कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रवन्धकमा सिद्धार्थ क्यापिटलले दिएको जानकारी अनुसार उद्योग प्रभावित मकवानपुरका स्थानीयबाट भदौ १० गते आइतबारसम्म एक लाख ७३ हजार कित्ता सेयरका लागि पाँच करोड २० लाख रुपैयाँ बराबरको आवेदन परेको छ । यो स्थानीयका लागि निष्काशित कूल आईपिओको १९.६६ प्रतिशत मात्र हो ।
शिवमले स्थानीयलाई अंकित मूल्यमा प्रतिकित्ता २०० रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ३०० रुपैयाँ दरमा आईपिओ निष्काशन गरेकाले अन्तिम दिनमा केही बढी आवेदन पर्ने आंकलन गरिएको छ ।
आईपिओमा न्युनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन पाइने छ । स्थानीयले सी–आस्वाबाट आवेदन दिन सक्नेछन् । तर उद्योग प्रभावित स्थानीय सी–आस्वा अनिवार्य भने गरिएको छैन ।
मकवानपुरको हेटौंडामा रहेका विभिन्न बैंक तथा वित्तीय संस्थाबाट आवेदन गर्न सक्ने व्यवस्था मिलाइएको क्यापिटलले जनाएको छ ।
शिवम् सर्वसाधारणमा आईपिओ जारी गर्ने पहिलो सिमेन्ट उद्योग हो । यो सेयर बाँडफाँड गरेपश्चात उद्योगले दोस्रो चरणमा सर्वसाधारणलाई प्रतिकित्ता ३०० रुपैयाँ प्रिमियम थप गरी ४०० रुपैयाँका दरले ४४ लाख कित्ता आईपिओ निष्काशन गर्ने जनाएको छ । स्थानीयको सबै सेयर बिक्री नभएको अवस्थामा सर्वसाधारणका लागि निष्काशन हुने सेयर थपिनेछ ।
दुई चरणमा प्रिमियम सहित निष्काशन हुने आईपिओबाट उद्योगले २ अर्ब २ करोड ४० लाख रुपैयाँ संकलन गर्नेछ । आईपिओपछि कम्पनीको चुक्त्ता पूँजी ४ अर्ब ४० करोड रुपैयाँ हुनेछ ।