मेरोलगानीसँग कुरा गर्दै युनाईटेड इन्स्योरेन्सका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले इन्स्योरेन्सले चुक्ता पूँजी १ अर्ब पुर्याउन मर्जरलाई पनि विकल्प बनाइएको बताएका हुन् ।
सञ्चालक समितिले यस सम्बन्धमा निर्णय गरिसके पनि अहिलेसम्म मर्जरका लागि उचित सहयात्री नभेटिएको उनको भनाई छ ।
इन्स्योरेन्सले प्रस्तावित २ सय ४० प्रतिशत हकप्रद सेयर निष्काशनलाई पनि प्राथमिकताका साथ अघि बढाउने भट्टराईले जानकारी दिए । अहिले इन्स्योरेन्सको चुक्ता पूँजी ३० करोड २४ लाख छ ।
बीमा समितिले असार मसान्तसम्ममा उक्त पूँजीलाई १ अर्ब कायम गर्न निर्देशन दिएको थियो । तर इन्स्योरेन्स अग्नि काण्डमा फसेपछि बीमा समितिका अध्यक्ष डा. चिरञ्जिवी चापागाईले युनाइटेडको हकप्रदलाई तत्काल प्रकृयामा नलैजाने निर्णय गरेका थिए ।
हकप्रद अलमलमा परे पछि बीमा समिति आफैंले दिएको म्यादमा युनाइटेडले पूँजी पुर्याउन नसक्ने व्यहोरा अवगत गराउँदै ३ महिनाको थप समय माग गरेको थियो । समितिले असोज मसान्तसम्ममा चुक्ता पूँजी अर्ब पुर्याउन स्वीकृति दिएको छ । त्यसमा साउन महिना बितिसकेको छ ।
अहिलेसम्म ४ निर्जीवन बीमा कम्पनीले मात्र चुक्ता पूँजी १ अर्ब पुर्याएका छन् । अहिलेको अवस्था हेर्दा फेरी बीमा कम्पनीले पुस मसान्तसम्मको समय माग गर्न सक्ने देखिन्छ ।
युनाइटेडले भने हकप्रद निष्काशनको प्रकृयालाई पनि सँगै अघि बढाउने भएको छ । तर हकप्रदमा बीमा समिति सकरात्मक नबनेको अवस्थामा मर्जर पनि उचित विकल्प हुन सक्छ । तर अहिले नै मर्जरका लागि कुनै पनि बीमा कम्पनी अघि सर्ने सम्भावना देखिँदैन । बीमा समितिले युनाइटेडको २ सय ४० प्रतिशत हकप्रदलाई ग्रीन सिग्नल दिएको खण्डमा भने चुक्ता पूँजी १ अर्ब २ करोड ८१ लख रुपैयाँ पुग्नेछ ।
युनाईटेडले विदेशी रणनितिक साझेदारलाई कम्पनीमा प्रवेश गराउने योजना पनि अघि सारेको छ । कम्पनीका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत भट्टराईका अनुसार १५ प्रतिशत स्वामित्व दिने गरि विदेशी राणनितिक साझेदार भित्र्याउने योजना युनाटेडले बनाएको छ ।