निरन्तरको गिरावटका कारण आजित बनेका लगानीकर्ता बजार तल्लो विन्दुमा आएको बेला कम्पनीहरुको अवस्थामा आएको सुधारलाई हेरेर उत्साहित बनेका हुन् ।
यस क्रममा बजार खुलेदेखि उकालो लाग्न थालेको बजार पछिल्लो एक घण्टामा तिब्र गतिमा उकालो लागेको छ ।
सुरुका ३ घण्टासम्म सामान्य अवस्थामा रहेको बजार एकाएक उछालिएपछि आम लगानीकर्ता बजार बढ्नुको कारण खोज्न थालेका छन् । सोच्ने र खोजी गर्नेहरु बजार बढ्नुको कारण खोज्दै गर्दा कतिपयले भने त्यसको भरपुर सदुपयोग गरेका छन् ।
बजार परिसुचक नेप्से २८.७३ अंकले बढेर १२०९.७१ अंकमा उक्लिएको छ । बुधबार बजार सुचक २.३६ प्रतिशतले बढेको हो । वाणिज्य बैंकहरुका साथै अन्य कम्पनीले सुधारिएको वित्तीय विबरण सार्वजनिक गर्दै गर्दा कारोबार चाप भने वाणिज्य बैंकहरुमा देखिएको छ ।
नबिल बैंक, प्राइम कमर्शियलको संस्थापक सेयर, नबिल संस्थापक, कृषि विकास बैंक, ग्लोबल आईएमई बैंक, इन्भेष्टमेण्ट बैंक, प्राइम बैंक, नेपाल लाइफ इन्स्योरेन्स, नेपाल बैंक र इन्भेष्टमेण्ट बैंकको संस्थापक सेयर अधिक कारोबार हुने १० सेयरको सूचीमा परेका छन् ।
नेपाल लाइफले १० प्रतिशत संस्थापक सेयरलाई साधारणमा बदलेपछि आत्तिएका लगानीकर्ता समेत सम्हालिए पछि बुधबार बजारमा त्यसको सकरात्मक असर देखिएको हो ।
यस क्रममा कारोबार रकम पनि पछिल्ला दिनको तुलनामा आशा लाग्दो शैलीमा बढेको छ । मंगलबारको तुलनामा बुधबार कारोबार रकम झण्डै दोब्बरले बढ्दा बजारप्रति आशावादी हुन सक्ने अवस्था देखिएको छ । यद्यपी छिनभरमा आत्तिने र मात्तिने प्रवृत्तीलाई लगानीकर्ताले संयम बनाउन सकेको खण्डमा मात्र बजार अझै सुधारको पथमा जाने निश्चित छ ।
मंगलबार जम्मा १८ करोड ९५ लाख रुपैयाँको कारोबार भएको बजारमा बुधबार ३६ करोड १ लाख रुपैयाँको सेयर किनबेच भएको छ । मंगलबार जम्मा ७ लाख ३२ हजार कित्ता सेयरहरु किनबेच भएकोमा बुधबार १० लाख ६८ हजार कित्ता सेयर किनबेच भएका छन् ।
मंगलबार १६० कम्पनीका सेयरहरु ३ हजार २ सय ७८ पटक किनबेच भएकोमा बुधबार १६५ कम्पनीका सेयरहरु ५ हजार ८ सय ३३ पटक किनबेच भएका छन् । उल्लेखित तथ्यांकलाई हेर्ने हो भने सबै सूचकले बजारलाई अझै माथि धकेल्ने आधार बनाएको छ ।
समुहगत आधारमा हेर्दा बुधबार निर्जीवन बीमा समुहमा सबैभन्दा धेरै बढोत्तरी देखिएको छ । त्यस पछि जीवन बीमा, उत्पादन, विकास बैंक, लघुवित्त, जलविद्युत, होटल, वाणिज्य बैंक, अन्य र वित्त सुचक एक पछि अर्को गर्दै माथि चढेका छन् ।
कारोबारमा आएका १६५ कम्पनी मध्ये ८ कम्पनीको सेयरमूल्यमा सामान्य गिरावट देखिएको छ भने बाँकी सबै कम्पनीको सेयर मूल्य बढेको छ ।
स्वरोजगार लघुवित्तको सेयर मूल्य अधिक बढेको बजारमा वोमी माइक्रोफाइनान्सको सेयर अधिक मात्रामा घटेको छ ।
नेपाल बैंकको बिक्री नभएको एफपिओ प्रत्याभुतकर्ता मार्फत व्यक्तिहरुले किन्ने क्रम पनि अन्तिम अवस्थामा पुगेपछि त्यसको असर बजारमा देखिएको हो । यस अघि एफपिओमा नबिकेको सेयर किन्नका लागि स्रोत जुटाउन घट्दो बजारमा धमाधम सेयर बेच्ने लहर चलेकोमा अब त्यो श्रृंखलाको पनि अन्त्य भएको छ ।
उल्लेखित घटनाक्रमका साथै अब कम्पनीहरुले एक पछि अर्को गर्दै गत आर्थिक वर्षको लाभांश घोषणा गर्ने अपेक्षा आम लगानीकर्तामा छ ।
यसले पनि बजारलाई अबका दिनमा थप टेवा पुग्ने देखिन्छ । तर नियमित कारोबारीहरुले विगतमा गर्दै आएको च्याखे थाप्ने कारोबार मौलाएको खण्डमा भने बजारले टेवा पाउने देखिँदैन ।