शिवम् सिमेन्टको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले दिएको तथ्याङ्क अनुसार अन्तिम दिन भदौ ११ गतेसम्म ६ करोड ७ लाख २३ हजार रुपैयाँ बराबरको दुई लाख दुई हजार ४१० कित्ता सेयर मात्र बिक्री भएको छ । जुन निष्काशन भएको ८ लाख ८० हजार कित्ताको २३ प्रतिशत मात्र हो ।
कम्पनीको स्थानीयका लागि निष्काशन गरेको २६ करोड ४० लाख रुपैयाँको आईपिओमध्ये २० करोड ३२ लाख ७७ हजार रुपैयाँको सेयरका लागि आवेदन नपर्नुले स्थानीयले नै सो कम्पनीको सेयरमा न्यून आवेदन गरेको पुष्टि हुन्छ । आईपिओमा न्युनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन पाइने व्यवस्था थियो ।
धितोपत्रको दोस्रो बजारमै सेयरको भाउ घटेकाे बेला प्रिमियम मूल्यमा महङ्गोमा निष्काशन हुनु, नेप्से परिसूचक घटेर लगानीकर्ताहरु निराश बन्न परिरहेको अवस्थामा तीन बर्षसम्म बिक्री वितरण गर्न नपाइने भएकाले समेत सेयर बिक्री नहुने अवस्था आएको हो।
स्थानीयका लागि शिवमले उद्योग प्रभावितहरुका लागि प्रतिकित्ता १०० रुपैयाँ मूल्यमा २०० रुपैयाँ प्रिमियम थपेर ३०० रुपैयाँ प्रतिकित्ताका दरले निष्काशन गरेको थियो ।
मकवानपुरबासीले किन्न अस्वीकार गरेको ६ लाख ७७ हजार ५९० कित्ता सेयर अब सर्वसाधारणमा निष्काशन हुने ४४ लाखमा जोडिएर ५० लाख ७७ हजार ५९० कित्ता सेयर निष्काशन गर्नेछ ।
सर्वसाधारणका लागि भने कम्पनीले स्थानीयको आईपिओ बाँडफाँड पश्चात ३०० रुपैयाँ प्रिमियम सहित प्रतिकित्ता ४०० रुपैयाँ दरमा दोस्रो चरणमा निष्काशन हुनेछ ।
सर्वसाधारणमा निष्काशन हुने आईपिओको सेयरमा स्थानीयको भन्दा थप एक सय रुपैयाँ थप प्रिमियम तिर्नुपर्ने भएकाले ५० लाख कित्ता सेयर के बिक्री होला भन्ने प्रश्न उब्जिएको छ ।
यसले नै अन्य कम्पनीलाई समेत आईपिओमा जारी गर्ने पथमा अगाडि बढ्न मार्गनिर्देशन गर्ने भएकाले यो कम्पनीकाे आईपिओ एउटा आइडल नै बन्ने देखिन्छ ।
प्रिमियम मूल्यमा आईपिओ निष्काशन गर्ने शिवम् सिमेन्ट्को यस्तो छ तीन बर्ष यताको प्रगति
वास्तविक क्षेत्रको कम्पनीले जारी गरेको यो सेयर सबै बिक्री नभए यसमा नियामक निकाय धितोपत्र बोर्ड र अर्थमन्त्रीले समेत आफ्नो कार्यशैलीलाई बदलेर अगाडि बढ्नुपर्ने अवस्था आउनसक्छ । प्रिमियम मूल्यमा जारी हुने सेयरमा उसै पनि लगानीकर्ताको आकर्षण कम पाइन्छ ।
इक्रा नेपाल लिमिटेडले कम्पनीको शेयरलाई क्रेडिट रेटिङ्ग ग्रेड ३ प्लस प्रदान गरेको छ । उद्योगले दुई चरणको आईपिओ बिक्रीबाट २ अर्ब २ करोड ४० लाख रुपैयाँ संकलन गर्नेछ । आईपिओपछि कम्पनीको चुक्त्ता पूँजी ४ अर्ब ४० करोड रुपैयाँ हुने छ ।
शिवमले जारी पूँजी ४ अर्ब ४० करोड रुपैयाँको स्थानीय बासिन्दाका लागि २ प्रतिशत तथा सर्वसाधारणका लागि १० प्रतिशत गरी जारी पूँजीको १२ प्रतिशत साधारण सेयर बिक्री गर्नेछ ।