आईपिओ पनि बिक्री हुन छाड्यो अर्थमन्त्री ज्यू, अब चिन्ता लिने बेला भएन र ?

Aug 27, 2018 Merolagani

'मैले भन्ने गरेको छु , जुन दिन बजारबाट पूँजी उठाउनलाई प्राथमिक निष्काशनमा शेयर बिकेन भने त्यो दिन हाम्रो लागि त्यत्ती सुखद दिन हुँदैन । त्यसो भएको हुनाले लगानीकर्तालाई बजारबाट शेयर उठाउनका लागि हामीले निश्चिन्त हुने वातावरण बनाउनुपर्छ ।'

'मुलत प्राथमिक निष्काशन बजार बलियो हुनुपर्दछ । अनि त्यसको आधारबाट दोस्रो बजार, दोस्रो बजार कमजोर भयो भने प्राथमकि बजारमा पनि शेयर बिक्दैन,यो पनि हामीले बुझ्नुपर्छ । तर, यो प्राथमिक र दोस्रो बजारको सम्बन्धलाई हामीले राम्रोसँग विश्लेषण गरेर लगानीलाई अगाडि बढाउनुपर्ने मैले आवश्यकता देखेको छु ।'

 

यो अभिव्यक्ति अर्थमन्त्री डा. युवराज खतिवडाको हो । खतिवडाले गत असार २२ गते नेपाल धितोपत्र बोर्डको २६ औं बार्षिकउत्सवको अवसरमा व्यक्त गरेका थिए । अहिले अर्थमन्त्रीले भने जस्तै प्राथमिक बजारमा शेयर बिक्न छाडिसकेको अवस्था देखिन थालेको छ ।

 केही उदाहरण हेरौं

घलेम्दी जलविद्युत आयोजनाले गत असारमा आयोजना प्रभावित स्थानीयका लागि असार २२ गतेदेखि साढे ५ लाख ५० हजार कित्ता साधारण शेयर निष्काशन गर्यो । जसमा आवेदन गर्ने म्याद छिटोमा साउन ४ गते रहेकाे थियाे । साे समयमा निकै कम अावेदन परेपछि  कम्पनीले साउन २० गतेसम्म समय बढाएकाे थियो ।

तर स्थानीयले कम्पनीको निष्काशन गरेको शेयर ९४ हजार २३० कित्ता अर्थात करिब ९ प्रतिशत खरिद गरे । स्थानीयले ४ लाख ५५ हजार ७७० कित्ता शेयर किनेनन् । अब कम्पनीले उक्त शेयर समेत थप गरेर सर्वसाधारणलाई १५ लाख ५५ हजार ७७० कित्ता साधारण सेयर निष्काशन गर्न धितोपत्र बोर्डमा आवेदन गरेको छ ।

त्यस्तै माउन्टेन हाइड्रोले पनि गत असार २२ गतेदेखि आयोजना प्रभावित स्थानीयबासीका १२ लाख ५० हजार कित्ता आईपिओ निष्काशन गर्यो । तर उक्त आईपिओ तोकिएको मितिभित्र आधा मात्र बिक्री भयो । कम्पनीले कूल १२ लाख ५० हजार कित्ता शेयर निष्काशन गरेकोमा ६ लाख ८३ हजार ७९० कित्ता सेयर मात्र बिक्री भयो ।

 

स्थानीयले शेयर नकिनेपछि कम्पनीले उक्त शेयर समेत थप गरेर दोस्रो चरणमा आम सर्वसाधारणका लागि अब १८ लाख १६ हजार ११० कित्ता सेयर जारी गर्नेछ ।

यसैगरी उत्पादन क्षेत्रका कम्पनी पूँजी भित्र्याउने क्रममा शिवम् सिमेन्ट आईपिओ निष्काशन गर्ने पहिलो सिमेन्ट कम्पनी बन्यो । कम्पनीले गत साउन १३ गते देखि आयोजना प्रभावितका लागि ८ लाख ८० हजार कित्ता सेयरका लागि आवेदन खुला गरेको छ ।

आईपिओ निष्काशन बन्द हुनु भन्दा एक दिन अगाडिसम्म कम्पनीको १९.६६ प्रतिशत मात्र शेयर बिक्री भएको छ । भदौ ११ गते आवेदन गर्ने अन्तिम दिन रहेकोमा १० गतेसम्म एक लाख ७३ हजार कित्ता मात्र बिक्री भएको छ ।

अन्तिम दिनमा दोब्बर आवेदन परेपनि कम्पनीको आईपिओ ६० प्रतिशत भन्दा बढी बिक्री नहुने निश्चित छ । यति मात्र होईन नेपाल बैंकले निष्काशन गरेको एफपिओ बिक्री नभएपछि भारी मात्रामा अन्डरराईटरले सकार्नु पर्यो ।

यी केही उदारहण हुन् । यी उदारहणहरुले अब प्राथमिक बजारमा शेयर बिक्री हुन छाडेको स्पष्ट संकेत गर्छ ।

अर्थमन्त्रीको भनाई अनुसार प्राथमिक निष्काशन बजार बलियो हुनुपर्दछ । अनि त्यसको आधारबाट दोस्रो बजार, दोस्रो बजार कमजोर भयो भने प्राथमिक बजारमा पनि शेयर बिक्दैन, यो पनि हामीले बुझ्नुपर्छ। तर, यो प्राथमिक र दोस्रो बजारको सम्बन्धलाई हामीले राम्रोसँग विश्लेषण गरेर लगानीलाई अगाडि बढाउनुपर्ने आवश्यकता पर्छ ।

 

अर्थमन्त्रीले भने जस्तै अहिले दोस्रो बजार कमजोर अवस्थामा छ । दोस्रो बजार कमजोर भएकाले नै प्राथमिक बजारमा समेत शेयर बिक्रीमा कमी आउन थालिसकेकाे देखिन्छ । अहिले शेयर बजार परिसूचक नेप्से ११७५.७२ अंकमा छ । अर्थमन्त्रीले उक्त धारणा राखेकाे एक दिन अगाडि असार २१ गते बिहीबार शेयर बजार १२२४.४१ अंकमा थियो। यसबीचमा मात्रै दोस्रो बजार ४८ अंक बढीले ओरालो लागेको देखिन्छ ।

अर्थमन्त्रीको उक्त अभिव्यक्ती आएपश्चात बजार सुधारका खासै उल्लेखनीय कार्यक्रम भएका छैनन् । बरु हकप्रद र बाेनस सेयरमा समेत अंकित मूल्यबाटै पूँजीगत लाभकर तिर्नुपर्ने बिषयले लगानीकर्ता र शेयर बजारलाई तर्साउने काम मात्र भयो । यस सम्बन्धमा अर्थ मन्त्रालयका सह सचिव उत्तरकुमार खत्रीकाे संयाेजकत्वमा अध्ययन समिति बनाइयाे । हाललार्इ नयाँ व्यवस्था स्थगित गरेपनि यसले अझै ठाेस निष्कर्ष दिन सकेकाे छैन ।

यस बीचमा शेयर बजारमा विरलै सुुखद दिनहरु रहे । अधिकांश दिनको बजार राताम्मे नै रहे । के अझै दोस्रो बजारको बारेमा चिन्ता गर्नुपर्ने अवस्था नआईसकेको हो र । अर्थमन्त्रीको भनाईलाई नै मान्ने हो भने आइपिओ बिक्री हुन छाडिसक्यो । अब चिन्ता लाग्ने बेला भएन र ?

पूँजी जुटाउने क्रममा सेयर निष्काशन गरिरहेका कम्पनी सेयर बिक्री नभएर हैरानीमा पर्दै गर्दा अर्थमन्त्रीले यसलाई सम्बोधन गर्ने प्रयास गरेका छैनन् ।

पटक/पटक पूँजी जुटाउने क्रममा कम्पनीहरुको सेयर बिक्री नहुँदा कम्पनीहरुलाई भन्दा ठूलो चिन्ता आफुलाई पर्ने बताउँदै आएका अर्थमन्त्री डा. युवराज खतिवडाले आफ्ना भनाईलाई व्यवहारमा उतार्न नसकेपछि पूँजी बजारमा आउन चाहने कम्पनीहरु समेत सोच्न बाध्य हुनुपर्ने अवस्था आएको छ ।

साधारण सेयर बिक्री नभएर कम्पनीहरु छटपटाई रहेका छन् भने अन्डरराइटरहरु पनि डराईरहेका छन् । यसले वास्तविक क्षेत्रका कम्पनीहरूलार्इ  प्रिमियम मूल्यमा साधारण सेयर निष्काशनमा जान ठूलै अठाेट गर्नुपर्ने अवस्था देखिन्छ ।

अहिले बजारमा लगानीकर्ता अनि सेयर निष्काशन गरिरहेका कम्पनीहरु अर्थमन्त्रीको यो भनाईलाई कसरी बुझ्ने भन्ने अन्यौलमा छन् । के अर्थमन्त्रीले पूँजी बजारका बारेमा अभिव्यक्ति मात्रै दिँदै हिड्ने हुन् ? वा उनी आफ्ना अभिव्यक्ति अनुसार कम्पनीहरुलाई पूँजी जुटाउने आधार बनाउन केही गर्दैछन् ? भन्ने प्रश्न उब्जिएको छ । यसमा उनै गम्भिर बन्नुपर्ने देखिन्छ। सेयर बजारलार्इ राम्राे बनाउन भाषणले मात्र पुग्दैन लगानीकर्ताले अनुभुति गर्नेगरि व्यवहारमा नै उर्तानुपर्ने देखिन्छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।