजनिक गरेको छैन ।

नेपाल इन्स्योरेन्स
६३ करोड चुक्ता पूँजी रहेको नेपाल इन्स्योरेन्सले पनि पूँजी बृद्धिको लागि कुनै तयारी गरेको छैन । एक अर्ब चुक्तपूँजी पुर्याउन कम्पनीलाई ३७ करोड रूपैयाँ पूँजी थप्नु पर्ने देखिन्छ ।

एनएलजी इन्स्योरेन्स
गत वर्ष २५ प्रतिशत बोनस वितरण गरेर ६४ करोड रूपैयाँ चुक्तापूँजी पुर्याएको एनएलजीको असार मसान्त भित्रमा समितिले तोकेको पूँजी बृद्धि गर्न कुनै योजना छैन ।

प्रुडेन्सियल इन्स्योरेन्स
६४ करोड १५ लाख रूपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीले एक अर्ब चुक्तापूँजी पुर्याउन ३५ करोड ८५ लाख रूपैयाँ पूँजी वृद्धि गर्नुपर्ने देखिन्छ । त्यसका लागि यस कम्पनीले पनि कुनै तयारी थालेको छैन ।

सिद्धार्थ इन्स्योरेन्स
सिद्धार्थको चुक्ता पुँजी ३५ प्रतिशत हकप्रदपछि ८६ करोड ५९ लाख १८ हजार रूपैयाँ पुगेको छ । एक अर्ब चुक्ता पूँजी पुर्याउन सिद्धार्थ इन्स्योरेन्सले १३ करोड रूपैयाँ पुँजी बृद्धि गर्नु पर्ने देखिन्छ ।

लुम्बिनी जनरल इन्स्योरेन्स
लुम्बिनी जनरलको चुक्तापूँजी ८८ करोड रूपैयाँ रहको छ । कम्पनीको एक अर्ब चुक्ता पूँजी पुर्याउन १२ करोड रूपैयाँ पूँजी बृद्धि गर्नुपर्ने हुन्छ ।

उल्लेखित कम्पनीहरुले चालु आर्थिक वर्षको समाप्ति पछि साधारण सभा आह्वान गर्दै बोनसबाट पूँजी बढाउने योजना बनाएको देखिन्छ । तर जगेडा कोषको आकार राम्रो भएका कम्पनी बाहेक अरुलाई भने अझै समस्या पर्ने देखिन्छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।