नेपाल बैंकको ४७ प्रतिशत एफपिओ बिकेन, सञ्चालक र संस्थापकलाई खुल्ने

Jul 30, 2018 Merolagani

गत असार १५ देखि साउन १३ गतेसम्ममा नेपाल बैंक (NBL) को एफपिओ कूल ५३ प्रतिशत मात्र बिक्री भएको छ । निर्धारित समयमा सबै सेयर नबिकेपछि बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले नेपाल बैंकको सञ्चालक, संस्थापक सेयरधनी, र तिनका परिवारका सदस्यका लागि मंगलबारबाट खुला गर्ने भएको छ ।

धितोपत्र बोर्डको व्यवस्था अनुसार निर्धारित समयभित्र सेयर बिक्री नभएको खण्डमा म्याद थप गरेर एफपिओ निष्काशन भएकै कम्पनीको सञ्चालक, संस्थापक सेयरधनी, र तिनीहरुको परिवारका सदस्यका लागि खुला गर्न सकिने व्यवस्था छ । 

सोही व्यवस्था अनुसार बिक्री प्रबन्धकले नेपाल बैंक व्यवस्थापनसँग सल्लाह गरेर केही दिनका लागि बैंकको संस्थापक, सञ्चालक र तिनका परिवारका लागि मंगलबारदेखि खुला गर्ने भएकाे हाे ।

बैंकमा सरकारको मात्र संस्थापक सेयरमा लगानी रहेको छ भने बाँकी सबै साधारण सेयर रहेको छ ।सरकारको स्वामित्व घटाउनका लागि एफपिओ निष्काशन गरेको बैंकले नै भोलिबाट खुल्ने एफपिओमा सरकारले नै लगानी बढाएमा एफपिओबाट सरकारकाे स्वामित्व ५१ प्रतिशतमा झार्ने उदेश्य नै फेल खानेछ भने बैंकमा सरकारको स्वामित्व ५१ प्रतिशत भन्दा बढ्नेछ ।

सिद्धार्थ क्यापिटका मर्चेन्ट बैंकिङ्ग प्रमुख सुजनबाबु अधिकारीले सोमबार बेलुकासम्म कर्मचारी सञ्चय कोषको एक अर्ब सहित २३ हजार ६२१ आवेदनबाट दुई अर्ब ६१ करोड ८० लाख ७० हजार रुपैयाँ बराबरको आवेदन परेको मेरोलगानीलाई जानकारी दिए । यो ९३ लाख ५० हजार २५० कित्ता बराबर हो ।

प्रतिकित्ता २८० रुपैयाँ दरले एक करोड ७६ लाख ८४ हजार ८५८ कित्ता एफपिओ निष्काशन गरेको बैंकको अझै ८३ लाख ३४ हजार ६०० कित्ता अर्थात दुई अर्ब ३३ करोड ३६ लाख रुपैयाँ बढीको सेयर बिक्री हुन बाँकी छ ।

संस्थापक सेयरधनी नेपाल सरकार, सञ्चालक र तिनका परिवारलाई बिक्री पश्चात बाँकी रहेकाे सेयर एफपिओमा प्रत्याभूति गरेका ८ मर्चेन्ट बैंकले सर्कानुपर्ने हुन्छ ।

कुन मर्चेन्ट बैंकले कति गरेका छन् प्रत्याभूति ?

धिताेपत्र बाेर्डकाे व्यवस्था बमाेजिम ८ मर्चेन्ट बैंकले नेपाल बैंककाे एफपिओमा शतप्रतिशत प्रत्याभुति गरेका छन् । साेही अनुरूप सीबिआईएल क्यापिटलले सबैभन्दा धेरै एक अर्ब १५ करोड ३८ लाख रुपैयाँको प्रत्याभुति गरेको छ ।

त्यसैगरि ग्लोबल आईएमई क्यापिटलले एक अर्ब १३ करोड ४० लाख, एनआईबिएल एस क्यापिटलले ८९ करोड ९७ लाख, सिभिल क्यापिटलले ४५ करोडको प्रत्याभूति गरेका छन् ।

यस्तै लक्ष्मी क्यापिटल मार्केट्सले ४५ करोड, सनराइज क्यापिटलले ३६ करोड, सानिमा क्यापिटलले २७ करोड र नेपाल एसबीआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडले २३ करोड ४० लाख रुपैयाँ बराबरको एफपिओ प्रत्याभूति गरेका हुन् ।

यसरी बिक्री हुन बाँकी रहेकाे एफपिअाे ८ मर्चेन्ट बैंकले प्रत्याभूतिकाे रकमकाे अनुपातमा समानुपातिक रूपमा सकार्नेछन् ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।