कालीगण्डकी जलविद्युत केन्द्रको मर्मत सुरु, कात्तिक १२ भित्रमा सक्ने लक्ष्य

Sep 26, 2018 Merolagani

नेपाल विद्युत प्राधिकरणको स्वामित्वको १४४ मेगावाटको कालीगण्डकी ए जलविद्युत केन्द्रको विद्युत गृहमा रहेको इन्लेट भल्ब तथा युनिट २ को बृहत मर्मत सुरु भएको छ ।

आयोजना निर्माणका वेला डिजाइन त्रुटीका कारण भल्बमा समस्या देखिएपछि प्राधिकरणले आइतबारबाट विद्युत गृह पूर्ण रुपमा बन्द गरी मर्मत सुरु गरेको हो । भल्बबाट पानी चुहिने लगायतक समस्याबाट विद्युत गृहमा आउनसक्ने सम्भावित दुर्घटना टार्न र ठूलो विद्युत गृह हिउँदमा बन्द गर्नु पर्ने अवस्था आउन नदिन अहिले नै मर्मत सुरु गरिएको प्राधिकरणले जनाएको छ ।

डिजाइनमा त्रुटी देखिएपछि सामान निर्माता तथा आपूर्तिकर्ता जापानिज कम्पनी तोसिवाले मर्मत निःशुल्क गर्ने प्रतिबद्धता जनाएको थियो । कम्पनीले निःशुल्क मर्मतका लागि दिएको अन्तिम पटकको म्याद १४ असोजमा सकिंदैछ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र संचालकहरु उमेशप्रसाद थानी, चन्द्र टण्डन, चेतराज जोशी तथा भक्तबहादुर पुनले विद्युत गृहको स्थलगत निरीक्षण गरी तोकिएको समयभन्दा अघि नै मर्मत सक्न निर्देशन दिएका छन् । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले सञ्चालनमा रहेको ठूलो विद्युत गृहको काम छिट्टो सक्ने निर्देशन दिएपछि प्राधिकरणको उच्चस्तरिय टोली कालीगण्डकी विद्युत गृहमा भइरहेको कामको निरीक्षणमा गएको थियो ।

‘विद्युत गृह बन्द हुँदा अहिले दैनिक रुपमा करिब साढे तीन अर्ब आम्दानी गुमाइरहेका छौं, एक दिन अगाडि काम सकियो भने त्यो आम्दानी नगुम्ने भएकाले सोही अनुसार काम गर्नुहोस्,’ घिसिङले केन्द्र प्रमुख लगायत मर्मतमा संलग्न प्राविधिकलाई निर्देशन दिंदै भने ।

मर्मतमा तोसिवाका र प्राधिकरणका प्राविधिकहरु खटिएका छन् । केन्द्र प्रमुख राजेशकुमार पाण्डयले तोकिएको समयभन्दा एक दिन भएपनि अगाडि सक्ने गरी काम भइरहेको जानकारी दिए ।

सोमबारबाट सुरु भएको मर्मत १२ कात्तिकभित्रमा सक्ने लक्ष्य राखिएको छ । केन्द्रमा ४८/४८ मेगावाटका तीन युनिट छन् । समस्यामा देखिएको भल्ब खोल्नका लागि बिहीबारसम्म केन्द्रबाट विद्युत उत्पादन बन्द हुने छ । त्यसपछि २५ दिनसम्म मर्मत गर्ने एक युनिट ४८ मेगावाट मात्रै बन्द रहने छ । युनिट २को मर्मत सकिएपछि तीनवटै युनिट चलाउनका लागि सात दिन विद्युत उत्पादन पूर्ण रुपमा बन्द रहने प्राधिकरणले जनाएको छ ।

निर्माणका वेला भएको डिजाइन त्रुटीका कारण मर्मतका लागि ६ किलोमिटर सुरुङको पानी सुकाउनु बाध्यता छ । यसले पानी हटाउन र काम सकिएपछि सुरुङमा पानी भर्न समय लाग्दा मर्मतमा बढी समय लागेको हो ।

दशैमा उद्योग कलकारखाना बन्द हुँदा विद्युतको माग काम हुने र अन्य विद्युत गृह पनि पूर्ण क्षमतामा चलाउन सकिने भएकाले अहिले मर्मतका लागि उपयुक्त समय भएको घिसिङले बताए । ‘हिउँदामा विद्युतको माग बढी हुन्थ्य, कालीगण्डकीबाट विद्युत आपूर्ति हुने नारायणघाट पश्चिम र पोखरा क्षेत्रमा १५ घण्टाभन्दा बढी लोडसेडिङ गर्नु पर्ने अवस्था आउनसक्थ्यो,’ उनले भने ।

कालीगण्डकी अर्धजलाशययुक्त आयोजना भएकाले हिउँदमा बढी विद्युत माग हुने पिक समयमा पूर्ण क्षमतामा चलाउन सकिन्छ ।

 

 

comments powered by Disqus

चौतारी लघुवित्तको आईपिओ नतिजा मेराेलगानीमा

Dec 14, 2018

चौतारी लघुवित्त (CHAUTARI) को आईपिओ आज शुक्रबार बाँडफाँड भएको छ। लघुवित्तको शेयर कूल आवेदक मध्ये ५६ हजार ७० आवेदकले मात्रै  गाेला प्रथाबाट शेयर पाएका छन् भने २ लाख १७ हजार १२२ जनाकाे हात खाली भएकाे छ ।