मौद्रिक नीति आएपछि सेयर बजारले गति लिन्छ भन्ने लगानीकर्ताको अनुमान बिहीबारको बजारले गलत सावित गरेको छ । बिहीबार सेयर बजार परिसूचक नेप्से १३.६६ अंकले घटेर ११९१.९८ अंकमा अडिएको छ ।
१.१३ प्रतिशतले झरेको बजारमा १६३ कम्पनीहरुको १६ लाख २० हजार ८८० कित्ता सेयर ४५ करोड ४४ लाख रुपैयाँमा खरिद बिक्री भएका छन् । बुधबारको तुलनामा कारोबार रकम समेत दुई करोडले घटेको छ ।
कारोबारमा आएका दश उपसमूहमा उत्पादन बाहेक बाँकी सबै समूहमा गिरावट आएको छ । उत्पादको सूचक २.८ अंकले बढ्दा बीमा समूहको सूचक सबै भन्दा धेरै १०७.५८ अंकले घटेको छ । माईक्रोफाइनान्स ३६.०६ अंक, होटल ३७.६५ अंक, विकास बैंक १८.८३ अंक, बैंकिङ्ग १०.३१ अंकले घटेका छन् । फाइनान्स, व्यापार र अन्य समूहको नेप्से सूचक सामान्य घटेको छ ।
बिहीबार लक्ष्मी बैंकको सबैभन्दा धेरै ६ करोड ५१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कुमारी बैंक संस्थापक सेयर चार करोड ३६ लाख रुपैयाँको कारोबार हुँदा एनएमबि माईक्रोफाइनान्स, कुमारी बैंक, जनता बैंक संस्थापक र नेपाल लाईफको एक करोड बढीको सेयर खरिद बिक्री भएको छ ।
कञ्चन डेभलपमेण्ट बैकका सेयरधनीले ८.५१ प्रतिशले कमाएका छन् । सर्पोट माईक्रोफाइनान्स, नेपाल हाइड्रो डेभलपर र एनएमबि माइक्रोफाइनान्सको सेयरमूल्य ६ प्रतिशत बढीले बढेको छ ।
यता नागबेली लघुवित्तको सेयरमूल्य ६.७ प्रतिशतले घटेको छ । किसान माईक्रोफाइनान्स, राधि विधुत, विजय लघुवित्त, एनएलजी इन्स्योरेन्स, नेशनल माईक्रोफाइनान्स, एनसीसी बैंक, वोमी र मिर्मिरे माइक्रोफाइनान्सको सेयर मूल्य ५ प्रतिशत बढीले घटेको हो ।