फोरमका अध्यक्ष अम्बिका प्रसाद पौडेलकाे नेतृत्वमा गएको टोलीले बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र प्रसाद ढुंगानालाई मागपत्र बुझाउँदै व्याजदर महङ्गो हुँदा लगानीको वातावरण बिग्रने र बैंकको व्यवसायमा ह्रास आउने भएकाले समयमै व्याजलाई अंकुश लगाउने व्यवस्था गर्नुपर्ने सुझाव दिएका छन् ।
साथै उनीहरुले बैंक तथा वित्तीय संस्थाहरुले मार्जिन कर्जा प्रदान गर्दा सबैभन्दा सस्तो व्याजदरमा उपलब्ध गराउने व्यवस्था गर्न आग्रह गरेका छन् । यो व्यवस्था कार्यान्वयन गर्न राष्ट्र बैंकले नै निर्देशन दिनुपर्ने नभई बैंक आफैँले नै गर्नसक्ने भएकाले तत्काल कार्यान्वयनमा ल्याउनुपर्ने लगानीकर्ताको माग छ ।
मार्जिन कर्जा सबैभन्दा सुरक्षित र असुली गर्न सजिलो भएको बताउँदै लगानीकर्ताले यो कर्जालाई बैंकहरुले प्राथमिकतामा नराखी पाँच/दश लाखको कर्जा लिन खोज्ने साना लगानीकर्तालाई प्रशासनिक खर्च र अन्य कारण देखाएर निरुत्साहित गर्न खोजेको गुनासो समेत गरेका छन् ।
पूँजी बजारमा गरिएको लगानीलाई High Risk Weight बाट हटाउन माग
त्यस्तै फोरमले पूँजी बजारमा गरिएको लगानीलाई उच्च जोखिममा राखी १५० प्रतिशत जोखिम भार राखेकोमा सो लाई तत्काल उच्च जोखिम भार (High Risk Weight ) बाट हटाउन माग समेत गरेको छ । जसलाई सय प्रतिशतमा झार्नुपर्ने फोरमको माग छ ।
पूँजी बजारमा लगानी गरि बैंक तथा वित्तीय संस्थाहरुबाट ऋण लिएका साना तथा मझौला लगानीकर्ताहरुको ५० लाखसम्मको ऋणमा ६० प्रतिशत जोखिम भार र सो भन्दा माथीका शेयर कर्जामा १०० प्रतिशत जोखिम भार कायम गराउन पनि उनीहरुले माग गरको छन् ।
बोनसमा लाग्ने कर बैंकहरुले नै तिर्नुपर्ने
त्यस्तै बोनसमा लाग्ने कर लगानीकर्ताहरुबाट असुल्ने परम्पराले गर्दा लगानीकर्ताहरु मर्कामा परेका भन्दै उक्त कर लगानीकर्ताहरुले नभई बैंकहरुले नै तिर्ने व्यवस्थाको सुरुवात गर्न पनि बैंकर्स संघको ध्यानकर्षण गराएको छ ।
हकप्रद तथा बोनसलाई पनि मार्जिनमा गणना गर्नुपर्ने
अहिले सुचीकृत कम्पनीहरुको हकप्रद तथा बाेनस सेयरको मूल्य समायोजनले सेयरको मूल्य तल आई मार्जिन कर्जा लिएकाहरुलाई मार्जिन कल आउने सम्भावना छ ।
विपत्तिको समयमा लगानीकर्ताहरुको समस्यालाई बिचार गरि सहजकर्ताको भुमिका निर्वाह गरि संकट मोचनमा सहयोग गर्न आग्रह गरेकाे छ ।
बाेनस र हकप्रद सूचीकरणपछि कर्जामा समायोजन गर्ने गरि अहिलेलाई विवेकपूर्ण निर्णय गरिदिन बैंकहरु समक्ष लगानीकर्ताको माग छ ।
प्रोमोटर र सर्वसाधारणलाई समान व्यवहार
एक प्रतिशत भन्दा बढी संस्थापक शेयर (प्रमोटर शेयर) धारण गर्ने संस्थापक शेयरधनीहरुले ५० प्रतिशत मात्र ऋण लिन सक्ने र त्यस्तो कर्जा नविकरण नहुने प्रावधानलाई संसोधन गरि ऋण लिने प्रयोजनको लागि सर्वसाधारण समूह सरह समान व्यवहार गर्न समेत फोरमको माग छ ।
वित्त र धितोपत्र बजारका समस्या समाधानमा सहकार्य गर्ने
त्यस्तै फोरमले वित्त बजार र धितोपत्र वजारमा बेला बेलामा उत्पन्न हुने अन्तर सम्बन्धित बिषयहरुमा सहकार्य गरेर समस्या समाधान गर्न बैंकर्स संघलाई प्रस्ताव गरेको छ ।
कुनै पनि समस्याको समाधान सम्वाद र छलफलबाट गर्न सकिए अनावश्यक झमेला र खर्चभारबाट बच्न सकिने र यसले ऋणी र बैंकबीचको सम्बन्धलाई पनि सुमधुर बनाउने विश्वास लगानीकर्ताको छ ।
बैंकलाई ब्रोकर लाईसेन्स
नेपालको पूँजी बजारको विस्तार र सुधारका लागि देशभरमा रहेका २८ वाणिज्य बैंकका २४ सय शाखाहरुलाई ब्रोकर लाईसेन्स दिँदा छरिएर रहेका सानाठूला लगानीकर्ताहरुले सहज र शीघ्र सेवा पाउने उनीहरुको भनाई छ ।
भोलिका दिनमा अनलाईन कारोबार आउँदा पनि त्यसको सहज कार्यान्वयनका लागि ठूलो आधार दिने र यसले गर्दा समग्र रुपमा पूँजी बजारको विकास हुन्छ ।
यो सुविधा कार्यन्वयन भएमा देशको अर्थतन्त्र नै चलायमान हुने भएकाले यसतर्फ अग्रसर हुन पनि आग्रह गरेका छन् ।