वित्तीय विवरण प्रकाशनमा किन भैरहेको छ ढिलाई ? राष्ट्र बैंकको आयो यस्तो निर्देशन

Jul 30, 2018 Merolagani

गत आर्थिक बर्ष समाप्त भएको दुई साता बितिसकेको छ । यस अवधिमा जम्मा २ वटा वाणिज्य बैंक र केही साना कम्पनीहरुको मात्र गत बर्षको वित्तीय विवरण प्रकाशित भएको छ।वाणिज्य बैंकहरुले वित्तीय विवरण प्रकाशनमा ढिलाई गरेपछि सेयर बजारका लगानीकर्तामा अन्यौलसँगै कौतुहलता समेत बढेको छ ।

राष्ट्र बैंकको निर्देशन अनुरुप अनिवार्य रुपमा नेपाल फाइनान्सियल रिपोर्टिङ स्टान्डर्ड (एनएफआरएस) अनुरुप वित्तीय विवरण बनाउनुपर्ने भएपछि बैंक तथा वित्तीय संस्थाले गत आर्थिक बर्षको वित्तीय प्रकाशनमा ढिलाई गरेका हुन् । 

राष्ट्र बैंकका प्रवक्ता नारायण प्रसाद पौडेलले बैंकहरुले सम्पूर्ण शाखाहरुको कारोबार समावेश गरि वास्तविक वित्तीय विवरण प्रकाशित गर्नुपर्ने तथा एनएफआरएस नयाँ पद्धती र व्यवस्था भएका कारण बैंकर्स संघको अनुरोधमा सोमबार परिपत्र मार्फत थप १५ दिन समय प्रदान गरिएको मेरोलगानीलाई बताए ।

साबिकको व्यवस्था भन्दा फरक ढाँचामा त्रैमास सकिएकाे १५ दिनभित्रमा विवरण प्रकाशित गर्न सम्भव नभएपछि बैंकर्स संघले समयावधि थप गर्न राष्ट्र बैंकमा अनुरोध गरेको थियो । सो अनुरोध अनुसार केन्द्रीय बैंकले समय थपेको हो ।

 

समय थपिसँगै अब बैंकहरूले साउन मसान्तभित्र प्रकाशित गरे हुने भएकाे छ । यसअघि वित्तीय विवरण प्रकाशित गरेका सिटिजन्स् र नेपाल बैंकले पनि पुन: एनएफआरएस ढाँचामा नै विवरण प्रकाशित गर्नुपर्ने राष्ट्र बैंकले जनाएकाे छ ।

यसअघि राष्ट्र बैंकको व्यवस्थामा हरेक त्रैमास समाप्त भएको १५ दिनभित्रै राष्ट्रिय स्तरको दैनिक पत्रिकामा वित्तीय विवरण प्रकाशित गरि सो काे एक/एक प्रति नियमन विभाग र सम्बन्धित सुरपरिवेक्षण विभागमा बुझाउनुपर्ने व्यवस्था रहेको थियो । 

नेपाल राष्ट्र बैंकले गत मंसिर १४ गते निर्देशन जारी गर्दै बैंकहरुले प्रकाशन गर्ने वित्तीय विवरणमा एनएफआरएस मापदण्ड अनुसार प्रकाशन गर्न भनेको थियो । पहिलो चरणमा आर्थिक वर्ष २०७४/७५ देखि ‘क’ वर्गका वाणिज्य बैंकहरुमा एनएफआरएस लागू गरिएको हो । यसपछि विकास बैंक र फाइनान्स कम्पनीमा पनि याे मापदण्ड लागू हुने केन्द्रीय बैंकले जनाएकाे छ ।

सार्क मुलुकहरूमा अहिले श्रीलंकाले एनएफआरएस मापदण्ड अनुसारको वित्तीय विवरण प्रकाशित गर्दे आएको छ । यो पद्धतीअनुसार वित्तीय विवरण तयार पर्दा विश्वले नै बुझ्नसक्ने भएकाले अन्तर्राष्ट्रिय मान्यतालाई नेपालले पनि अवलम्बन गरेको हो ।

एनएफआरएस पद्धतीमा यस्ता छन् व्यवस्था 

केन्द्रीय बैंकले लागू गरेको यस मापदण्ड अनुसार लाभांश स्वीकृतिको प्रयोजनको लागि बैंकले कायम गर्नुपर्ने कर्जा नोक्सानी व्यवस्था (प्रोभिजनिङ) र अन्य व्यवस्थाहरु कायम गरि लेखाङ्कन सम्बन्धी अन्य प्रावधान बमोजिम नाफा/नोक्सान गणना गर्नुपर्ने हुन्छ ।

यसरी बैंकहरुले तयार पारेको एनएफआरएस विवरण र राष्ट्र बैंकको निर्देशनपछि कायम हुने नाफा/नोक्सानमा फरक पर्न गएमा त्यस्तो फरफारक रकम टिप्पणी मार्फत खुलाउनु पर्छ । यसरी फरक पर्ने रकमलाई टिप्पणी मार्फत खुलाएर सञ्चित मुनाफा खाता खर्च गरी नियमानकारी कोषमा व्यवस्था गर्नुपर्ने हुन्छ ।

नियमनकारी कोषमा जम्मा भएको तथा खर्च भएको रकम सहित कोषमा भएको परिवर्तनको खुलासा बैंकहरुले आफ्नो वित्तीय विवरणको लेखा सम्बन्धि टिप्पणीमा उतार्नुपर्छ । बैंकहरुले नियमनकारी कोषमा जम्मा भएको रकमलाई आफ्नो वित्तीय विवरण प्रकाशित गर्दा पूँजी कोष अनुपातमा गणना गर्न भने पाउँदैनन् ।

बैंकहरुले गत बर्ष २०७४/७५ को चौथो त्रैमासिक विवरण नियमनकारी प्रावधान तथा एनएफआरएस बमोजिम दुबै ढाँचामा प्रकाशित गर्नुपर्छ । यसपछि भने त्रैमासिक रुपमा एनएफआरएस बमोजिम प्रकाशित गरे पुग्छ ।

एनएफआरएस अन्तर्गत वित्तीय विवरण प्रकाशित गर्दा फाइनान्सियल र इन्भेष्टमेन्ट सम्पत्तिलाई फेयर भ्यालुमा लेखाङ्ककन गर्नुपर्ने व्यवस्था छ । फेयर भ्यालूमा परिवर्तन भएको रकम कतिपय अवस्थामा नाफा नोक्सानमा समावेश नगरि जगेडा खडा गरि राख्नुपर्ने हुँदा यसको कारण सिर्जना भएको जगेडालाई पनि पूँजी कोषमा गणना गर्न नपाइने व्यवस्था रहेको छ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।