राष्ट्र बैंकले वित्तीय प्रणालीमा देखा परेको अधिक तरलता व्यवस्थापन गर्न साउन एक गतेदेखी ८ गतेसम्म ६ पटक गरेर ६२ अर्ब रुपैयाँ निक्षेप संकलन उपकरण मार्फत खिचेको हो । यसबीचमा राष्ट्र बैंकले ८५ अर्ब रुपैयाँ बजारबाट उठाउने लक्ष्य राखेको थियो ।
राष्ट्र बैंकले ८५ अर्ब बजारबाट तान्न खोज्दा बैंक तथा वित्तीय संस्थाहरुले भने एक खर्ब ३५ अर्ब रुपैयाँ राष्ट्र बैंकको निक्षेप संकलन उपकरणमा राख्न तयार रहेका थिए ।
तर प्रस्तावित ब्याजदर नमिलेपछि राष्ट्र बैंकले ६२ अर्ब मात्र स्वीकार गरेको छ । राष्ट्र बैंकले ६ दिनमा दुईपटक ९० दिने, तीन पटक ६० दिने र एक पटक ३० दिने निक्षेप संकलन उपकरणमार्फत उक्त रकम संकलन गरेको हो।
आर्थिक बर्षको अन्त्यमा सरकारी खर्च बढेर बैंकिङ प्रणालीमा अधिक तरलताको अवस्था आएको हो । साथै केन्द्रीय बैंकले तरलता सहज पार्न सीआरआर (क्यास रिजर्भ रेसियो) मा सहजीकरण गरेपछि बैंकहरुमा ४८ अर्ब तरलता थपिएको थियो ।
राष्ट्र बैंकले मौद्रिक नीति मार्फत सबै बैंक तथा वित्तीय संस्थाको सीआरआर ४ प्रतिशतमात्र कायम गरेको छ । सीआरआरमा गरिएको कटौतीबाट थप तरलता बढेको हो ।
बैंकिङ प्रणालीमा अझै अधिक तरलता रहेको छ । जसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले बुधबार थप २० अर्ब रुपैयाँ बैंक तथा वित्तीय संस्थाबाट उठाउने भएको छ ।