निर्यातको तुलनामा आयातमा भएको उल्लेख्य वृद्धिका कारण आर्थिक वर्ष २०७४÷७५ को एघार महिनामा कुल गार्हस्थ्य उत्पादनको ३४.४ प्रतिशत व्यापार घाटा पुगेको हो ।
यस अवधिमा नेपाली कामदारले पठाएको विप्रेषण आप्रवाह ७ दशमलब ३ प्रतिशतले वृद्धि भएको छ । विप्रेषण आप्रवाहको सामान्य वृद्धि भएपनि चुलिँदो व्यापार घाटाले चालू खाता घाटा उच्च हुन गएको हो ।
आव २०७३÷७४ मा ८२ अर्ब ११ करोड रुपैयाँले शोधनान्तर बचतमा रहेको स्थिति आव २०७४/७५ को एघार महिनामा चार अर्ब ३४ करोडले घाटामा रहेको राष्ट्र बैंकले जनाएको छ ।
बैंकिङ्ग क्षेत्रसँग नौ महिनाभन्दा बढीको वस्तु तथा सेवा आयात धान्नका लागि पर्याप्त विदेशी विनिमय सञ्चिति रहेको जनाइएको छ ।
वि.स. २०७४ असार मसान्तको तुलनामा २०७५ असार २६ गतेसम्ममा नेपाली रूपैयाँ अमेरिकी डलरसँग ६.२ प्रतिशतले अवमूल्यन भई विनिमयदर १०९ रुपैयाँ ६४ पैसा कायम भएको छ । आव २०७३÷७४ मा भने नेपाली रुपैयाँ अमेरिकी डलरसँग ३.८ प्रतिशतले अधिमूल्यन भएको राष्ट्र बैंकले जनाएको छ ।
आव २०७३÷७४ यता मुलुकको आर्थिक वृद्धिले लय समातेको उल्लेख गर्दै गभर्नर डा. नेपालले आव २०७३÷७४ मा आर्थिक वृद्धिदर ७.४ प्रतिशत रहेकामा आर्थिक वर्ष २०७४/७५ मा त्यस्तो वृद्धिदर ५.९ प्रतिशत रहने अनुमान गरिएको जानकारी दिए ।
आव २०७४÷७५ को शुरुमा तराईमा आएको बाढीका कारण कृषि क्षेत्रको वृद्धिदर २.८ प्रतिशत रहेतापनि उद्योग क्षेत्रको वृद्धिदर ८.८ प्रतिशत र सेवा क्षेत्रको वृद्धिदर ६.६ प्रतिशत भएबाट आव २०७४÷७५ मा उत्साहजनक आर्थिक वृद्धि हासिल भएको हो ।
आर्थिक वृद्धिमा आएको सुधारसँगै नेपाली अर्थतन्त्रको आकार ३० खर्ब सात अर्ब रुपैयाँ पुगेको छ । विगत दुई वर्षयता कुल गार्हस्थ्य बचतको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपातमा वृद्धि हुँदै आएको राष्ट्र बैंकले जनाएको छ ।
विप्रेषण आप्रवाहका कारण आव २०७४/७५ मा कूल राष्ट्रिय बचतको कूल गार्हस्थ्य उत्पादनसँगको अनुपात ४३.९ प्रतिशत रहेको छ । कुल पूँजी निर्माण अनुपातमा विस्तार आई ५१.८ प्रतिशत पुगेको र स्रोत अपर्याप्तता कुल गार्हस्थ्य उत्पादनको ७.८ प्रतिशत रहने देखिएको छ ।