एभरेष्ट र लक्ष्मी बैंकको मर्जर प्रकृया अब के होला ?

Sep 16, 2018 Merolagani

दुई वर्षभन्दा लामो समयदेखि मर्जरको प्रकृयामा जाने कसरत गरिरहेका एभरेष्ट बैंक र लक्ष्मी बैंकको मर्जर प्रकृया अझै अन्यौलको अवस्थामा छ । एभरेष्ट बैंकले एक माथि अर्को गर्दै शर्तहरु थप्दै गएकोमा अब एभरेष्टसँग कुनै किसिमको शर्त बाँकी नहुँदा दुबै बैंकका सेयरधनीमा नतिजा के होला भन्ने चासो बढेको छ ।

मर्जरमा जाने कसरत सुरु गरे यता एभरेष्टले विभिन्न किसिमका शर्तहरु राख्दै आएकोमा त्यसलाई लक्ष्मी बैंक लचिलो बन्दै आएको छ । 

पहिलो पटक भएको सम्पत्ति तथा दायित्व मूल्याङ्कन (डिडिए) लाई मात्र आधार नबनाई असार मसान्तको वित्तीय विबरणका आधारमा अर्को प्रतिवेदन बनाएर त्यसलाई कार्वान्वयन गर्ने शर्त एभरेष्ट बैंकले राखेको थियो । सोही अनुसार अहिले असार मसान्तको वित्तीय विबरणका आधारमा अन्तिम प्रतिवेदन आउन बाँकी छ ।

उल्लेखित घटनाक्रम चल्दै गर्दा लक्ष्मीसँगको मर्जरबाट एभरेष्ट बैंक टाढिन खाजेको बुझिएको छ । अर्थात सेयर अादान प्रदान रेसियाे (स्वाप) को विषयमा एभरेष्टले लक्ष्मी बैंकलाई न्युनदरमा मात्र मर्जरमा लैजाने योजनामा एभरेष्ट बैंक रहेको छ ।

पञ्जाब नेशनल बैंकको लगानी रहेका कारण पहिलो पटक अर्नस्ट एण्ड योङ (इएण्डवाइ) नामक विदेशी अडिट फर्मले एभरेष्ट र लक्ष्मी बैंकको डिडिए गरेको थियो । उसले एभरेष्टको १०० रुपैयाँ बराबर लक्ष्मीको ६० रुपैयाँमा मर्जरमा जान सक्ने प्रतिवेदन दिए लगत्तै एभरेष्टले फेरि असार मसान्तको वित्तीय विबरणका आधारमा अर्को डिडिए गरेर आउने नतिजा अनुसार अघि बढ्ने शर्त अघि सारेको थियो ।

एभरेष्टको शर्तमा लक्ष्मी लचिलो बनेपछि असार मसान्तसम्मको वित्तीय विबरणका आधारमा इएण्डवाइ तथा नेपालको एनबीएसएमले डिडिएको काम अघि बढाएका थिए । अहिलेसम्म उनीहरुबाट अन्तिम प्रतिवेदन आएको छैन ।

अर्कातिर एभरेष्ट बैंक सञ्चालक समिति मर्जरका सम्बन्धमा लक्ष्मी बैंकका समकक्षीसँग पछिल्लो पटक सम्पर्कमा आएको छैन ।

यसले दुई बैंकको मर्जरमा एभरेष्ट बैंक पछि हटेको कुरालाई नकार्न सकिन्न । यस अघि पनि कुमारी र तत्कालिन किष्ट बैंकसँग मर्जरमा जाने योजना अघि सारेर एभरेष्ट बैंक पछि हटेको थियो ।

विगतको यहि तितो अनुभव अहिले लक्ष्मी बैंकको हकमा पनि दोहोरिने अवस्था देखिएको हो ।

सेयर स्वापमा एभरेष्ट असन्तुष्ट 

लक्ष्मी बैंक एभरेष्टसँगको मर्जरको विषयलाई लिएर सबै विकल्पमा लचिलो बनेको लक्ष्मी बैंक उच्च स्रोत बनाउँछ । यहाँसम्म कि मर्जर पछि व्यवस्थापन तथा सञ्चालक समितिमा हुने प्रतिनिधत्वको विषयमा पनि लक्ष्मी बैंक लचिलो बनेको छ ।

लक्ष्मी बैंकले एभरेष्टसँगको मर्जर निश्चित हुने आशमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ्गको कार्यकाल तीन महिनाका लागि मात्र थप गरेको थियो । अर्थात एभरेष्टमा पञ्जाब नेशनल बैंकका तर्फबाट प्रमुख कार्यकारी बस्ने एभरेष्ट र पञ्जाब नेशनलको सहमति अनुसार लक्ष्मीले प्रमुख कार्यकारीको पदमा खालिङलाई भदौ १० गतेसम्मका लागि मात्र नियुक्त गरेको थियो ।

उक्त समयसम्ममा मर्जर पुरा हुने आशमा लक्ष्मीले यस्तो निर्णय गरेको थियो । एभरेष्ट बैंकले मर्जरमा चासो नदेखाएपछि अहिले लक्ष्मी बैंक प्रमुख कार्यकारी विहीन अवस्थामा छ ।

पहिलो पटक भएको डिडिएले एभरेष्टको १०० रुपैयाँ बराबर लक्ष्मीको ६० रुपैयाँ स्वाप निकालेको थियो । असार मसान्तको वित्तीय विबरणबाट पनि सेयर स्वाप १०० बराबर ५४ को हाराहारीमा आउने अपेक्षा लक्ष्मी बैंकले गरेको छ । जुन कुरा एभरेष्ट बैंक स्वीकार गर्नै चाँहदैन । अर्थात लक्ष्मीलाई थोरैभन्दा थोरै स्वापमा मात्र मर्जरमा लैजान एभरेष्टले शर्तहरुको चाङ्ग लगाएको हो ।

लक्ष्मी बैंकले सित्तैमा एभरेष्टमा गएर मर्ज नहुने भन्दै अब वार कि पारको निर्णयमा पुग्ने बताएको छ ।

मेरोलगानीसँगको कुराकानीमा लक्ष्मी बैंकको उच्चस्रोतले झिनो आश बाँकी रहेको भन्दै अन्तिम निर्णय एभरेष्टको हातमा रहेको संकेत गरेका छन् ।

‘सबै शर्त पुरा भएको अवस्थामा अबको निर्णय वार कि पारको हो । हामी पुर्ण रुपमा विश्वसनीय काम गरिरहेका छौं, एभरेष्टले आफ्नो विश्वसनीयता कसरी देखाउँछ ।’ लक्ष्मीका ती अधिकारीले भने ।

उता एभरेष्ट बैंक भने मर्जरका विषयमा कतै कोहीसँग पनि सम्पर्क गर्ने मूडमा देखिएको छैन । समाचार जगत मात्र नभई अरु सम्बद्ध निकायमा पनि एभरेष्टले मर्जरका सम्बन्धमा कुनै छलफल गर्न नचाहेको देखिन्छ ।

मर्जर पछि कर्मचारी खर्च, शाखा सञ्चालन खर्च लगायतमा फाइदा हुने अवस्थाका साथै शाखा सञ्जालबाट बढ्ने व्यवसायलाई हेर्दा पनि एभरेष्ट मर्जरमा सकरात्मक हुन नसकेको देखिएको हो ।

अब कुनै चमत्कार भएर एभरेष्ट मर्जरको विषयलाई तताउन थाले मात्र दुवै बैंकका सेयरधनी मर्जरको अन्तिम नतिजाको खबर सुन्न पाउने अवस्थामा हुनेछन् । अहिलेकै अवस्थामा भने नेपालमा सबैभन्दा ठूलो बैंकका रुपमा उल्लेखित दुर्इ बैंकको मर्जरले नयाँ संस्था बनाउने देखिँदैन ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।