माथिल्लो तामाकोशीको लागत प्रति मेगावाट पाँच करोड बढ्ने, सस्ताे अायाेजना यसरी हुँदैछ महङ्गो

Aug 01, 2018 Merolagani

-तीर्थराज पौड्याल । 
स्वदेशी लगानीमा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना तामाकोशी जलविद्युत आयोजनाको लागत निर्माण अवधि लम्बिएसँगै प्रतिमेगावाट पाँच करोड रूपैयाँले बढ्ने भएको छ । २०६६ सालमा निर्माण सुरु गर्दा प्रतिमेगावाट ९ करोड रुपैयाँ लागत अनुमान गरिए पनि निर्माण सम्पन्न हुँदा १४ करोड २५ लाख माथि पुग्ने देखिएको हो ।

आर्थिक बर्ष २०७२ असार मसान्तमा नै आयोजना सम्पन्न गर्ने मिति निर्धारण गरिएको थियो । तर आयोजनामा देखिएको अनेकौं समस्या र पछिल्लो समय ठेकेदार कम्पनीले काम नगर्दा बहुप्रतिक्षित जलविद्युत आयोजना सम्पन्न हुने मिति सर्दै गएको छ ।

निर्माण अवधि बढेसँगै सस्तो मानिएको राष्ट्रिय गौरवको यो आयोजना पनि अन्य जलविद्युत आयोजना सरह महङ्गो हुने भएको छ । अहिले १४ कराेड प्रतिमेगावाटमा अन्य अायाेजना पनि निर्माण  भैरहेका छन् ।

४५६ मेगावाट क्षमताको यो आयोजनाको लागत सुरुमा ब्याज बाहेक ३५ अर्ब २९ करोड अनुमान गरिएको थियो । डलर र यूरोमा गरिएको सम्झौता निर्माण अवधि लम्बिँदा विदेशी विनिमय दरमा भएकाे नोक्सानी, मूल्य समायोजन, ब्याज, र प्रशासनिक खर्चपछि  ब्याज बाहेक ४९ अर्ब २९ करोड लागत पुग्ने तामाकोशी हाइड्रोपावर लिमिटेडको दशौं वाषिर्क प्रतिवेदनमा उल्लेख छ । ब्याज सहित गणना गर्दा निर्माण सम्पन्न हुँदा आयोजनाको लागत ६५ अर्ब माथि पुग्ने देखिन्छ ।

आयोजना सम्पन्न हुने समयावधिबारे मेरोलगानीले सोधेको प्रश्नमा माथिल्लो तामाकोशी हाइड्रो पावरका प्रमुख कार्यकारी अधिकृत विज्ञान श्रेष्ठले भने, "हामीले आयोजनामा लाग्ने संसोधित लागत अनुमान यसअघि नै सार्वजनिक गरिसकेका छौं । अायाेजना सम्पन्न हुने समयावधिलाई हिसाब गरेर नै लागत सार्वजनिक गरिएको छ, त्यहि लागतमा आयोजना सम्पन्न हुन्छ । हाईड्रोमेकानिकल कार्यमा देखिएको बिलम्बले आयोजना फागुन चैतसम्ममा  निर्माण हुन्छ ।"

 

आयोजनाकाे निर्माण ९६ प्रतिशत पूरा भईसकेको छ । यसअघि वैकल्पिक उपायको खोजी गरेर मंसिरमा सम्पन्न गरि पुसदेखि विद्युत बाल्ने उद्घोष आयोजना प्रमुखले गरेका थिए । अहिले एक बर्षअघि बोलेको कुरा भन्दै अायाेजना प्रमुख पन्छिन खाेज्नुले बैशाखसम्ममा पनि आयोजनाकाे निर्माण पूरा हुने छाँटकाट देखिँदैन । बैशाख सम्ममा पनि निर्माण पूरा नभएकाे अवस्थामा आयोजनाकाे लागत अझै बढ्ने निश्चित छ ।

कहिले भुकम्प, कहिले नाकाबन्दी त कहिले ठेकेदारको आन्दोलनकाे कारण देखाउँदै आयोजना लम्बिदाँ धेरै मानिसको आकर्षण विकर्षण पैदा हुने अवस्था आएको छ । काम नगर्ने ठेकेदारलाई कारवाही गरेर जतिसक्दो छिटो आयोजना सम्पन्न गर्न प्रमुख कार्यकारी अधिकृतले पहलकदमी लिन आवश्यक देखिन्छ, न कि आयोजनाको समय लम्बाउँदै जानु ।

ब्लू चिप कम्पनीको रुपमा हेरिएको कम्पनीको सेयर नै घाटामा

आयोजनाको विद्युत प्राधिकरण, कर्मचारी सञ्चय कोष, नेपाल टेलिकम, नागरिक लगानी कोष र राष्ट्रिय बीमा संस्थानले लगानी गर्ने गरि निमार्ण थालिएको थियो ।

बाँकी रकम स्व पूँजीतर्फ सर्वसाधारण र स्थानीबासीको सेयर र अपुग रकम ऋणबाट निमार्ण हुनेगरि संरचना तयार गरिएको थियो । तर लागत झण्डै दोब्बरले बढ्दा आयोजनाको सेयरमा लगानी गर्नेहरु नाेक्सानीमा गैसकेका छन् ।

कम्पनीले साधारण सेयर निष्काशन गर्न प्रकाशित गरेको वित्तीय विवरण अनुसार अहिले कम्पनीको सेयरमा लगानी गर्ने लगानीकर्ता दुई रुपैयाँ ३० पैसा घाटा व्यहोर्नुपर्ने उल्लेख छ । विवरणका अाधारमा हेर्दा एक सय रुपैयाँ लगानी गर्ने लगानीकर्ताको सेयरको मूल्य ९७ रुपैयाँ ७० पैसामा झरिसकेकाे छ ।

लागत उच्च हुँदा चालू आर्थिक बर्षको अन्त्यसम्म पनि माथिल्लो तामाकोशीको सेयरमा लगानी गर्ने लगानीकर्ताले प्रतिसेयर ३० पैसा घाटा व्यवहोनु पर्नेछ । चालू आवको अन्यसम्म प्रतिसेयर नेटवर्थ ७८ रुपैयाँ ४२ पैसा मात्र कायम हुने प्रक्षेपण कम्पनीको छ ।

आर्थिक बर्ष ७६/७७ मा प्रतिसेयर ३८ रुपैयाँ आम्दानी गर्ने प्रक्षेपण कम्पनीले गरेपनि त्यसपछिका बर्षमा फेरी घटेर २० रुपैयाँमा झर्ने प्रक्षेपण कम्पनीले नै गरेकाे छ । जलविद्युत कम्पनीमा लागत बढ्दा लगानीकर्ताले लामो समय लाभांश खुवाउनसक्ने हैसियत बनाउन सक्दैनन् । माथिल्लो तामाकोशीको हकमा पनि लागत बढ्दा लगानीकर्तामा कम्पनीप्रति आकर्षण घट्ने निश्चित छ ।

आयोजनाकाे सम्झाैता ८० रुपैयाँ प्रतिडलरमा गरिएको थियो । अहिले डलर भाउमा भएको बढोत्तरी, भूकम्प, नाकाबन्दी, निमार्ण ठेकेदारबीचको द्धन्द्ध, निमार्ण समाग्रीको मूल्यवृद्धि, मुख्य सुरुङको डिजाइन संसोधन, हेडवर्कमा सिभिल कार्यको परिणाममा वृद्धि, करका दायरामा आएको वृद्धि लगायत कारणले आयोजनाकाे लागत बढेको कम्पनीले बताएको छ ।

कारण जे देखाइए पनि ब्याज बाहेक ३५ अर्बमा निमार्ण सम्पन्न गर्ने भनिएको यस आयोजनाको निमार्ण समयमा नै सम्पन्न हुन नसकेर लागत दोब्बर पुग्दा आम लगानीकर्तामा सुरुमा निर्धारण गरिएको लागत भ्रमकाे रूपमा प्रस्तुत गरिएकाे  प्रमाणित भएको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।