असारको शुरुवातदेखि नै बैंकमा भीड लागेको हो । स्थानीय तहमार्फत सञ्चालित योजनाको भुक्तानी लिनेको भीड वाणिज्य बैंकमा लाग्ने गरेको छ ।
बैंकमा दिनभर लाइन लागेपछि मात्रै पालो आउने गरेको सेवाग्राहीले बताएका छन् । बैंकिङ्ग कारोवारकै लागि सदरमुकाम आउनुभएका दोगडाकेदार गाउँपालिकाका भुपेन्द्र भण्डारी ग्लोबल बैंक स्थापना भएपनि सबै कारोवार वाणिज्य बैंक मार्फत हुने गरेको बताउँछन् ।
गत वर्ष साउनमै स्थानीय तहमा बैंक स्थापना हुने भनिए पनि केही स्थानीय तहमा अझै पनि बैंक स्थापना भएको छैन । सदरमुकाममा अन्य बेला सुनसान भए पनि असार शुरु भएदेखि निकै भीड बढेको छ । बैंकबाट भुक्तानी लिनेको सदरमुकाममा भीड बढ्दा कारोवार बढेको स्थानीय व्यापारी विनोदबहादुर चन्दले बताए ।
जेठमै सम्पन्न भएका योजनाको भुक्तानी दिन ढिलाइ हुँदा असारमा उपभोक्ताको भीडभाड बढेको हो । स्थानीय तहमा बैंकिङ्ग सुविधा नहुँदा जनप्रतिनिधि, कर्मचारी तथा सर्वसाधारण बैंकिङ्ग कारोबारका लागि सदरमुकाम धाउन बाध्य छन् ।