पछिल्लो पटक नेपाल बैंक, सिभिल बैंक, माछापुच्छ्रे बैंक, एनआइसी एशिया लगायतका केहि विकास बैंकहरुले समेत शेयर कर्जा योजना सार्वजनिक गरेका छन् ।
सरकारी बैंक नेपाल बैंकले पछिल्लो समयमा शेयर कर्जा विस्तारमा आक्रमक देखिएको छ । नेपाल बैंकले शेयर बजारका लगानीकर्ताहरुलाई १०.१३ प्रतिशतमा शेयर कर्जा उपलब्ध गराउने जनाएको छ ।
नेपाल स्टक एक्चेन्जमा सूचिकृत शेयर धितो राखेर बैंक तथा वित्तीय संस्थाहरुवाट कर्जा प्राप्त गर्न सकिने ब्यवस्था छ । राष्ट्र बैंकका अनुसार बैंकहरुले आफ्नो प्राथमिक पूँजीको २५ प्रतिशत शेयरधितोमा कर्जा उपलब्ध गराउन सक्छन् ।
सिभिल बैंकर्ले शेयर धितो, कर्जा छिर्टो’ । भन्ने नाराका साथ शेयर कर्जा योजना ल्याएको छ । एक वर्ष सम्मको लागि प्राप्त गर्न सकिने यस योजनाको कर्जा मासिक किस्ता बन्दीमा भुक्तान गर्न सकिने व्यवस्था छ । बैंकले ११ प्रतिशत ब्याजदरमा शेयर कर्जा उपलब्ध गराउने जनाएको छ । एनआईसी एशियाले न्युनतम २५ लाख देखि १० करोड रुपैयाँ सम्मको शेयर कर्जा दिन्छ । बैंकले कर्जा प्रकृया सुरु गरेको दुई दिन भित्रै प्रवाह गर्ने जनाएको छ ।
नबिल बैंकले पनि सजिलो कर्जा नै ‘नबिल शेयर कर्जा’ भनेर शेयर बजारका लगानीहरुका लागि ऋण दिने योजना ल्याएको छ । यस बैंकले अाधार ब्याजदरमा ५.५० देखि ७.५० प्रतिशत थप प्रिमियममा सेयर कर्जा उपलब्ध गराउँदै आएको छ । शेयरका लागि दुई करोड सम्मको कर्जा छिटो र सहज तरिकाले प्राप्त गर्न सकिन बैंकले जनाएको छ ।
राष्ट्रिय बाणिज्य बैंकले पनि नेप्सेमा सुचिकृत कम्पनीहरुको शेयर धितोमा कर्जा प्रवाह गर्ने जनाएको छ । कर्जा रकम शेयर बजार मूल्यको ५० प्रतिशतसम्म उपलब्ध गराउने बैंकले उल्लेख गरेको छ ।
यता सिटिजस् बैंकले भने शेयर मूल्यको ५० प्रतिशत सम्म मात्रै कर्जा दिने योजना सार्वजनिक गरेको छ । बैंकले आधार ब्याजदरमा १ देखि ४ प्रतिशत थप गरेर शेयर कर्जा उपलब्ध गराउने छ भने यो कर्जा एक वर्ष सम्मको लागि उपलब्ध हुनेछ ।
एभेष्ट बैंकले पनि बजारमा चलिरहेको शेयर मूल्यको ४० देखि ६० प्रतिशत सम्म कर्जा प्रवाह गर्ने जनाएको छ । बजारमा चलिरहेको ब्याजदरमा २ करोड रुपैयाँ सम्म कर्जा दिनेछ । नेपाल बंगलादेश बैंकले बेसरेट १०.५६ प्रतिशतमा १ देखि ५ प्रतिशत सम्म थप गरी शेयरमा कर्जा दिने उल्लेख गरेको छ ।
बिकास बैंकहरु पनि शेयर कर्जा विस्तारमा आक्रमक
विकास बैंकहरुले पनि शेयर कर्जाका योजनाहरु सार्वजनिक गरेका छन् । कैलाश विकास बैंकले ‘कैलाश शेयर लोन योजना’ ल्याएको छ । आवश्यक कागजात पेश गरेपछि सात दिन भित्रै कर्जा प्रवाह हुने बैंकले जनाएको छ । बैंकले १२ प्रतिशतमा सेयर कर्जा दिने गरी शेयर कर्जामा बजार मूल्यको ५० प्रतिशतसम्म एक वर्षका लागि ९० करोड रुपैयाँसम्म लगानी गर्नेछ ।
यस्तै मुक्तिनाथ विकास बैंकले शेयर कर्जा लिदाँ सेवा शुल्कमा विशेष छुट दिएको छ । आवश्यक कागजात पेश गरेको दुई दिनमै सर्वसुलभ दरमा शेयर कर्जा पाइने बैंकको भनाई छ । बैंकले न्यूनतम १२ प्रतिशत ब्याजदरमा शेयर कर्जा दिदै आएको छ ।
राष्ट्र बैंकले लागु गरेको मौद्रिक नीतिमा शेयर धितो कर्जा ५० प्रतिशत तोकिएको छ । शेयरको बजार मूल्य र १ सय ८० दिनको औषत मूल्य मध्ये जुन कम हुन्छ त्यसमा आधारित भएर बैंक तथा वित्तीय संस्थाले यस्तो कर्जा प्रवाह गर्नुपर्ने प्रावधान राखेको छ ।
आर्थिक वर्ष २०७५/७६ को मौद्रिक नीतिमा गरिएको व्यवस्था अनुसार बैंक तथा वित्तीय संस्थाहरुले शेयरको धितोमा प्रवाह गर्न मार्जिन प्रकृतिको कर्जा प्राथमिक पूँजीको २५ प्रतिशत सम्म प्रवाह गर्न पाउने व्यवस्था गरेको छ । यो व्यवस्था अनुसार पनि बैंकहरुले झण्डै एक खर्ब रुपैयाँसम्म मार्जिन कर्जा प्रवाह गर्ने क्षमता देखिन्छ ।