उक्त सम्मेलनमा बीमा क्षेत्रको नियामक निकायका प्रतिनिधि, विदेशी बीमा विज्ञ, बीमाक्षेत्रसँग सम्बन्धित सरोकारवालाहरु सहभागी हुनेछन् । सम्मेलनमा विदेशी मुलुकबाट करिब २ सय तथा स्वेदेशी गरी पाँच सय बढीको सहभागीता रहने बीमा समितिले जनाएको छ ।
सम्मेलन मार्फत पुनर्बीमा कम्पनीले आफ्नो व्यावसायिक दायरा बढाउन सक्नेछन् । सम्मेलनमा बीमाको वर्तमान समस्या र आगामी चुनौतीबारे पनि छलफल गरिनेछ भने विपद् जोखीम व्यवस्थापन सम्बन्धी विषयलाई सम्मेलनको मुख्य एजेण्डा बनाईएको छ ।
सम्मेलनमा प्राकृति विपत्तिको जोखिम न्युनीकरणमा रि-इन्स्योरेन्स कम्पनीको भूमिका, बीमा कम्पनीहरुको डिजिटलार्इजेशन, माईक्रो इन्स्योरेन्स लगायतका बिषयमा विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्नेछन् । सम्मेलनबाट प्राप्त सुझाव र निष्कर्षलाई बीमा क्षेत्रको नियमनका क्रममा उपयोग गर्ने बीमा समितिले जनाएको छ ।
नेपालमा १८ वर्षपछि दोस्रोपटक बीमा सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने लागेको हो । यसअघि सन् २००० मा पनि यस्तो सम्मेलन भएको थियो। एआईआरडीसीमा नेपाल सहित २९ वटा विकासोन्मुख राष्ट्रका जीवन तथा निर्जीवन बीमा कम्पनी र नियामक निकाय सदस्य रहेका छन् । एआईआरडीसीले प्रत्येक २ बर्षमा सम्मेलन गर्दै आएको छ ।
नेपालमा भूकम्प, बाढी पहिरोजस्ता प्राकृतिक विपद्ले बर्षेनी ठूलो मात्रामा जनधनको क्षति हुँदै आएको छ । २०७२ सालको भूकम्प र वर्षेनी आउने बाढी तथा पहिरोले आम जनता प्रभावित बनेका छन् भने राष्ट्रले पनि ठूलो दायित्व व्यहोर्दै आउनु परेको छ । नेपालमा यस्ता सम्पत्तिको बीमा हुन सकेको छैन ।
सम्मेलनमा हुने आर्थिक खर्चको व्यवस्थापन बीमा समिति र बीमक संघले गर्ने बताइएको छ । सम्मेलन काठमाडौंस्थित सोल्टी क्राउन प्लाजामा हुनेछ ।