मंगलबारदेखि खुला भएको एफपिओमा बैंकका संस्थापक, सञ्चालक, कार्यकारी प्रमुख, लेखापरीक्षक, कम्पनी सचिव वा बैंकको ब्यवस्थापन तथा लेखासम्बन्धी कार्यमा प्रत्यक्ष रुपमा संलग्न ब्यक्तिहरुले मात्र आवेदन गर्न पाउने सेयर बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ । उनिहरुले साउन १७ गते बिहीबारसम्म आवेदन गर्न पाउनेछन् ।
मंगलबार खुलेकाे एफपिओमा आम सर्वसाधारण र संस्थागत लगानीकर्ताले भने आवेदन गर्न पाउने छैनन् ।
धितोपत्र बोर्डको व्यवस्था अनुसार निर्धारित समयभित्र सेयर बिक्री नभएको खण्डमा म्याद थप गरेर एफपिओ निष्काशन भएकै कम्पनीको सञ्चालक, संस्थापक सेयरधनी, र तिनीहरुको परिवारका सदस्यका लागि खुला गर्न सकिने व्यवस्था छ ।
नेपाल बैंकले बिक्रीमा ल्याएको एक करोड ७६ लाख ८४ हजार ८५८ कित्ता एफपिओमध्ये कर्मचारी संचय कोषले आवेदन गरेको एक अर्ब रुपैयाँ सहित एक महिनामा दुई अर्ब ६१ करोड ८० लाख रुपैयाँ बराबरको ९३ लाख ५० हजार कित्ता सेयर बिक्री भएको छ । बैंकको अझै दुई अर्ब ३३ करोड बराबरको ८३ लाख ३४ हजार ६०० कित्ता सेयर बिक्री हुन बाँकी रहेको छ ।
बैंकको संस्थापक शेयरधनी रहेको नेपाल सरकार रहेकोले बाँकी रहेको शेयर खरिद गरेमा सरकारको बैंकमा स्वामित्व ५१ प्रतिशतभन्दा बढ्नेछ । जुन एफपिअाे निष्काशन गरेर सरकारकाे स्वामित्व घटाउने उदेश्य विपरित देखिन्छ ।
कार्यकारी प्रमुख, सञ्चालक र ब्यवस्थापन तथा लेखासम्बन्धी कार्यमा प्रत्यक्षरुपमा संलग्न ब्यक्तिहरुले तीन दिन खरिद गर्न पाउनेछन् । यसरी बिक्री गर्दा समेत अवितरित सेयर भने एफपिओमा प्रत्याभुती गरेका आठ वटा मर्चन्ट बैंकले सकार्नुपर्ने हुन्छ ।
कुन मर्चेन्ट बैंकले कति गरेका छन् प्रत्याभूति ?
धिताेपत्र बाेर्डकाे व्यवस्था बमाेजिम ८ मर्चेन्ट बैंकले नेपाल बैंककाे एफपिओमा शतप्रतिशत प्रत्याभुति गरेका छन् । साेही अनुरूप सीबिआईएल क्यापिटलले सबैभन्दा धेरै एक अर्ब १५ करोड ३८ लाख रुपैयाँको प्रत्याभुति गरेको छ ।
त्यसैगरि ग्लोबल आईएमई क्यापिटलले एक अर्ब १३ करोड ४० लाख, एनआईबिएल एस क्यापिटलले ८९ करोड ९७ लाख, सिभिल क्यापिटलले ४५ करोडको प्रत्याभूति गरेका छन् ।
यस्तै लक्ष्मी क्यापिटल मार्केट्सले ४५ करोड, सनराइज क्यापिटलले ३६ करोड, सानिमा क्यापिटलले २७ करोड र नेपाल एसबीआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडले २३ करोड ४० लाख रुपैयाँ बराबरको एफपिओ प्रत्याभूति गरेका हुन् ।
यसरी बिक्री हुन बाँकी रहेकाे एफपिअाे ८ मर्चेन्ट बैंकले प्रत्याभूतिकाे रकमकाे अनुपातमा समानुपातिक रूपमा सकार्नेछन् ।