नगद लाभांशको डर
गत मंगलबार फस्ट माइक्रोफाइनान्सले सबैभन्दा पहिला गत बर्षको लाभांश घोषणा गर्यो । कम्पनीले १२ प्रतिशत नगद लाभांश घाेषणा गरेकाे थियाे ।
लगानीकर्ताको आशा विपरित लघुवित्तले नगद लाभांश मात्र घोषणा गर्दा कम्पनीको शेयरमूल्यमा निरन्तर गिरावट आएको छ ।
अधिकांश बैंक तथा वित्तीय संस्थाहरुले राष्ट्र बैंकले तोकेको न्यूनतम चूक्ता पूँजी पुर्याईसकेको अवस्थामा फस्ट माइक्रोले जस्तै अन्य कम्पनीले पनि नगद लाभांशलाई प्राथमिकता दिने आँकलन लगानीकर्ताले गर्दा बजार सकारात्मक बन्न नसकेको हो ।
अर्कोतर्फ बजार निरन्तर घट्दा मार्जिन कलको डर पनि लगानीकर्तामा उत्तिकै छ । शेयर आपूर्ति कायमै रहँदा दोस्रो बजारमा माग सृजना हुन सकेको छैन । त्यस्तै प्राथमिक निष्काशनले पनि लगानीकर्ताको ध्यान खिचेको छ । केही बैंकहरुले ब्याजदर परिमार्जनका सूचनाहरु प्रकाशित गरेपनि लगानीकर्ता भने बैंक ब्याजदर घट्नेमा ढुक्क हुन सकेको अवस्था देखिदैन । बैंकरहरुले नै असोज अगाडि ब्याजदर घटाउन नसकिने बताउँदै आएका छन् ।
नेप्से सूचक १६.६९ अंकले घटेर ११६३.९४ विन्दुमा
साताको पहिलो दिन आइतबार नेप्से सूचक १६.६९ अंकले घटेर ११६३.९४ विन्दुमा झरेको छ । १६२ कम्पनीको शेयर किनबेच भएको बजारमा २५ करोड बढीको कारोबार भयो । बजार झरेर शेयरमूल्य सस्तिएको अवस्थामा शेयर खरिदको क्रम केही बढ्दा कारोबार रकममा भने सुधार आएको छ । गत बिहीबार करिब २० करोड बराबरको कारोबार भएको थियो ।
अाइतबार १७ कम्पनीकाे मात्र सेयरमूल्य बढेकाे छ भने बाँकी कम्पनीकाे सेयरमूल्य घटेकाे छ ।
एघार उप समूहको कारोबार भएको बजारमा होटल र व्यापार समूह बाहेक सबै समूहका सूचक नकारात्मक रहे । जीवन बीमा समूहको उप सूचक सबैभन्दा धेरै १९३.३७ अंकले घटेको छ भने निर्जीवनको पनि १०५ अंकले घटेको छ ।
नेपाल लाइफको शेयरमूल्य घटेर उच्च कारोबार
नेपाल लाइफको दश प्रतिशत संस्थापक शेयर साधारणमा परिणत भएपछि यसको शेयरमूल्य घटेर कारोबार भयो । नेपाल लाइफको ३० लाख ७३ हजार कित्ता संस्थापक शेयर साधारणमा रुपान्तरण भएको छ ।
आइतबार नेपाल लाइफको शेयरमूल्य ५.८९ प्रतिशतले घटेर ९१० रुपैयाँमा झरेको छ । अन्तिम पटक नेपाल लाइफको संस्थापक शेयर गत असार ५ गते प्रतिकित्ता ७५७ रुपैयाँकादरले चार हजार कित्ता शेयर किनबेच भएको थियो ।
संस्थापक शेयर भन्दा साधारण शेयरको शेयरमूल्यको अन्तर डेढ सय माथि हुँदा रुपान्तरण भएको शेयर बिक्रीमा आएको आँकलन गरिएको छ । जसले गर्दा कम्पनीको शेयर मूल्य घटेर सबैभन्दा धेरै ३ करोड ७१ लाखको कारोबार भयो ।
त्यस्तै आर्थिक बर्ष ०७३।०७४ को नाफाबाट ३६ प्रतिशत बोनस घोषणा लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालको पनि शेयर मूल्य घटेर कारोबार भएको छ । यसले पनि कम्पनीहरुले प्रदान गरेको लाभांशले लगानीकर्ताको ध्यान तान्न नसकेको देखिन्छ । यो कम्पनीको पनि एक करोड बढीको करोबार भयो ।
तीन कम्पनीका शेयर धनीले दश प्रतिशतले गुमाए
यसदिन आरम्भ माइक्रोफाइनान्स र साल्ट्र टेड्रिङ्गको शेयरमूल्य सबैभन्दा धेरै तीन प्रतिशत बढीले उकालो लागेको छ । मल्टीपर्पोज फाइनान्सका लगानीकर्ताले दश प्रतिशतका दरले गुमाएको बजारमा सर्पोट र नेरुडे लघुवित्तका शेयरधनीले पनि दश प्रतिशतकै हाराहारीमा गुमाएका छन् ।