बैंकले लिलामीमा राखेको साधारणतर्फको ६ लाख ३२ हजार २८२ कित्ता सेयरका लागि कूल दुई हजार ५ सय ८८ वटा आवेदन परेको थियो । आवेदन परेको सबै आवेदन खुला गरिसकिएको क्यापिटलले जनाएको छ ।
न्यूनतम एक सय रुपैयाँ तोकिएको शेयरका लागि अधिकतम अधिकतम १८९ रुपैयाँसम्मको बोलपत्र परेको थियो । लिलामीको शेयरमा धेरैजसो आवेदकले १५० देखि १६५ रूपैयाँ बीचमा बोलपत्र पेश गरेका थिए । तर सबै आवेदन खोल्दा प्रतिकित्ता १७५ रुपैयाँ भन्दा बढी आवेदन गर्नेले शेयर पाउने प्रारम्भिक नतिजाले देखाएको क्यापिटलको भनाई छ ।
आइतबारको सेयर बजारमा कुमारी बैंकको अन्तिम कारोबार प्रतिकित्ता १९८ रुपैयाँमा भएको छ ।
पाँच लाख एक हजार ९२१ कित्ता संस्थापक सेयरका लागि ३६ वटा आवेदन परेको छ । संस्थापकको बोलपत्र खुला गर्न बाँकी रहेको छ ।
बैंकले गत बैशाख २८ गतेदेखि चुक्ता पूँजीको २० प्रतिशत अर्थात १ करोड १९ लाख ३८ हजार ९९१ कित्ता हकप्रद बिक्रीमा ल्याएको थियो । सोही हकप्रदमा अवितरित भएको सेयरको अहिले बोलपत्र खुला भइरहेको हो ।
लिलामी बाँडफाँडपछि बैंकको चुक्ता पूँजी ७ अर्ब १६ करोड रुपैयाँ पुग्नेछ । राष्ट्र बैंकले तोकेको न्यूनतम आठ अर्ब चुक्ता पूँजी पुर्याउने क्रममा बैंकले अझै ८३ करोड ६६ लाख रुपैयाँ आवश्यक पर्छ। सो रकम बैंकले बोनस मार्फत कायम गर्ने योजना राष्ट्र बैंकमा पेश गरिसकेको छ ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा कुमारी बैंकले ७० करोड ५६ लाख ७६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी १५ रुपैयाँ ७६ पैसा रहेको यस बैंकको प्रतिसेयर नेटवर्थ १४७ रुपैयाँ ११ पैसा छ ।