आइतबार नेप्से ११.६९ अंकले बढेर १२५६.५३ अंकमा पुगेको छ । बजार खुलेदेखि नै निरन्तर बढेको नेप्से २५ अंक माथिसम्म पुगेको थियो । त्यसपछि केही करेक्सन भएर बजार बन्द हुने समयसम्म आइपुग्दा ११ अंक माथि पुगेको हो ।
आइतबार नेप्से दोहोरो अंकले बढ्दा सबै समुहका परिसूचक उकालो लागेका छन् । जसमा सबैभन्दा बढी जीवन बीमा समुहको परिसुचक ४८ अंकले बढेको छ । पछिल्लो समय लगातार उकालो लागेको बैंकिङ्ग समुहको परिसुचक आइतबार पनि १३ दशमलव ७१ अंकले बढ्न पुगेको छ । यसदिन वाणिज्य बैंक समूहको मात्रै झण्डै ६२ करोड बराबरको कारोबार भएको छ ।
निरन्तर बजार बढ्दै जादा लगानीकर्तामा मार्जिन कलको त्रास कम हुँदै गएको देखिन्छ भने बैंकहरुले शेयर कर्जाका आर्कषक विज्ञापनहरु गर्दे यस क्षेत्रमा कर्जा बढाउने संकेत गरेकाले पनि बैकिङ्ग समूहमा सुधार देखिएको छ ।
असोज लागेपछि बैंकको ब्याजदर घट्ने आशा पनि लगानीकर्तामा छ । बैंकरहरुले यसअघि नै असोज लागेपछि कर्जाको ब्याजदर घट्ने संकेत गरेका थिए ।
आइतबार लामो समययता कारोबार रकम बढेर ९१ करोड ५२ लाख रुपैयाँ पुगेको छ । दिनभर १६६ कम्पनीको ३० लाख ७० हजार कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा सबैभन्दा बढी एनएमबि बैंकको ७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भयो ।
कारोबार रकम र नेप्से सूचक दुबैमा लगातार सुधार भइरहँदा लगानीकर्ता थप उत्साहित देखिएका छन् । दैनिक औसत २० करोडमा खुम्चिएको कारोबार रकम झन्डै एक अर्ब नजिक पुगेको छ ।
यसले आगामी दिनमा लगानीकर्ता बजारप्रति थप आशावादी बनेको देखिन्छ । बजारले बुलिस ट्रेण्ड समात्दै गर्दा नयाँ र ठूला लगानीकर्ता बजार प्रवेश गरेको संकेत समेत देखिएको छ । लाभांशको सिजन सुरु भएकाले पनि नयाँ लगानीकर्ता बजार प्रवेश गर्नुका साथै संस्थागत र नियमित लगानीकर्ताले समेत लगानी बढाएको देखिन्छ ।
आइतबारको बजारमा भार्गव विकास बैंकका सेयरधनीले सबैभन्दा धेरै कमाए । यो कम्पनीको सेयर मूल्य ९.५२ प्रतिशतले बढेको छ । नेरुडे लघुवित्तको मूल्य ६.७२ प्रतिशतले बढ्यो भने मितेरी डेभलपमेन्ट बैंकको सेयर मूल्य ६.६४ प्रतिशतले वृद्धि भयो ।
३५ कम्पनीको शेयरमूल्य घटेको बजारमा एक्सेल डेभलपमेन्ट बैंक र तारागाउँ रिजेन्सी होटलको मूल्यमा सबैभन्दा धेरै गिरावट आयो । यी दुवै बैंकको सेयर मूल्य ४ प्रतिशतको हाराहारीमा घटेको छ ।