एफपिओमा कूल ६२ हजार ७८२ वटा आवेदनबाट ६१ लाख पाँच हजार ६३० कित्ता सेयरका लागि आवेदन परेको थियो । त्यसमध्ये ७३ आवेदन रद्ध भएको छ ।
रितिपूर्वक आवेदन परेको ६२ हजार ७०९ जना आवेदक हरुमध्येबाट गोलाप्रथाद्धारा ४६ हजार ३८२ जनालाई १० कित्ताको दरले ४ लाख ६३ हजार ८२० कित्ता बाँडफाँड गरिएको छ । १६ हजार ३२७ जनाकाे हात खाली भएकाे छ ।
यसरि बाँडफाँड गरेर बाँकी रहेको ६ कित्ता सेयर गाेलाप्रथाबाट सेयर पाउन सफल ४६ हजार ३८२ जना आवेदकलाई एउटै समूहमा राखि न्यूनतम १ कित्ताको दरले ६ कित्ता बाँडफाँड गरिएको बिक्री प्रबन्धक ग्लोवल आइएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पारसमणि ढकालले बताए ।
बैंकले निष्काशन गरेको एफपिओ धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ अनुसार प्रत्येक आवेदकलाई १० कित्ताको दरले बाँडफाँड गरिएको हो । सदर भएको कूल आवेदकमध्ये ७३.९६ प्रतिशतले एफपिओ पाएका छन् भने २६.०४ प्रतिशत आवेदकले प्राप्त गर्न सकेनन् ।
सिटिजन्स बैंकले साउन १५ देखि १८ गतेसम्म एक सय रुपैयाँ अंकित मूल्यमा एक सय रुपैयाँ नै प्रिमियम थपेर प्रतिकित्ता २०० रुपैयाँका दरले ४ लाख ६३ हजार ८२६ कित्ता एफपिओ निष्काशन गरेको थियो । कूल ९ करोड २७ लाख ६५ हजार २०० रुपैयाँको एफपिओ निष्काशन भएकोमा १३.१६ गुणा बढी अर्थात एक अर्ब २२ करोड ११ लाख २६ हजार रुपैयाँको आवेदन परेको थियो ।
बैंकले संस्थापक साधारण सेयर अनुपात ५१:४९ कायम गर्न एफपिओ निष्काशन गरेको थियो । हाल बैंकमा संस्थापकको ५१।२९ प्रतिशत तथा साधारण सेयरको ४८।७१ प्रतिशत सेयर अनुपात रहेको छ । एफपिओपछि बैंकको चुक्ता पूँजीमा ४ करोड ६३ लाख रुपैयाँ थपिनेछ भने त्यति नै रकम जगेडा कोषमा जम्मा हुनेछ ।
एनएफआर प्रणाली अनुसार बैंकले गत आर्थिक बर्षमा एक अर्ब २७ करोड ३४ लाख रूपैयाँ खुद नाफा गरेर प्रतिसेयर आम्दानी वार्षिक १५ रुपैयाँ ८६ पैसा कायम गरेको छ । बैंकको लाभांश क्षमता ९६ करोड ४९ लाख बराबरको रहेको वित्तीय विवरणमा उल्लेख छ ।