बोर्डले आस्वा प्रणाली लागू भए पश्चात सबै आवेदकलाई कम्तिमा दश कित्ता वा दशको गुणनमा धितोपत्र बाँडफाँट गर्ने व्यवस्था गरि प्राकृतिक व्यक्तिको सहभागितामा जोड दियो । तर यो निर्देशिका लागू भएको करिब पन्ध्र महिना बितिसक्दा पनि लगानीकर्ताको सेयरमा आवेदन गर्ने प्रवृति भने फेरिन सकेको छैन ।
सेयर बजारको गिरावटले प्रिमियम मूल्यमा निष्काशन हुने एफपिओ बिक्रीमा सुस्तता आउन थाले पनि प्राथमिक निष्काशन (आईपिओमा) भने अझै पनि भीड लाग्ने गरेको छ । हरेक आईपिओमा न्यूनतम १० गुणा भन्दा बढीको आवेदन पर्ने गरेको छ ।
आईपिओमा पर्ने उच्च आवेदनले लगानी गर्ने लगानीकर्ताले आवेदन गर्न पाउने न्यूनतम कित्ता होईन गोलाप्रथाबाट मुस्किलले १० कित्ता सेयर प्राप्त गर्नुपर्ने अवस्था छ । तर लगानीकर्ताले भने आवेदन गर्न पाउने अधिकतम सीमाको कित्तामा नै सेयर आवेदन गर्न छाडेका छैनन् । यसले अझ पनि उनिहरु धितोपत्र बोर्डको धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ बारे जानकारी नभएको देखिन्छ ।
यसरी आवेदन गर्ने अधिकांश लगानीकर्तामा धेरै कित्ता सेयर माग गरेमा आफूलाई गोलाप्रथाबाट सेयर पर्ने विश्वास गरेर अधिकतम कित्ता आवेदन गरेर बैंक खातामा रकम राेक्का गराएर फ्रिज गराइरहेका छन् । जसले आवश्यक्ताभन्दा बढी रकम बैंकमा बिनाकाम फ्रिज हुने गरेको छ ।
निर्देशिकाले गरेको व्यवस्था अनुसार न्यूनतम कित्ता आवेदन गर्ने र अधिकतम कित्ता आवेदन गर्नेले सेयर प्राप्त गर्ने सम्भावना बराबर रहन्छ । त्यसैले यस व्यवस्था अनुसार अब लगानीकर्ताले न्यूनतम आवेदन रकम भन्दाबढी रकम हालेर सेयर आवेदन गर्नु नै बेकार देखिन्छ । सबै आवेदकले कम्तीमा १० कित्ता सेयर पाउने भएपछि १० लाख कित्ता माग्नेले पनि अन्त्यमा पाउने सेयर १० कित्ता नै हो । यस अर्थमा अब पाँच हजार रुपैंयाँभन्दा बढीको सेयर आवेदन नगर्दा हुन्छ ।