शेयर बजारमा बजार निर्माताको भूमिका

Aug 24, 2018 Merolagani

- आनन्द कुमार भट्टराई (उपसचिव, अर्थ मन्त्रालय)
खरिद बिक्री गर्ने प्रयोजनको लागि वस्तु तथा सेवाको उपलब्धताको अवस्थालाई बजार भनिन्छ । अर्थात् बजार हुनको लागि वस्तु तथा सेवाको उपलब्धता मात्र भएर पुग्दैन अपितु त्यसको लागि क्रेता र बिक्रेता पनि हुनुपर्छ ।

मार्केट मेकर अर्थात् बजार निर्माता

यसको नामबाट हामी सहजै अनुमान लगाउन सक्छौं की बजार निर्माता त्यस्तो व्यक्ति अथवा संस्था हो जसले बजारको निर्माण अथवा सृजना गर्छ । बजार निर्माणको लागि त्यस्ता व्यक्ति  तथा संस्थाले वस्तु तथा सेवाको उपलब्धताको ग्यारेन्टी गरेर क्रेताबाट मागको सृजना गराउँछन् भने खरिदको ग्यारेन्टी गरेर बिक्रेताबाट आपूर्तिको अवस्थाको सृजना गराई क्रेता र बिक्रेताको बीच अप्रत्यक्ष सम्बन्ध स्थापित गराउने भएकोले यिनलाई बजार निर्माता भनिन्छ ।

खरिद तथा बिक्रीको प्रत्याभूत गर्ने हुनाले बजार निर्माताले खरिद बिक्री गर्ने वित्तीय उपकरण (जस्तै शेयर, कमोडिटी) ठूलो मात्रामा होल्ड गरेका हुन्छन् । बजार निर्माता ठूलो मात्राको शेयरको क्रेता र बिक्रेता दुबै भएकोले यिनले बजारमा शेयरको तरलता (Liquidity) प्रवाह गरेर बजारको निर्माण गर्दछन् ।  त्यसैले यिनलाई तरलता प्रवाहक (Liquidity Provider ) पनि भनिन्छ । 

मार्केट मेकर आफूले प्रस्तुत गरेको मूल्यमा कुनै कम्पनीको शेयरको तोकिएको मात्रासम्म खरीद अथवा बिक्रीको लागि सदैव तयार रहन्छन् । शेयर दलालले क्रेता र बिक्रेताको बीचमा मध्यस्थताको भूमिका निर्वाह गरेर शेयर खरिद बिक्री गराउँदछ भने मार्केट मेकरले बिक्रेता या क्रेताको रुपमा लेनदेनमा प्रत्यक्ष हिस्सा लिन्छन् । यथार्थमा यिनले शेयरको लागि खरीद वा बिक्री मूल्य प्रस्तुत गरि आफ्नै नाममा कारोबार गर्दछन् ।

मार्केट मेकरले कसरी काम गर्छ ?

हाम्रो देशमा शेयरको खरिद बिक्री क्रेता र बिक्रेताको बीचमा एक किसिमले प्रत्यक्ष नेगोसिएसनबाट हुने गर्दछ । यस्तो नेगोसिएसन शेयर दलालको माध्यमबाट हुने गरेकाे छ । यद्यपी क्रेताले कसबाट खरिद गरेको र बिक्रेताले कसलाई बिक्री गरेको भन्ने कुरा ज्ञात हुँदैन । ती दुबै पक्षले चाहेका मूल्य ब्रोकरले नेप्सेको सिष्टमा प्रविष्ट गरेर खरिद बिक्री गराई दिने भएकोले जबसम्म मूल्य म्याचिङ्ग हुँदैन तबसम्म खरिद बिक्रीको कार्य सम्पन्न हुँदैन ।

यो पद्धतिले गर्दा शेयर खरिद बिक्री हुन समय लाग्नुको साथै खरिद बिक्री परिमाणमा उल्लेख्य सुधार हुन सकेको छैन । किनकी क्रेताले  आफुले खरिद गर्न खोजेको मूल्यभन्दा अलिकति पनि माथि नउक्लने र बिक्रेता पनि आफूले चाहेको मूल्यभन्दा तल आउन नखोज्ने प्रवृतिले गर्दा मूल्य निर्धारण (Price Matching) हुन नसकी कारोबारको फ्रिक्वेन्सी एकदमै कम हुन जान्छ ।

विदेशमा सेकेण्ड-सेकेण्डमा कारोबार भई रहेको हुन्छ जसले गर्दा कारोबारको  फ्रिक्वेन्सी अत्यधिक भई ठूलो मात्राको कारोबार भईरहेको हुन्छ । विदेशमा यस्तो हुनुको पछाडिको मुख्य कारण बजार निर्माताको उपस्थितिले गर्दा नै हो ।

बजार निर्माताले कुनै पनि शेयरको ठूलो मात्राको Inventory होल्ड गरेर बसेको हुन्छ र उसले बजारमा उक्त शेयरको खरिद मूल्य (Bid Price) र बिक्री मूल्य (Ask Price) उल्लेख गरेर राखेको हुन्छ । अब यहाँ कुनै लगानीकर्ताले कुनै कम्पनीको ५०० कित्ता शेयर बिक्री मूल्य (Ask Price) खरिद गर्न खोज्यो भने बजार निर्माताले आफूसँग भएको मौजदातबाट उक्त संख्याको शेयर बिक्री गरिदिन्छ ।

त्यसैगरि कसैले खरिद मूल्य (Bid Price) मा शेयर बिक्री गर्न खोज्यो भने बजार निर्माताले खरिद गरि दिन्छ । अर्थात् वास्तविक क्रेता बिक्रेता नभए पनि शेयरको खरिद बिक्री भई नै रहेको हुन्छ अर्थात् यिनले बजारको निर्माण गरिदिएका हुन्छन् । यो नै बजार निर्माताको सुन्दर पक्ष हो ।

बजार निर्माता एक भन्दा बढी हुन सक्छन् र एउटा बजार निर्माताले एक भन्दा बढी कम्पनीको शेयर होल्ड गर्नसक्छ । यसले गर्दा बजारमा तरलताको अभाव हुँदैन र शेयरको मूल्यमा स्थिरता कायम हुन गई बजार स्वभाविक गतिले अगाडि बढी रहेको हुन्छ ।

मार्केट मेकरले कसरी गर्छन् त नाफा ?

बजार निर्माताले कुनै पनि कम्पनीको ठूलो मात्रामा शेयर होल्ड गरेर बजारमा वास्तविक क्रेता बिक्रेता (लगानीकर्ता) नभए पनि शेयर खरिद बिक्री गरि जोखिम उठाउने गर्दछन् । तिनले बहन गर्ने जोखिमको लागि केहि न केहि क्षतिपूर्ति दिनुपर्ने हुन्छ र त्यस्तो क्षतिपूर्ति भनेको खरिद मूल्य (Bid Price) र बिक्री मूल्य (Ask Price) को फरक अर्थात स्प्रेड (Spread)  हो ।

अर्थात् तिनले खरिद मूल्य र  बिक्री मूल्य बीचमा केहि मार्जिन राखेका हुन्छन् जुनकी नाफा सरह हो । उदाहरणको लागि कुनै बजार निर्माताले 'क' भन्ने कम्पनीको खरिद मूल्य ९५० र बिक्री मूल्य ९७० रूपैयाँ राखेको छ र उसले एकैपल्ट १०० कित्ताको खरिद र बिक्रीको आदेश पायो भने बिक्रेता लगानीकर्ताबाट उक्त १०० कित्ता  ९५० रूपैयाँ (Bid Price) मा खरिद गर्छ र क्रेता लगानीकर्तालाई  ९७० रूपैयाँ ( Ask Price ) मा बिक्री गरि दुर्इ हजार रूपैयाँ ( १००*२०= २०००) नाफा कमाउँछ ।

क्रेता र बिक्रेता बढी भएका तथा ठूलो मात्रामा कारोबार हुने शेयरको स्प्रेडदर कम हुन्छ भने जुन शेयरको बजारमा आपूर्ति तथा क्रेता र बिक्रेताको संख्या कम हुन्छ त्यस्तो कम्पनीको खरिद गरिएको शेयर समयमा बिक्री हुन नसकी घाटा लाग्ने संभावना हुने भएकोले स्प्रेडदर बढी हुन्छ ।

मार्केट मेकरको ब्यवस्थाको फाईदा

शेयर बजारमा प्रत्येक कम्पनीको शेयरको लागि एक भन्दा बढी बजार निर्माता नियुक्त ( Assigned) गरिएको हुन्छ । यी प्रत्येकले विशेषज्ञको रुपमा काम गर्ने हुनाले बजारमा प्रत्येक शेयरको लागि थुप्रै विशेषज्ञ हुन्छन् । यसरी मार्केट मेकरले विकेन्द्रीत बजारको सृजना गर्छन् जसले समग्र बजारको तरलतामा सुधार ल्याई बजारलाई चलखेल (Manupulation)  हुनबाट जोगाई लगानीकर्ताको हितको रक्षा गरिरहेको हुन्छ ।

मार्केट मेकर नहुँदा के हुन्छ ?

बजार निर्माताले तरलता प्रवाह गर्ने हुनाले यिनको अनुपस्थितीमा बजारमा चलखेलको अत्यधिक सम्भावना रहनुको साथै कारोबार संख्या पनि सोचे जस्तो हुँदैन ।

मानौ की एकदमै राम्रो 'क' भन्ने कम्पनीको शेयरले आकर्षक आम्दानी गरेको रिपोर्ट प्रकाशित गर्छ । तपाई यो शेयर खरिद गर्न चाहनुहुन्छ तर लगानीकर्ता वा लगानीकर्ताको समूह जसले की यो शेयरको धेरै परिमाणमा होल्ड गरेर बसेका छन् तिनले बिक्री गर्न चाहेका छैनन् । यस्तो अवस्थामा बिक्रेता आकर्षित गर्न तपाई मूल्य बढाउँदै जानुहुन्छ जबसम्म की बिक्रेता बिक्री गर्न ईच्छुक हुँदैन । र जुन मूल्यमा बिक्रेता ईच्छुक हुन्छ त्यो मूल्य एकदमै उच्च भैसकेको हुन्छ ।

त्यसै गरि 'ख' भन्ने कम्पनीको कुनै खराब समाचारले उक्त शेयर बिक्री गर्ने चाप अत्यधिक बढ्न जान्छ । तपाई बिक्री गर्नको लागि लाईन लाग्नुहुन्छ तर कसैले खरिद गर्दैनन् । यहाँ फेरि क्रेता आकर्षित गर्न मूल्य त्यो बिन्दु सम्म घटाउँदै लानुहुन्छ जब सम्म की कुनै क्रेता आउँदैन र त्यो अवस्था सम्ममा मूल्य एकदमै तल आईसकेको हुन्छ ।

अत: यस्तो खरिद बिक्रीको असन्तुलित अवस्थामा बजार निर्माताले मूल्य अन्तरलाई सन्तुलन (Maintain) गरि फराकिलो अन्तर हुन नदिई बजारमा तरलताको अवस्थालाई कायम राख्दछ । त्यसैले विश्व शेयर बजारमा मार्केट मेकर एक अभिन्न अङ्गको रुपमा स्थापित भईसकेको छ र यसको अनुपस्थितिमा बजारको विकास सोचे जस्तो हुन सक्दैन । यसको उदाहरणको लागि टाढा जानु पर्दैन, हाम्रो आफ्नै देशको बजारको अवस्थालाई हेरे पुग्छ । धेरै बर्ष अघि देखिनै यसबारेमा  धेरै कुराको उठान हुने गरेकाे भए तापनी हाल सम्म बजार निर्माताको ब्यवस्था हुन नसक्नु विडम्बना नै मान्नुपर्छ ।

हाम्रो देशमा मार्केट मेकरको ब्यवस्था नहुँदा बेफाईदा कसलाई भएको छ

बजार निर्माताले ठूलो संख्यामा शेयर होल्ड गरी खरिद बिक्री गर्ने हुनाले अहिलेको अधिक अापूर्ति (Over Supply) लार्इ केही हद सम्म ब्यवस्थापन हुन गई बजार स्वभाविक गतिमा अगाडि बढ्नुको साथै बजारमा मूल्यकाे अस्वभाविक नियन्त्रण (Market Manipulation) हुँदैन । तर यसको अनुपस्थितिमा :

  • खरिद बिक्रीको लागि क्रेता र बिक्रेताको मूल्य म्याचिङ्ग हुनमा ढिलाई भई कारोबारको गति सुस्त छ जसले गर्दा कारोबार न्यून हुन गई सरकारले प्राप्त गर्ने राजस्व, ब्रोकर तथा नेप्से र धितोपत्र बोर्डले प्राप्त गर्ने कमिशनमा समेत कमी आएको छ ।
  • मार्केट मेकरले कम स्प्रेडमा आफैँले खरिद गर्ने तथा आफ्नै स्टकबाट बिक्री गर्ने हुनाले यसको अनुपस्थितिमा क्रेता बिक्रेताले स्वभाविक मूल्यमा भने जति शेयर खरिद बिक्री गर्न सक्दैनन् जुन समग्र बजारको विकासको लागि घातक हुन्छ ।
  • केही ठूला लगानीकर्ताहरु आपसमा मिलेर थोरै पूँजी भएको कम्पनीको शेयर होल्ड गरि आफू अनुकुल मूल्य घटबढ गरी सोझा लगानीकर्तालाई जालमा फसाउन सफल भएका छन् । 

 

सरकारले  बैलैमा ध्यान पुर्याउन अावश्यक

धिताेपत्र बजारमा अधिक आपूर्तिको कारणले माग र आपूर्तिमा सन्तुलन हुन नसकी मूल्य प्रभावित भएको, अर्थ ब्यवस्थाका सबै सूचक सकारात्मक हुँदा हुँदै पनि त्रसित मानसिकताको कारण लगानीकर्ताको आत्मविश्वास डगमगाएकोले कारोबारमा पहिरो जानुको साथै सूचक निरन्तर झरिरहेको छ ।

यस्ताे अवस्थामा हिलोमा माछा मार्न पल्केका ठूला लगानीकर्ताको जालमा  सोझासाझा लगानीकर्ता फसीरहेका छन् ।  निरन्तर घटिरहेको बजारमा नयाँ लगानीकर्ताको प्रवेश हुन नसकी पूँजी निर्माणमा असर परेको छ भने यी सबै कारणले न्यून कारोबार हुन गई सरकारको राजस्वमा समेत प्रतिकूल असर परिरहेकाले सरकार तथा नियामक निकाय चुप लागेर बस्न उपयुक्त हुँदैन ।

अत: एक पैसा पनि लगानी नपर्ने कम्तीमा निम्न उपाय अवलम्बन गर्न सरकार तथा नियामक निकाय क्रियाशिल हुनु अत्यन्त आवश्यक छ ।

  • धेरै पहिले देखि उठान भएको मार्केट मेकरको शीघ्र ब्यवस्थाको लागि उपयुक्त कदम चाल्ने
  • बैंकलाई ब्रोकर लाईसेन्स उपलब्ध गराउन दबाव दिने
  • नेप्सेको स्व:चालित प्रणालीलाई यथाशीघ्र सञ्चालनमा ल्याउने ब्यवस्था गर्ने
  • गैह्र आवासिय नेपालीलाई कार्यविधि बनाई पूँजी बजारमा लगानीको बाटो खुला गर्ने र
  • लगानीकर्तामा सरकार तथा नियामक निकाय प्रतिको गुमेको विश्वासलाई पुरानै अवस्थामा ल्याउने । अादी ।
comments powered by Disqus

हरेक नेपालीलार्इ शेयरधनी बनाउन ३५०० मेगावाटका आयोजना निर्माण गर्दै सरकार

Sep 25, 2018

सरकारले हरेक नेपाली नागरिकलाई जलविद्युत् आयोजनाको शेयरधनी बनाउने लक्ष्यका साथ तीन हजार ५०० मेगावाट क्षमताका जलविद्युत् आयोजना निर्माणको प्रक्रिया शुरु गर्ने भएको छ।‘नेपालको पानी, जनताको लगानी’ मूल नाराका साथ सबै नेपालीलाई लगानीकर्ता बनाउने र दीर्घकालीन रूपमा आर्थिक उपार्जनको माध्यम बनाउने लक्ष्यका साथ उक्त अवधारणा अगाडि सारिएको हो।