मोक ट्रेडिङ्ग गर्दा लगानीकर्ताले आफैले खरिद बिक्रि अर्डर दिन सक्नेछन् ।
मोक ट्रेडिङमा सहभागि हुन पहिले लगानीकर्ताले ब्रोकरबाट युजर नेम र पासवर्ड लिनु पर्नेछ । त्यसपछि अर्डर दिन र ट्रेड गर्न सकिन्छ । लगानीकर्ताले आफ्नो अर्डर सच्याउनुका साथै अर्डर र ट्रेड बुक हेर्न समेत पाउनेछन् ।
मंगलबारदेखि बिहान १० बजेदेखि साँझ ६ बजेसम्म मोक ट्रेडिङ गर्न पाउने नेप्सेले जनाएको छ । तर यसले वैधानिकता भने पाउने छैन । यो अनलाइन कारोबारको परीक्षणका लागि मात्र गरिएको कारोबार हो ।
परीक्षण अवधिमा अर्डर दिँदा कुनै समस्या देखिए त्यसको समाधान गर्ने र लाइभ कारोबारमा जानुअघि कुनै समस्या नआओस भनेर नेप्सेले मोक ट्रेडिङ्ग सुरु गरेको हो।
कसरी लिने युजर नेम र पासवर्ड ?
सबै भन्दा पहिले लगानीकर्ताले आफुले कारोबार गरिरहेको ब्रोकर कम्पनीमा आधिकारीक परिचय पत्र सहित उपस्थित भएर युजर नेम र पासवर्ड लागि सम्पर्क गर्नु पर्दछ । त्यसपछि लगानीकर्ताहरुको डाटा ब्रोकरले इन्ट्रि गर्दछ । ब्रोकरले दिएको युजर नेम र पासवर्ड स्वीकृत भएपछि नेप्सेले युनिक क्लाइन्ट कोड प्रदान गर्दछ । त्यो युनिक क्लाइट कोड फेरी ब्रोकर कम्पनिलाई दिनु पर्दछ ।
युजर नेम र पासवर्ड लिने लगानीकर्ताहरुले भने ब्रोकर कम्पनीको आईपि ठेगानावाट यस अघि शेयर दलालकोबाट पाएको क्लाइण्ट आईडिका आधारमा अनलाइनको युजर माग गर्न सकिन्छ । तर लगानीकर्ताको ब्रोकर कम्पनीमा केवाईसी तथा इमेल भने अद्यावधिक भएको हुनुपर्दछ ।
युजर नेम र पासवर्ड पाइसके पछि लगानीकर्ताहरुलाई क्लाइन्ट लगइनको सुविधा प्राप्त हुन्छ । क्लाइन्ट आइडि लगइन भएपछि लगानीकताहरु आफै मोक ट्रेडिङ्गमा सहभागि भएर अर्डर दिन र ट्रेड गर्न सकिन्छ ।
ब्रोकरको लागि डिएनए लगईन
ब्रोकर कम्पनीहरुले अर्डर म्यानेजमेन्ट गर्न डिएनए लगईन गर्नुपर्दछ । डिएनए लगइन गरे पछि मात्रै ब्रोकरको नेप्सेसंग एक्सेस हुन्छ । त्यस पछि लगानीकर्ताहरुको अर्डर म्यानेजमेन्ट गर्ने काम गर्दछ । यो लगईन गरेपछि ब्रोकरले आफ्नो क्लाइन्टको शेयर खरिद बिक्रि गर्न सकिनछ । यसमा लगानीकर्ताहरुको अर्डर इन्ट्रि, इडिट, क्यानसिल वा रिजेक्ट गर्न सकिने व्यवस्था छ ।