बजार स्थिर रहेपनि यसकारण बढ्यो कारोबार

Aug 16, 2018 Merolagani

झण्डै एक महिनापछि कारोबार रकम ४५ करोड माथि 
नयाँ आर्थिक बर्षको सुरुवातसँगै सुस्त बनेको सेयर बजारमा झण्डै एक महिनापछि बिहीबार आधा अर्ब नजिक कारोबार भएको छ । गत साउन गते ३ गते ५६ करोडको कारोबार भए यता विहीबार भएको कारोबार दोस्रो ठूलो कारोबार हो । बिहीबार ४५ करोड ५२ लाख बराबरको सेयर खरिद बिक्री भएको छ ।

बुधबार झण्डै २९ अंकले बजारमा सुधार आउँदा लगानीकर्ता कारोबारमा संलग्न हुन थालेका छन् । वाणिज्य बैंक सहित धेरै सूचीकृत कम्पनीहरुले प्रगति विवरण प्रकाशित गरेपछि कम्पनी हेरेर लगानीकर्ताले बजारमा लगानी बढाउन थालेका छन् ।

महिनाको अन्त्य भएकाले पनि म्युचुअल फण्डले सेयर बजारमा लगानी बढाउन थालेकाले पनि कारोबार उत्साह जनक बनेको आंकलन गरिएको छ ।

सेयर बजारमा कारोबार गर्दै आएका वेदनाथ घिमिरे बुधबार उच्च उछाल आएकाले कतिपय नाफा बुक गर्न लागेकाले बिहीबार बजार अपेक्षित बढ्न नसकेको बताउँछन् । 

निकै उतार चढावपूर्ण कारोबार भएको बिहीबारको बजारमा कारोबारको आधा घण्टामा नेप्से ९ अंकमाथि उक्लेपनि घट्दै बढ्दै गर्दा अन्त्यमा ०.६१ अंकको झिनो सुधार सहित बन्द भएको छ । नेप्से सकरात्मक रहेपनि 'क' वर्गको कम्पनीको सूचक मापक सेन्सेटिभ इन्डेक्स् ०.०२ अंकले ऋणात्मक बनेको छ ।

६० कम्पनीको सेयर मूल्य बढ्याे

कूल १६६ कम्पनीको १३ लाख ६१ हजार ६२७ कित्ता सेयर कारोबार भएकोमा ८७ कम्पनीको सेयर मूल्य घटेको छ भने ६० कम्पनीको सेयरमूल्य बढेको छ । १९ कम्पनीको सेयरमूल्य स्थिर रह्यो । बैंकिङ्ग समूहमा १८ करोड ८३ लाख, निर्जीवन बीमाको पाँच करोड ६६ लाख र लघुवित्त समूहमा पाँच करोड १६ लाख बढीको कारोबार भएको छ ।

बैंकिङ्ग र उत्पादन समूह सकारात्मक

कारोबारमा आएका एघार उप समूह बैंकिङ्ग र उत्पादन समूह मात्र सकारात्मक बने । बाँकी सबै उप समूह घटेका छन् । उत्पादन तथा प्रशोधनमा ७७.३२ अंकले उछाल आउँदा बैंकिङ्ग ४.१० अंकले उकालो लागेको छ ।

जीवन बीमा २९.८७,होटल २७.२५,निर्जीवन बीमा २०.७७, जलविद्युत १६.७७ र लघुवित्तको सूचक १३.७८ अंकले ओरालो लागेका छन् । व्यापार, अन्य, वित्त र विकास बैंक सिङ्गल डिजिटले ऋणात्मक रहे ।

काराेबारमा वाणिज्य बैंकहरुकाे प्रभुत्व कायमै

बिहीबारको बजारमा पनि वाणिज्य बैंकहरुको कारोबार धेरै भएको छ । शिर्ष १० कम्पनीमा ६ वटा वाणिज्य बैंक परेका छन् भने इन्भेष्टमेन्ट बैंकको संस्थापक सेयर सबैभन्दा धेरै एक करोड ८९ लाख रुपैयाँको कारोबार भयो । एनएमबि बैंक, नबिल बैंक, राष्ट्रिय बीमा कम्पनीको संस्थापक, नेपाल बैंक, नबिल बैंक संस्थापक, प्राइम कर्मर्सियल बैंक, बोटलर्स नेपाल तराई र नेपाल लाईफ इन्स्योरेन्सको एक करोड बढीको सेयर खरिद बिक्री भएका छन् ।

बोटलर्स नेपाल तराईले कमाउँदा ललितपुर फाइनान्स गुमाउनेमा

उल्लेख्य प्रगति गरेपश्चात बोटलर्स नेपाल तराईको सेयरमूल्य ८.१० प्रतिशतले बढेर ६ हजार ७५ रुपैयाँ पुगेको छ । युनिलिभर नेपाल, कर्पोरेट डेभलपमेन्ट बैंक र राष्ट्रिय बीमा कम्पनीको संस्थापक सेयरधनीले पाँच प्रतिशत बढीले नाफा कमाएका छन् ।

उता ललितपुर फाइनान्स कम्पनीको सेयरधनीले ९.५८ प्रतिशतले गुमाउँदा हिमालयन डिष्ट्रलरीको सेयरमूल्यमा साढे ७ प्रतिशतले ह्रास आएको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।