शेयर निष्काशनसम्बन्धी सम्झौतापत्रमा कम्पनीका प्रबन्ध सञ्चालक मोहनकुमार डाँगी र एनआइबिएल एस क्यापिटलका तर्फबाट महाप्रबन्धक मेखबहादुर थापाले आज हस्ताक्षर गरे ।
कम्पनीले जारी पूँजीमध्ये १० प्रतिशत अर्थात् ४ करोड रुपैयाँ बराबरको चार लाख कित्ता शेयर आयोजना प्रभावित क्षेत्र तेह्रथुम जिल्लाका स्थानीयवासीलाई बिक्री गर्ने भएको छ । यस्तै सर्वसाधारणलाई २० प्रतिशत अर्थात् ८ करोड रुपैयाँ बरारबरको आठ लाख कित्ता शेयर बिक्री गर्ने कम्पनीले जनाएको छ ।
हाल उक्त कम्पनीको अधिकृत पूँजी ४० करोड, जारी पूँजी ४० करोड र चुक्ता पूँजी २८ करोड रहेको छ । स्थानीय बासिन्दा र सर्वसाधारणमा शेयर बिक्री तथा बाँडफाँटपछि कम्पनीको चुक्ता पूँजी ४० करोड पुग्ने कम्पनीका प्रबन्ध सञ्चालक डाँगीले जानकारी दिए ।
तेह्रथुम पावर कम्पनी लिमिटेडले तेह्रथुम जिल्लाको साविक मोराहाङ, श्रीजुङ, पौठाक र ओयाक्जुङ गाविस हाल मेन्छेयायेम गाउँपालिकामा ७।५ मेगावाट क्षमताको माथिल्लो खोरुङगा खोला साना जलविद्युत् आयोजनाको निर्माण गरिरहेको छ । हालसम्म सो आयोजनाको भौतिक प्रगति करीब ६० प्रतिशत पुगेको छ ।
नेपाल विद्युत् प्राधिकरणसँग विसं २०७३ कात्तिकमा विद्युत् खरिद सम्झौता गरेको आयोजनाले २०७६ पुस १ गतेदेखि व्यावसायिक उत्पादन गर्नुपर्नेछ । तर कम्पनीले छ महिनाअगावै अर्थात् आगामी असार मसान्तसम्म विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ । आयोजनामा माछापुछ्रे बैंकको अगुवाइमा नेपाल बङ्गलादेश बैंक, जनता बैंकले क्रमशः रु ४० करोड, ३० र ३० करोड लगानी रहेको छ ।