संघको बिहीबार बसेको बैठकमा २८ वाणिज्य बैंकका प्रमुख कार्यकारीहरुले कर्जाको व्याजदर १५ प्रतिशत माथि नरहने अवस्था बनाउन सक्दो पहल गर्ने सम्झौता गरेका थिए । बैंकर्स संघका अध्यक्ष तथा नेपाल बंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुगांना भन्छन्, अहिले समग्र क्षेत्रको लागत बैंकहरुको व्याजदरका कारणले नै बढेको अवस्थालाई मध्यनजर गर्दै कर्जा व्याजदरको प्रिमियम घटाउन पहल गर्ने कुरामा सबै बैंकहरु सकरात्मक बनेका हुन् ।
ढुगांनाका अनुसार बैंकहरुका बिचमा निक्षेप व्याजदरको शीर्ष विन्दुमा बढीमा ४ प्रतिशतसम्ममा मात्र कर्जा प्रवाह गर्न पहल गर्ने सम्बन्धमा बैंकहरु सकारात्मक बनेका हुन् । 'अहिले तरलताको भन्दा लगानीयोग्य रकमको मात्र समस्या हो । त्यसलाई मिलाउँदा बैंकहरुको व्यवसायमा केही असर परे पनि निक्षेपको व्याजदरभन्दा तीन चार प्रतिशत धेरैमा मात्र कर्जा परिचालन गर्न बैंकहरु सहमत भएका छन् । तर नतिजा यस्तै हुन्छ भन्न सक्ने अवस्था छैन । बैंकहरुको आ आफ्नै समस्या भएकाले के हुन्छ केही दिन पछि थाहा हुन्छ ।' ढुगांनाले भने ।
उनका अनुसार अब कर्जाको व्याजदर घट्ने विषय चासोमा रहे पनि अहिलेको विन्दुबाट व्याजदर बढ्ने छैन । व्यवहारिक रुपमा भने यो सम्झौताको कस्तो असर पर्छ केही दिनमा सेवाग्राहीले अनुभव लिने छन् ।