कारोबार रकम र नेप्से सूचक दुवैमा गिरावट आइरहँदा लगानीकर्ता निरुत्साहित देखिएका छन् ।
अर्कातर्फ नेप्सेको साइटमा प्राविधिक समस्या आउँदा ब्रोकर कार्यालय नपुगि कारोबारमा सहभागि हुने लगानीकर्ताले बजारका सूचनाहरु हेर्न नपाउँदा कारोबार समेत प्रभावित हुन पुग्यो । जसले गर्दा पहिलो डेढ घण्टाको अवधिमा तीन करोड बराबरको मात्र कारोबार भएको थियो ।
बजार खुलेको लगभग दुई घण्टापछि नेप्सेको साइट सुचारु भए पश्चात मात्र कारोबारले केहि गति लिएको थियो । तर यो अघिल्ला दिनहरुको भन्दा कम काराेबार भएकाे छ ।
साउन १ गतेदेखि अनलार्इन कारोबार प्रणालीको परीक्षण सुचारु गरिएको भनिए पनि सबै ब्रोकर कार्यालय मार्फत अनलाइनको परीक्षण हुन सकेको छैन । यो प्रणालीका बिषयमा पनि धेरैजसो लगानीकर्ता अझै अनभिज्ञ देखिन्छन् ।
बुधबारको नेप्से ५.५४ अंकले ओरालो लागेर ११९८.७७ अंकमा झरेको छ । कारोबार खुल्नासाथ नेप्सेको वेवसाइटमा प्राविधिक समस्या आएपछि बजार समेत प्रभावित भएकाे हाे ।
दिनभरको बजारमा कुल १३९ कम्पनीको १७ करोड ५३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सो मध्ये सबैभन्दा बढी नबिल बैंकको २ करोड ५६ लाख रुपैयाँ बराबरको कारोबार भयो ।
बुधबारको बजारमा फाइनान्स र होटल समूह बाहेक बाँकी सबै समूह राताम्मे रहे । फाइनान्स समूह ०.७६ अंकले बढेको छ भने होटल समूह स्थिर रहेको छ । सबैभन्दा बढी जीवन बीमा समूहको सूचक ६७ अंकले ओरालो लागेको छ ।
बजारमा सबैभन्दा बढी नेशनल हाइड्रो पावर कम्पनीको सेयर मूल्य ४.७१ प्रतिशतले बढेको छ भने नयाँ नेपाल लघुवित्त विकास बैंकको सेयर मूल्य सबैभन्दा धेरै ६.६७ प्रतिशतले घटेको छ ।