सूचकको आधारमा हेर्दा गत जेठ २२ गते सूचक १२८२.७२ अंकमा रहेको थियो। २०७४ चैत १२ गते सेयर बजार न्यूनतम बिन्दु ११६८.६२ अंकसम्म ओर्लिएको थियो।
६ महिना पश्चात एक अर्ब बढीको कारोबार भएको हो । यसअघि गत बैशाखमा चार कारोबार दिन बैशाख ५, ६,९ र १० गते एक अर्ब बढीको सेयर खरिद बिक्री भएको थियो । गत भदौ ३१ गते ९१ करोड ५२ लाख ९२ हजारको कारोबार भएको थियो ।
मंगलबार काराेबारमा अाएका कूल १७३ कम्पनीको कारोबार भएकोमा ३५ कम्पनीको मात्र सेयरमुल्य घटेको छ भने १२० कम्पनीको सेयरमूल्य बढेको छ । १८ कम्पनीको सेयरमूल्य स्थिर रह्यो ।
मंगलबारको बजारमा भार्गव विकास बैंकका सेयरधनीले सबैभन्दा धेरै ९.८२ प्रतिशतले नाफा कमाएका छन् । वाणिज्य बैंकहरु सनराइज, प्रभु, शाइन रेसुङ्गा, एनसीसी, जनता, मेगा, नेपाल बंगलादेश बैंक, सिभिल र सेञ्चुरी कमर्सियल मंगलबारको बजारमा कमाउने शिर्ष दश कम्पनीभित्र परेका छन् । दशौं नम्बरमा परेको सिभिल बैंकको सेयरमूल्य ५.३२ प्रतिशतले बढेको छ ।
उता गोर्खाज फाइनान्सका सेयरधनीले यसदिन सबैभन्दा धेरै ४.५४ प्रतिशतले गुमाएका छन् । सिनर्जी पावर, सिभिल लघुवित्त र अपि पावर कम्पनीका सेयरधनीले तीन प्रतिशत बढीले गुमाएका छन् ।
सिटिजन्स् म्युचुअल फण्ड १, रैराङ्ग हाइड्रोपावर, दिब्येश्वरी हाइड्रोपावर, अरुण काबेली पावर, कर्पोरेट डेभलपमेन्ट बैंक, र मिर्मिरे लघुवित्त कम्पनी मंगलबारको बजारमा शिर्ष गुमाउने दश कम्पनीभित्र परेका छन् ।
मंगलबार भएको कूल कारोबार रकम एक अर्ब १२ करोड १२ लाख ७७ हजारमध्ये वाणिज्य बैंकको हिस्सा ६९.३८ प्रतिशत (७७ करोड ८० लाख) रहेको छ ।
मंगलबार शिर्ष कारोबार गर्ने दश कम्पनी सबै वाणिज्य बैंक रहेका छन् । प्रभु बैंकको सबैभन्दा धेरै आठ करोड ५६ लाखको कारोबार भएको छ भने दशौं कम्पनी एनसीसी बैंकको तीन करोड ५६ लाख रुपैयाँ बराबरको कारोबार भयो ।
त्यसैगरि क्रमश एनआईसी एशिया, नेपाल इन्भेष्टमेन्ट, जनता, नेपाल, एनएमबि, सानिमा, कुमारी र प्राइम कमर्सियल बैंकको कारोबार उच्च भएको छ ।
पछिल्लो कारोबार दिनमा बैंकिङ्गमा भएको कारोबार रकमले लगानीकर्ता यसै समूहमा लगानी बढाउन थालेको स्पष्टै देखिन्छ । बैंकिङ्ग उप समूह सर्वाधिक २.६७ प्रतिशतले बढेकोसँगै समग्र नेप्से परिसूचक २२.३७ अंक अर्थात १.७८ प्रतिशतले बढेर १२८०.०५ बिन्दुमा पुगेको छ ।
नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत कम्पनीहरुमध्ये असोज ९ गते मंगलबारसम्म ४२ वटा कम्पनीले गत आर्थिक बर्षको लाभांश घोषणा गरिसकेका छन् । असोज महिनाको पहिलो साता बितिसक्दा पनि कुनैपनि वाणिज्य बैंकले लाभांश प्रस्ताव गरेको छैनन्। बैंकले गरेको नाफाको आधारमा आकर्षक प्रतिफल वितरण गर्ने र सेयरमूल्य सस्तो लाभांश घोषणा गरेका कम्पनीमा भन्दा वाणिज्य बैंकमा लगानी बढाउन थालेका हुन् ।
१५ खर्ब २४ अर्ब कूल बजार पूँजीकरण रहेको मंगलबबारको बजारमा वाणिज्य बैंकको बजार पूँजीकरण करिब ५५ प्रतिशत हाराहारीमा रहेको छ । धेरै पूँजीकरण हुने समूहमा बढोत्तरी आउँदा बजार वृद्दिमा टेवा पुगेको हो । नेप्सेले वृद्धिमा बैंकिङ्गमा भएको उच्च कारोबार नै प्रमुख कारण हो ।
बैंक व्याजदर सस्तो हुँदा जानु र बैंकहरुले सेयर कर्जाका अफर ल्याउन थालेपछि र शेयर बजार घट्दा बाहिरिएका ठूला लगानीकर्ता बजार प्रवेशले समेत कारोबार रकममा सुधार देखिएको हो। लगानीका लागि अन्य कम्पनीहरुको तुलनामा वाणिज्य बैंकलाई भरोसायोग्य मानिन्छ ।